पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको संसदीय समिति नै अलमलमा

पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समिति नै अलमलमा परेको छ । अर्थ मन्त्रालयले डिलिट भयो भने पनि समितिले नेपाल प्रहरीको फरेन्सिक ल्याबमार्फत हार्डडिस्क रिकभर गरेर सीसीटीभी फुटेज निकालेको छ ।

तर फुटेजमा भएका दृष्यलाई लिएर समिति नै अलमलमा परेको हो । फुटेजमा भएका दृष्य अस्पष्ट भएको समितिका एक सदस्यले जानकारी दिएका छन् । फरेन्सिक ल्याबबाट प्राप्त फुटेजलाई अविश्वास गर्न पनि नसकिएको र विश्वास गर्दा पनि स्पष्ट दृष्य नपाएकोले दोधारमा परिएको ती सदस्यले जनाएका छन् ।

आज बिहानको बैठकमा सीसीटीभी फुटेज हेरेर प्रारम्भिक अध्ययन भएकोमा बेलुका फरेन्सिक ल्याबकै विज्ञसँग समितिले छलफल गरेको थियो । बैठकपछि समितिका सचिव सुरेन्द्र अर्यालले आज विषय टुङ्गो नलगेकाले भोलि पनि फुटेजको विषयमा पुनः छलफल र अनुसन्धान हुने बताउनुभयो ।

सीसीटीभी फुटेजमा के देखियो भनेर अहिले भन्न नमिल्ने र यो विषय प्रतिवेदनमै आउने अर्यालले बताउनुभयो । बजेट निर्माणमा करको दर हेरफेर गर्न अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन ।

चालु आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप तत्कालीन मन्त्री जनार्दन शर्मामाथि लागेको छ ।

यो आरोपबारे छानबिन गर्न सभामुख अग्नि सापकोटाले गएको असार २२ गते ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गर्नुभएको थियो । समिति गठन भएलगत्तै अर्थमन्त्रीबाट शर्माले राजीनामा दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित