अमेरिकाबाट प्रकाशित हुने चर्चित पत्रिका ‘द वाल स्ट्रिट जर्नल’ले केही दिनअघि एलोन मस्क र सर्गेई ब्रिनकी पत्नी निकोल शानाहानबीच अफेयर रहेको लेख्यो । यही अफेयरको कारण ब्रिनले शानाहानसँग सम्बन्ध विच्छेदका लागि निवेदन दिएको र मस्कसँगको आफ्नो पुरानो मित्रता पनि तोडेको जर्नलले समाचारमा लेखेको छ ।
आखिर को हुन् निकोला शानाहान जसलाई दुई अर्बपतिबीचको विवादको केन्द्रमा रहेको बताइँदैछ ? टेस्लाका मालिक एलोन मस्क २४० अर्ब डलरको सम्पत्तिसहित विश्वकै धनी व्यक्ति हुन् भने गुगलका सह–संस्थापक सर्गेई ब्रिन ९५ अर्ब डलरको सम्पत्तिसहित विश्वका आठौँ धनी व्यक्ति हुन् ।
निकोल शानाहानको जन्म सन् १९८९ मा क्यालिफोर्नियाको ओकल्याण्डमा भएको थियो । उनको जन्म हुनुभन्दा दुई वर्षअघि मात्रै उनका अभिभावक चीनबाट अमेरिका आएका थिए । निकोल नौ वर्षकी हुँदा उनको पितालाई बाइपोलार सिजोफ्रेनिया भनिने मस्तिष्कसम्बन्धि रोक लाग्यो ।
त्यसपछि सम्पूर्ण परिवारको उत्तरदायित्व आमाको काँधमा आयो । घर खर्चको लागि आमा अरूको घरको सरसफाइको काम गर्थिन् तर उनको कमाइले मात्र घर खर्च पुग्दैनथ्यो, त्यसैले उनीहरू सरकारले गरिब परिवारलाई दिने सहयोगमा पनि निर्भर थिए ।
शानाहानको लिंक्डइन प्रोफाइलले उनले पुगेट साउन्ड विश्वविद्यालयबाट स्नातक गरेकी उल्लेख गरेको छ । त्यहाँ उनले अर्थशास्त्र, एसियाली अध्ययन र मन्डारिन चाइनिज पढिन् । त्यसपछि उनले सान्ता क्लारा विश्वविद्यालयबाट कानुनको डिग्री हासिल गरिन् ।
शानाहानको पहिलो नोकरी आरपीएक्स कर्पोरेशनमा पेटेन्ट विशेषज्ञको रूपमा थियो । त्यहाँ उनी यौन शोषणमा परेपछि १० महिनामै जागिर छोड्नुपरेको थियो । त्यसपछि उनी डिप्रेसनमा परिन्, जसका कारण केही समय केही नगरी बसिन् ।
डिप्रेसनको उपचारपछि स्थिति सामान्य बन्दै गयो र त्यसपछि उनले पेटेन्टहरू ह्यान्डल गर्नको लागि क्लियर एक्सेसआईपी नामक सफ्टवेयर व्यवसाय सुरु गरिन्, जुन व्यवसाय निक्कै सफल भयो ।
पछि उनले आफ्नो कमाइबाट १० करोड डलर ३५ वर्षभन्दा माथिका उमेरकी महिलाहरूलाई आमा बन्न सहयोग गर्न दान गरिन् । निकोल शानाहान र गुगलका सह–संस्थापक सर्गेई ब्रिनबीच सन् २०१५ मा योग रिट्रीटको क्रममा भेट भएको थियो । त्यतिबेला शानाहानले एक वित्तिय कार्यकारीसँग विवाहित थिइन् भने ब्रिनको सम्बन्धविच्छेद भएको थियो ।
करिब ३ वर्ष डेटिङ गरेपछि ब्रिन र शानाहानले ७ नोभेम्बर २०१८ मा विवाह गरेका थिए । त्यही वर्ष उनीहरूले छोरीलाई जन्म दिए । सन् २०१९ मा ‘पेज सिक्स’ लाई दिएको एक अन्तर्वार्तामा शानाहानले बच्चाको लागि प्रजनन क्लिनिकमा दर्जनौँ भ्रमण गरेको बताएकी थिइन् ।
विवाहको चार वर्षमै ब्रिनले सन् २०२२ को जनवरीमा शानाहानसँग सम्बन्धविच्छेद माग गर्दै आवेदन दिए । दुई बीचको सम्बन्ध विच्छेदको प्रक्रिया अझै चलिरहेको छ ।
डेली मेलको रिपोर्ट अनुसार, एलोन मस्क र शानाहान डिसेम्बर २०२१ मा मियामीमा एक आर्ट इभेन्टमा नजिक भएका थिए र लगतै उनीहरूको अफेयर सुरु भएको थियो । तथापि सम्बन्ध निकै छोटो समयको रहेको बताइन्छ ।
यही सम्बन्धबारे थाहा पाएपछि, ब्रिनले सम्बन्ध विच्छेदको लागि निवेदन दिएको बताइन्छ । आफूहरूको सम्बन्ध ब्रिनले थाहा पाएको र त्यसको कारण ब्रिनले सम्बन्धविच्छेद दिन थालेको थाहा पाएपछि मस्कले ब्रिनसँग घुँडा टेकेर माफी मागेको मिडियाहरूले तिनको स्रोतलाई उद्धृत गर्दै लेखेका छन् ।
ब्रिनले मस्कको माफी स्वीकार गरे, तर श्रीमतीसँगको सम्बन्ध विच्छेदको निर्णयमा अडिग रहे । तर, मस्कले यी सबै आरोप निराधार बताएका छन् । मस्कले वाल स्ट्रिट जर्नलले समाचार खुलासा गरेसँगै विभिन्न ट्वीट गर्दै लेखेका छन्– ‘यी सबै निराधार आरोप हुन् । सर्गेई र म साथी हौँ । हिजो राती हामी सँगै पार्टीमा थियौँ । पछिल्ला तीन वर्षमा मैले निकोललाई दुई पटक मात्र देखेको छु, दुवै पटक हाम्रो वरिपरि धेरै मानिसहरू थिए, त्यस्तोमा रोमान्टिक हुने कुरै भएन ।’





















Discussion about this post