स्वर्गजस्तै सुन्दर बडिमालिका

बादलभन्दा पनि माथि झन्डै साढे ४ हजार मिटरको उचाइ। साउने गर्मीमा पनि मुटु काँप्ने चिसो हावा, आङ जिरिङ हुने अग्ला चुचुरा । हेर्दै मन डराउने अग्ला डाँडा अनि शृंखलाबद्ध पहाडहरू कसरी छिचोल्ने होला ? कसरी पुग्ने होला बडिमालिका ? तर भोक तिर्खा, थकान, पीडा, जाडो सबै गौण हुन्छन्, बडिमालिकाको पदयात्रामा।

पाटनै पाटनले भरिएको सुन्दर स्थान। जता गए पनि पल्टेर बसिरहौं झैं लाग्ने। हरिया र फूलैफूलले ढकमक्क चउरहरू। सायद कसैले लहरै लगाएर रोपेका फूलका थुंगाहरू झैं लाग्ने। हरिया डाँडाकाँडा, फराकिला गल्फ मैदान झैं बनेका प्राकृतिक चौर, त्यसैमा सिमसिम पानीसँगको पदयात्रा। यसको आनन्द नै स्वर्गको भन्दा बढी छ। यो हो बाजुरा जिल्लामा पर्ने बडिमालिका शक्तिपीठ।

बडिमालिका शक्तिपीठमा श्रावण शुक्ल त्रयोदशी र चतुदर्शीमा मेला लाग्ने गर्छ। सात बहिनी भगवतीमध्ये बडिमालिका सबैभन्दा कान्छी तर शक्तिशाली मानिन्छिन्। सुदूरपश्चिममा सात बहिनी भगवतीका शक्तिपीठ छन्।

बैतडीको त्रिपुरासुन्दरी, मेलौली र निङ्लाशैली, डँडेलधुराको उग्रतारा, डोटीको शैलेश्वरी, बझाङको शुर्मादेवी र बाजुराको बडिमालिका गरी भगवतीका ७ बहिनी रहेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।

सातवटै भगवतीका शक्तिपीठमा फरकफरक पर्वमा मेला लाग्ने गर्छ। बडिमालिका शक्तिपीठको यात्रा यी सबै शक्तिपीठमध्ये कष्टकर छ। नेपालको विभिन्न जिल्ला मात्रै होइन, बडिमालिका दर्शकका लागि भारतको कुमाउ र गढवालबाट समेत हजारौं भक्तजन आउने गरेका छन्। बाजुराको बडिमालिकाको जति चर्चा गरे पनि कमै हुन्छ । धार्मिक आस्था र प्राकृतिक छटाले भरिपूर्ण बडिमालिका अहिले आकर्षक गन्तव्य बन्दै गएको छ।

जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने बडिमालिका यात्राको मौसम भने वर्षायाम हो। बडिमालिका छ नै त्यस्तो। यहाँ पुग्न कठिन। पुगेपछि झर्न कठिन। तर, यी सबै कठिनाइ बडिमालिकाप्रतिको अगाध आस्था, विश्वास र मनै लोभ्याउने हरिया पाटनका अगाडि गौण हुन्छन्।

बडिमालिकाको दर्शनले मनले चिताएको पूरा हुने विश्वास छ। सबैभन्दा बढी बडिमालिकाको दर्शन गर्नेमा सन्तान नभएकाहरू पर्छन्। बडिमालिकाको पूजा, आराधनाले सन्तान प्राप्ति हुने धार्मिक विश्वास छ। धन नहुनेलाई धन, दुःखीलाई सुख प्राप्त हुने अगाध विश्वासका साथ बडिमालिकाको दर्शन गर्ने गरिन्छ।

हिन्दू धर्मावलम्बीहरूको सबैभन्दा बढी आस्थाको केन्द्र हो, बडिमालिका। हरेक वर्ष जनैपूर्णिमाका दिन विशेष मेला लाग्ने गर्छ । नेपालका धेरै जिल्ला, सुदूरपश्चिम प्रदेशका सबै जिल्ला र भारतका विभिन्न ठाउँबाट तीर्थालु पुग्छन्। सतीदेवीको कुम पतन भएको स्थानका रूपमा बडिमालिका शक्तिपीठको स्थापना भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।

मनले चिताएको पूरा हुने विश्वास छ, बडिमालिकाको दर्शनले। सन्तान नभएकालाई सन्तान प्राप्त हुने विश्वास छ, बडिमालिकाको पूजाआराधनाले। धन नहुनेलाई धन, दुःखीलाई सुख प्राप्त हुने अगाध विश्वास छ, बडिमालिकाको प्रार्थनाले। बडिमालिकाको प्रार्थनाले रोग निको हुने विश्वास गर्छन्, हिन्दू धर्मावलम्बी। यसबाहेक प्रकृतिको अपार देन यस यात्रामा देखिन्छ।

पहाड उक्लेपछि देखिने फाँटहरू, मनमोहक पाटन, खेतीबेती, चौंरी र भेडापालनमा रमाइरहेका स्थानीय गोठालाहरूको जीवनशैली रोचक र मन फुरुंग बनाउने हुन्छ। बडिमालिकाबाट देखिने सूर्योदय अर्को आकर्षण हो। बडिमालिका यात्राका दौरान मन्दिर, जडीबुटी, वनस्पति, वन्यजन्तु, पहाड, पर्वत, नदी, खोल्सा, झरनासँग सामीप्यता मिल्छ। खासगरी धर्ममा आस्था विश्वास र प्रकृतिको खोज र अनुसन्धानमा रमाउन चाहनेहरू यस बडिमालिकाको यात्रा गर्छन्।

कहिले जाला राज्यको ध्यान ?
प्राकृतिक सुन्दरता र धार्मिक महत्त्वका दृष्टिकोणले सुदूरपश्चिम प्रदेशको खप्तड, रामारोशन, त्रिपुरासुन्दरी, मालिकार्जुन, उग्रतारा, शैलेश्वरी, वैद्यनाथ, अपी र साईपाललगायतका क्षेत्र निकै महत्त्वपूर्ण मानिन्छन्। त्यसमध्ये पनि बडिमालिकाको स्थान विशिष्ट छ। धार्मिक र पर्यटकीय दुवै हिसाबले हिन्दूहरूको आस्थाको धरोहर बडिमालिका ओझेलमा परेको छ।

बडिमालिका क्षेत्र संरक्षण, संवद्र्धन र विकासको पर्खाइमा छ। पानी र शौचालयको उचित व्यवस्थापन नहँुदा बडिमालिका क्षेत्र दुर्गन्धित हुँदै गएको छ। बाटोमा र बडिमालिकामा धर्मशाला र बास बस्ने उचित व्यवस्थान नहुँदा भक्तजनहरूले निकै कष्ट खेप्नु परेको छ। बडिमालिका जाने बाटोमा कुनै चिह्न र संकेतहरू नभएका कारण तीर्थालुहरूले सास्ती खेप्नु परिरहेको छ। यसतर्फ भने सरकारको ध्यान जान आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित