बाँदरले मकै सखाप पारेपछि गुल्मीका किसान मारमा

बाँदर आतंकले गुल्मीका किसान मारमा परेका छन्। जिल्लाका अधिकांश स्थानीय तहमा बाँदरका कारण किसानले हैरानी खेपेका छन्। रेसुंगा नगरपालिका ९ उपल्लो तम्घासकी सीता मरासिनीले बिहानदेखि बेलुकीसम्म बारीमै भएपनि मकै जोगाउन मुस्किल परेको गुनासो गरिन्। ‘दुःख गरेर लगाएको बाली घरमा ल्याउन नपाइने चिन्ताले सताएको छ’, उनले भनिन्।

धुर्कोट गाउँपालिका –४ जैसिथोकका बीरबहादुर नेपालीले बिहानदेखि बेलुकीसम्म बारीमै बस्दा पनि बाँदरले झुक्याएर मकै खाइदिने गरेको गुनासो गरे। ‘अरु समयमा भन्दा मकै हुर्कने र भाँच्ने समयमा बाँदर बढी लाग्छ’, उनले भने, ‘जोगाउनै गाह्रो छ।’

सत्यवती–२ को चेहमी, पाहादी, सत्यवती –१ को अश्लेवा, चौर लगायतका ठाउँमा पनि बाँदरले दुःख दिएको छ। पहिले नदेखिने थुम्का, अश्लेवा लगायतका ठाउँमा पनि अहिले बाँदर पुगेको छ।

सत्यवती गाउँपालिकाका शेरबहादुर कुँवरले बाँदर नियन्त्रणका लागि गत वर्ष प्रयोग गरिएको प्लास्टिकको पाइपले पनि टेर्न छाडेको बताए। बाँदरकै कारणले सत्यवतीको चेहमीमा १५ रोपनी जग्गा समेत बाँझिएको उनको भनाइ छ।

बाँदर धपाउन बजेट- रेसुंगा नगरपालिका ९ ले बाँदर लखेट्नका लागि एक लाख बजेट छुट्याएको छ। सो बजेटबाट अहिले दुईजनालाई बाँदर हेरालुको रूपमा राखिएको वडा अध्यक्ष कृष्णप्रसाद पाण्डेले जानकारी दिए।

वडाका कृषकहरुले ‘बाली संरक्षण समिति’ नै गठन गरेर स्थानीय दुई युवालाई बाँदर लखेट्न र सूचना प्रदान गन राखिएको वडा कार्यालयले जनाएको छ। वडाले राखेका दुई युवाले बाँदर आएको स्थान र संख्याबारे समितिलाई जानकारी दिने र समितिले स्थानीय कृषकलाई खबर गरी बाँदर लखेट्ने समितिका सचिव चेतनारायण पन्थीले जानकारी दिए।

पन्थीले वडा नम्बर ९ को उपल्लो तम्घास, देउराली, चारिखोला र विद्युतलाईनमा बसेर हेरालुले सूचना प्रवाह गर्ने बताए। यस्तै जिल्ला समन्वयको जिल्ला सभामा पनि स्थानीय सरकारका प्रमुखहरूले गाउँमा बाँदर आंतक बढेकाले यसको नियन्त्रण गर्नका लागि साझा धारण बनाउनुपर्नेमा जोड दिएका थिए । रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जंगली जनावरलाई नियन्त्रण गर्न नसके किसान समस्यामा पर्ने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित