भाइरल ज्वरो फैलिएपछि २३ विद्यालय बन्द

ओखलढुंगा। लिखु गाउँपालिकाका अधिकांश विद्यालयका शिक्षक तथा विद्यार्थी भाइरल ज्वरोबाट संक्रमित भएका छन्। संक्रमण बढेपछि पालिकाले चार दिनका लागि सबै विद्यालय बन्द गरेको छ। सूचना जारी गरेर पालिकाले विद्यालय बन्द रहने जानकारी गराएको हो।

नियमित पठनपाठन सञ्चालन गर्न कठिन भएपछि विद्यालय बन्द गराउनु परेको लिखु गाउँपालिकाका शिक्षा शाखा प्रमुख रचना मैनालीले जानकारी दिइन्।

भदौ ५ गतेदेखि ५ वर्ष पूरा भई १२ ननाघेका विद्यार्थीलाई कोभिडविरुद्धको फाइजर खोप लगाउने कार्यक्रम रहेको र बालबालिका बिरामी भई प्रभावित नहोस् भन्ने उद्देश्यले तत्काललाई बन्द गरिएको शिक्षा शाखा प्रमूख मैनालीको भनाइ छ।

लिखु गाउँपालिकामा सामुदायिक २२ र एक संस्थागत गरी २३ विद्यालय छन्। त्यसमध्ये ४, ५, ६, ७, ८ र ९ नं. वडाका सबै विद्यालयहरुमा सयौंको संख्यामा विद्यार्थी र शिक्षक भाइरल ज्वरोले थलिएका छन्। बाँकी वडामा पनि ज्वरोको बिरामी बढेका छन्।

लिखु- ८ टारकेराबारीको जाल्पा माध्यमिक विद्यालयका सयौं विद्यार्थी ज्वरोले बिरामी भएपछि केही दिनअघि नै विद्यालय बन्द भएको थियो। जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुष्पराज पन्तले भाइरल ज्वरो र कोरोनाको लक्षण मिल्दोजुल्दो भएकोले बढी समस्या भएको क्षेत्रमा कोरोना परिक्षणको तयारी भइरहेको बताए।

५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई अहिलेसम्म कोरोनाविरुद्धको खोप दिइएको छैन। त्यही समूहका बालबालिका बढी बिरामी भएका स्थानीयको भनाइ छ। भदौ ५ देखि खोप दिने र कोरोना देखिएमा सतर्कता बढाइने पन्तको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित