उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय दुई विवादित निर्णय गरेका छन्। एकातिर उनले औद्योगिक व्यवसाय ऐन २०७६ भन्दा बाहिर गएर उद्योगको म्याद थप्ने निर्णय गरेका छन् भने अर्कोतिर ८ वर्षपछि नयाँ रक्सी उद्योगहरुलाई लाइसेन्स वितरण गरेका छन्। यो निर्णय गराउन मन्त्री बडूले कर्मचारीलाई नै सरुवा गरेको खुलेको छ।
मन्त्री बडूले उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीसँग मिलेर रक्सी उद्योगलाई अनुमति दिन र म्याद गुज्रिएको उद्योगको म्याद थप्न दर्ता तथा अनुमति शाखा प्रमुख भक्तराज जोशीलाई अन्यत्र सरुवा गरिदिएका हुन्। उनको ठाउँमा घनश्याम न्यौपानेलाई ल्याइएको छ।
जोशीले ऐनभन्दा बाहिरको काम लगाएको भन्दै निर्णय गर्न आनाकानी गरेका थिए। त्यसपछि उनलाई मन्त्री बडू र महनिर्देशक तिवारीले बाटो खोलिदिन भनेका थिए।
त्यसपछि जोशीलाई उद्योग विभागकै ट्रेडमार्क शाखामा केही समयलाई राखिएको छ। केही दिनपछि उनलाई मन्त्रालय तान्ने निर्णय मन्त्री बडूले गरिसकेका छन्। मन्त्रीको सचिवालयका एक सदस्यले जोशीले मन्त्री बडू र महानिर्देशकले चाहेजसरी काम गर्न नमाने पछि उनको सरुवा गरिएको बताए।
‘केही दिनमा उहाँलाई मन्त्रालयमा ल्याउने कुरो छ,’ उनले भने। कर्मचारीको सरुवापछि बिहीबार मन्त्री बडूको अध्यक्षतामा बसेको उद्योग तथा लगानी प्रवर्द्धन बोर्ड बैठकले गोकुल भण्डारीको साउथ एसियन ब्रुअरी प्रालि र शंकर ग्रुपको जगदम्बा अल्को वेभ प्रालिलाई नयाँ लाइसेन्स दिएको छ।
त्यस्तै, हाल सञ्चालनमा रहेका छिन्नमस्ता डिस्टिलरी प्रालि, एभरेस्ट डिस्टिलरी प्रालि र न्यु एभरेस्ट डिस्टिलरी उद्योग प्रालिलाई क्षमता वृद्धि गर्न अनुमति दिइएको छ।
गत जेठदेखि नै यी उद्योगलाई लाइसेन्स वितरण र क्षमता विस्तार अनुमति दिने प्रयास भइरहेको थियो। तर, त्यसमा अनुमति शाखा प्रमुख जोशीले आनाकानी गर्दै आएका थिए।





















Discussion about this post