बुबालाई बचाउन जसले आफ्नो कलेजो दिए…

बागलुङ। आफ्नो छोराछोरी र बाबाआमा कसलाई प्यारो लाग्दैन र ? रत भन्ने गरिन्छ, ‘मेरो मुटुको टुकुरा। मेरो कलेजोको टुकुरा।’ बाबाआमाले छोराछोरीलाई आफ्नो प्राणभन्दा प्यारो मान्छन्। तर छोराछोरीले आमाबाबा प्रति गर्ने माया ममता भने पछिल्लो समय कम हुँदै गएको हो कि भन्ने भान हुन थालेको पाइन्छ।

बाबाआमालाई वृद्धआश्रममा लगेर राख्ने प्रचलन पनि बढेको छ। यसले छोराछोरी बाबाआमा प्रति उत्तरदायी छैनन् भन्ने बुझाउँछ। तर बागलुङका एक युवाले बाबाका लागि आफ्नै ज्यानै दिन तयार भए। बागलुङ नगरपालिका- २ का ४३ वर्षीय निलेश राजभण्डारीले आफ्नो बाबालाई कलेजो दिएर बचाएका छन्।

गत माघमा निलेशका बुबा अशोक गोविन्द राजभण्डारी अचानक बिरामी भए। निलेशले बाबालाई तुरुन्तै पोखरा स्थित एक अस्पताल पुर्‍याए। उनलाई लागेको थियो, लामो समयदेखि औषधी सेवन गर्दै आएका बाबालाई सामान्य समस्या भएको होला।

तर, उनलाई सामान्य रोग लागेको थिएन। अस्पतालमा पुर्‍याएर स्वास्थ्य परीक्षण गराउँदा राजभण्डारीलाई जटिल प्रकारको रोग लागेको पुष्टि भयो। डाक्टरले बाबाको कलेजोमा जटिल समस्या आएको सुनाएपछि निलेश छाँगाबाट खसे जस्तो भए।

अस्पतालमा पुग्दा उनको पेटमा पानी जमेको थियो। निलेशले काठमाण्डौको ग्राण्डी हस्पिटलमा पुर्‍याए, त्यहाँ पनि कलेजो मै समस्या भएको र काम गर्ने स्थितिमा नरहेको डाक्टरले जानकारी दिए। डाक्टरको सुझव अनुसार कलेजो प्रत्यारोपण गर्नुपर्ने सल्लाह भयो।

कलेजो प्रत्यारोपण हुने निलेशमा आशा भने थियो। निलेशले अन्य अस्पतालका विषेशज्ञ चिकित्सकसँग सल्लाह पनि लिए। बाबाका लागि कलेजो प्रत्यारोपण त गर्ने तर कसको मिल्छ आफ्ना आफन्तको मिल्ने हो कि हैन निलेशलाई चिन्ताले सतायो ।

उनले आफ्नै कलेजो बाबालाई दिने निधो गरेर डाक्टरसँग परामर्श लिए र लागि परीक्षण पनि गराए। आफ्नो कलेजो बाबा लागि प्रत्यारोपण गर्न मिल्ने भएपछि निलेशलाई केही राहत भने मिल्यो। अन्ततः उनले बाबालाई कलेजो दिएर बचाएरै छोडे।

गत साउन ४ गते सफल सल्यक्रिया मार्फत निलेशले आफ्नो बाबुलाई कलेजो प्रत्यारोपण गराए। भारतको नयाँदिल्ली स्थित म्याक्स हस्पिटलमा निलेशको कलेजो बाबुलाई प्रत्यारोपण गराएका हुन्। अहिले निलेश र बाबु अशोक दुवैको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ। आफुले कलेजो काटेर बाबुलाई प्रत्यारोपण गरे पनि स्वास्थ्यमा खासै असर नपर्ने उनी बताउँछन्।

कलेजो पलाउन धेरै समय नलाग्ने भएका कारण छिट्टै पुरानै स्थितिमा आउने निलेशको भनाइ छ। भारत जानु पूर्व निलेशले नेपालमै कलेजो प्रत्यारोण गराउनका लागि भक्तपुरको मानवअंग प्रत्यारोपण, चितवन मेडिकल कलेज लगायतका अस्पतालमा पुगेका थिए।

अन्तिममा चिकित्सक र आफन्तको सुझाव अनुसार बाबाको कलेजो प्रत्यारोपणका लागि भारतको नयाँदिल्ली गएका हुन्। ‘बुबाको नेपालमै उपचार गर्ने योजना थियो, कलेजो प्रत्यारोपणका लागि विभिन्न अस्पताल पनि पुगेँ, तर डाक्टर र आफन्तले भारतमा राम्रो हुन्छ, भारतमै जानु पर्छ भन्ने सुझव दिएपछि यहाँ आएका हौँ।’

निलेशले भने ‘वैशाखको अन्तिम हप्ता भारतको नयाँदिल्लीमा रहेको म्याक्स हस्पिटलमा आएका हौँ, यहाँ आएपछि बाबुको उपचारको काम अगाडी बढाईयो, बाबालाई मेरो कलेजो दिने पनि पक्कापक्की भयो र चेकजाँच गरेरै सबै रिपोर्ट पनि राम्रो आयो, सोहीअनुसार कलेजो प्रत्यारोपण गरियो।’

कलेजो प्रत्यारोपणका लागि भारतमा भन्दा नेपालमै सस्तो पर्ने निलेश बताउँछन। हालसम्म झण्डै ५० लाख रुपैयाँ खर्च भइसकेको उनको भनाइ छ। ‘पैसाभन्दा पनि जीवन ठूलो रैछ, बाबाको सफल उपचार भयो, यसैमा खुसी छु म’, निलेशले भने, ‘हामी नेपालमा नै प्रत्यारोपण गर्ने भनेका थियौँ, नेपालमा भर्खर मात्र सुरु भएको हुँदा सबैको सल्लाहबमोजिम भारत आइयो।’

उनी बाबालाई नयाँ जीवन दिएकोमा खुसी व्यक्त गर्छन्। ‘मैले मेरो बाबुलाई नयाँ जीवन दिन पाएँ, यो मेरा लागि एकदमै राम्रो मौका हो, म जस्तो भाग्यमानी छोरा त को होला र?’, उनले भने। उनले अझै १० दिन भारतमै बस्ने र डाक्टरको सल्लाह अनुसार नेपाल फर्किने बताए। आफूले औषधि पनि खान नपर्ने र शरीर कमजोर नहुने डाक्टरले सुझाएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित