ताल बाराही मन्दिर तीन ईञ्च दक्षिण ढल्कियो

फेवातालको बीचमा रहेको तालवाराही मन्दिर तीनईञ्च दक्षिणतर्फ ढल्किएको छ। भुकम्पका कारण ढल्किएको आँपको रुख निकाल्दा पछि मन्दिर केही ढल्किएको जस्तो देखेपछि पुरातत्वविद्हरुलाई ल्याएर देखाउँदा मन्दिर तीन ईञ्च ढल्किएको पुष्टि भएको हो ।

भुईंतला सहित तीनतले मन्दिर ढल्केपछि पूर्ननिर्माण गर्नुपर्ने अवस्था आएको छ। जसका कारण मन्दिरमा दर्शन गर्न पुग्ने दर्शनार्थी समेत जोखिममा परेका छन्। कुँवरका अनुसार २०७२ सालको भूूकम्पले मन्दिरका अधिकांश भाग चर्काएको थियो।

सोही भूकम्पका कारण मन्दिरको दक्षिणतर्फ रहेको आँपको रुख पनि ढल्किएको थियो। रुख ढल्किदाँ त्यसको जरा उखेलिएका कारण पछि त्यो रुख सुकेर म¥यो। रुख सुकेपछि त्यसलाई निकालिएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले बताए ।

मन्दिर ढल्किनुको कारण ठ्याक्कै भन्न नसकिने अध्यक्ष कुँवरले बताए। ‘भूकम्पका कारण मन्दिर जिर्ण बन्नु, मुसाले मन्दिरको तलसम्मै प्वाल बनाउनु, रुखको जरा मन्दिर भित्रसम्म पनि पस्नु जस्ता कारणले मन्दिर ढल्किएको हुनसक्छ,’ उनले भने ।

मन्दिर ढल्किए पनि दैनिक पूजाआजा चलिरहेको छ। तर कतिबेला मन्दिर भत्किएर किच्ने हो कि भन्ने चिन्ता पूजारी र गुठी व्यवस्थापन समितिलाई छ। ‘पुर्ननिर्माणबारे निर्णय नगर्दा हामीलाई न पूजा गर्न दिनु, न पूजा रोक्नु भएको छ,’ अध्यक्ष कुँवरले भने, ‘पूजा गर्दा जोखिम छ, नगर्दा दर्शनार्थी निराश हुन्छन्।’

मन्दिर पुर्ननिर्माणका लागि करिब एककरोड लाग्ने अनुमान गरिएको अध्यक्ष कुँवरले बताए। भुईंतलासहित तीनतले मन्दिरको दोश्रो तलामा मात्रै २० वटा टुँडाल छन्। ती मध्ये केही काम लाग्ने छन् भने कतिपय जिर्ण बनेका छन्। पुर्ननिर्माण गर्दा मन्दिरको डिजाईन परिवर्तन गर्न नपाईने भन्दै उनले भने, ‘मन्दिरको डिजाईन त्यहि राखेर मन्दिर चारफिट उत्तरतर्फ सारेर बनाउँदा राम्रो हुन्छ।’

त्यसो गरेमा पूर्वबाट पसेर दक्षिण ढोकाबाट निस्केर मन्दिर परिक्रमा गर्न सजिलो हुने उनको भनाई छ। अहिले तालसँगै जोडेर निर्माण गरिएकाले मन्दिर परिक्रमा गर्न कठिनाई भएको उनले बताए।

तालवाराही मन्दिर तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले विस २०१७ सालमा निर्माण गराएका थिए। तत्कालीन समयमा खरको झुपडी बनाएर शुरु गरिएको सो मन्दिर पछि एकलाख २० हजार रुपैयाँ खर्च गरेर पुर्ननिर्माण गरी कलात्मक काठ, टुँडाल र माटोको प्रयोग गरेर बनाइएको छ। सिमेन्टको जस्तै काम गर्ने माटोको प्रयोग गरिएकाले मन्दिर बलियो रहेकाले अहिलेसम्म धानिएको अध्यक्ष कुँवरले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित