उकुसमुकुस बुटवलः कालोसूचीमा राख्नुपर्ने बदमास ठेकेदारलाई फेरि मौका

बुटवलको मुख्य बजार अन्तर्गत राजमार्ग चौराहा– चिडियाखोला सडक खण्ड । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलोले सवारी देख्न नसकिने अवस्था । वर्षायाम शुरू भए यता सानो पानी पर्दा समेत सडकमा खोलो बग्छ ।

ठूला–ठूला खाल्डाखुल्डीले दुर्घटनाको जोखिम उत्तिकै बढाएको छ । चार लेनको यो सडकलाई ६ लेनमा विस्तार शुरू गरेको ६ वर्ष हुँदा समेत ठेकेदार कम्पनीको चरम लापरवाहीमा काम हुन सकेको छैन । जसको कारण धुलो र हिलोले बुटवल बजार उकुसमुकुस बनेको छ ।

सडक निर्माण कम्पनी कञ्चनजंघा विरुवा जेभी कन्ट्रक्सनसँग ठेक्का सम्झौता खारेज गरी कालोसूचीमा राख्नुपर्ने नगरबासीको चौतर्फी माग भइरहेको बेला फेरि छलफलका नाममा बोलाएर पुनः काम गर्ने मौका दिइएको छ ।

बुटवल उपमहानगरपालिकाको अगुवाइमा नगरबासी, नियमनकारी निकाय र सडक निर्माण गर्ने ठेकेदार अमित श्रेष्ठलाई एकैठाउँ जम्मा गराई सफाईको मौकामा जुराइदिएको हो ।

बुटवलका नगर प्रमुख खेलराज पाण्डेको नियत ठीक नभएको निर्माण कम्पनी कन्चनजंघा जेभीलाई भित्री रूपमा साथमा रहेको बताइएको छ । ठेकेदारले काम नगरको भन्दै व्यापारिक मार्ग विस्तार आयोजनाले गएको असार १३ गते ठेक्का सम्झौता तोडन सक्ने भन्दै चेतावनी सहितको सूचना प्रकाशित गरेको थियो ।

ठेकेदार श्रेष्ठले पटक–पटक काम गर्छु भनेर जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (सिडीओ) सँग प्रतिबद्धता जनाए पनि सडकको निर्माणको काम गरेका छैनन् ।

श्रेष्ठ समय–समयमा सम्पर्कबिहीन भएपछि तत्कालिन रूपन्देहीका प्रजिअ अस्मान तामाङले निगरानीमा राखेका थिए । सडक विस्तार छिटो गर्न पटक–पटक सरोकारवाला निकायमा डेलिगेशन गए पनि ठेकेदारले काम गर्ने जाँगर देखाएनन् ।

तीन वर्षमा सक्ने गरी १७ चैत २०७३ मा सडक विस्तारको ठेक्का सम्झौता भएको थियो । कन्ट्रक्सनका प्रमुख अमित श्रेष्ठले भदौ मसान्तसम्म लुम्बिनी प्रादेशिक अस्पतालमाथिको सडक कालोपत्रे गरीसक्ने दावी गरे ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवलका कार्यालयहरूबीच समन्वय र सहकार्य आवश्यक रहेकाले जनताको भावनाअनुसार काम गर्न आग्रह ठेकेदारलाई आग्रह गरेका छन्। पाण्डेले निर्माण कम्पनीले गरेको प्रतिबद्धताअनुसार काम गराउन निर्माण आयोजनाले ताकेता गर्नुपर्ने बताए ।

व्यापारिक मार्ग विस्तार आयोजना प्रमुख दीपक झाले ठेक्का खारेजीको प्रक्रिया स्वरुप स्पष्टिकरण सोधेको जनाउँदै सन्तोषजनक काम र जवाफ नआए कारवाही गर्न कार्यालय तयार रहेको बताए ।

सडक विस्तारमा भइरहेको ढिलासुस्तीले बुटवलको व्यापार व्यवसाय चौपट भएको छ । बुटवलमा आवागमन सहज नहुँदा महंगो भाडा तिरेर व्यवसाय गरेका व्यवसायीहरू निराश छन् ।

कतिपय व्यवसायीले पसल बन्द गरेर अर्कै व्यवसायमा लागेका छन् भने कतिपयले मणिग्रामतिर पसल खोल्न थालेका छन् । बुटवलका व्यवसायी सडककै कारण सवारी साधन र बुटवलको व्यवसाय चौपट भएको बताए ।

५३ करोड ९७ लाख सडक निर्माणको ठेक्का लागेको थियो । ठेकेदार कम्पनीले हालसम्म १३ करोडभन्दा बढी रकम भुक्तानी लगिसकेको छ । बुटवलमा सोमबार भएको अन्तरक्रियामा सिद्धार्थ राजमार्गअन्तरगत बुटवल–बेलहिया सडक निर्माणको कामको अनुगमन गर्न २ वटा विशेष अनुगमन सहजीकरण समिति बनाइएको छ । यो समाचार लोकान्तरबाट साभार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित