धरानको सर्दुखोलाबाट बिजुली बल्न थालेको छ। बिहीबार टर्वाइन घुमाएर बालिएको बिजुलीको मेयर हर्कराज राई (साम्पाङ) ले रिवन काटेर उद्घाटन गरेका छन् ।
बिजुली बाल्न पुगेर मेयर साम्पाङसँगै धरानबासीले पनि बिजुली बल्यो भन्दै खुशी साटासाट गरेका थिए । बिजुली बल्यो, ल हेर्नुहोस् अब भनेर मेयर साम्पाङले भनिरहँदा एकसाथ धरानबासी खुशी हुँदा मेयर साम्पाङ पनि औधी खुशी देखिन्थे ।
‘धरानमै पनि अहिले बिजुली बत्ती झलझली बल्दा सपना जस्तै लागेको छ’, मेयर साम्पाङले भने, ‘तर यो सानो हो र नमूना समेत हो, विद्युत बाल्ने सपना बल्ल पूरा भएको छ, यसले धरानमा पनि बिजुली बाल्न सकिन्छ भन्ने उदाहरण पस्किएका छौं ।’
उनले बानियाँटारमा पोखरी बनाएर त्यहाँबाट धरानभरी बाल्नेगरी बिजुली उत्पादन गरिछाड्ने प्रतिबद्धता जनाए । ‘यो त सानो नमूना मात्रै हो, उदाहरण भनेको सानै हुन्छ’, उनले थपे, ‘यसै नमूनाका आधारमा बानियाँटारमा ठूलो पोखरी बनाएर धरानभरी बाल्नेगरी बिजुली उत्पादन गरिछाड्छौं ।’
३१ मिटरको हेडबाट पानी झारेर टर्वाइन घुमाएर बिजुली निकालिएको प्रोजेक्ट म्यानेजर तर्क मगरले जानकारी दिए । धरानबासीकै जनश्रमदानमा बिजुली बाल्न सकिएको प्रोजेक्ट म्यानेजर मगर बताउँछन् । वाटको हिसाबले तीन सय र भोल्टको हिसाबले २४० भोल्ट बिजुली उत्पादन भएको उनले जानकारी दिए ।
सो बिजुलीबाट २० वटा वल्भ बल्न सक्ने उनले जानकारी दिए । उनका अनुसार सो बिजुली खानेपानीको लागि सर्दु खोला छेऊमा बस्ने चौकीदार, बीपी पार्क (ओशो), पार्कको पुल, जलाधार क्षेत्रमा प्रवेश निषेध लेखिएको बोर्ड आदिमा बालिनेछ । उपमेयर अइन्द्रविक्रम बेघाले धरानमा पहिलोपल्ट बिजुली उत्पादन भएको र खोलाखोल्सीबाट पनि बिजुली उत्पादन हुन्छ भन्ने प्रमाणका रुपमा यो ‘प्रोजेक्टको कन्सेप्ट’ आएको बताए ।
हाइड्रोपावरका लागि जेनेरेटर, मिटर, पाइप फिटिङसको सेट सिंहबाहिनी इन्जिनियरिङ प्रालिले सहयोग गरेको थियो । प्रालिका प्रबन्ध निर्देशक टंकप्रसाद तिम्सिना, उत्पादक निरीक्षक गोपाल खड्का, रमेशप्रसाद तिम्सिना, टेक्निकल पर्सन होमबहादुर लिम्बू, टेक्निसियन नरेन्द्र मानन्धरले सहयोग गरेका थिए ।
‘स्थानीयमा यो खुशी र आशा जगाउने काम गरेको हो, स्थानीय सरकारले’, धरान–११ का चन्द्र राईले प्रतिक्रिया दिए । ‘सरकारले जनतालाई साँच्चिकै अभिभावकीय महसुस गराउने प्रयत्न गरिरहेको छ भन्ने हामीले महसुस गरेका छौं ।’ उनले भने





















Discussion about this post