कहाँ र के गर्दै थिइन् सपना: बल्ल पुरानै सपना लिएर बेबारिसे शव जलाउन आर्यघाट फर्किईन

दुई वर्षअघि म्याग्दीकी सपना रोका मगर अचानक मिडिया र सोसल मिडियामा छाइन् । प्रशंसा र बधाई प्रशस्त खाइन् । सन्दर्भ थियो- बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा उनको नाम समावेश हुनु ।

१०० सूचीमा पर्नुका पछाडि सपनाले दागबत्ती दिएका सयौं बेवारिसे लासहरु थिए । बेवारिसे लासहरुलाई बेवारिसे भइरहन नदिएर दागबत्ती दिँदै सदगद् गर्नु उनको दिनचर्या थियो ।

आफैं सडकमा बेवारिसे जीवनको आरोह, अवरोह गुजारेर आएकी सपनाले सडकभन्दा एक सिँढी माथि उक्लिएर बेवारिसेहरुलाई आर्यघाटमा पुर्‍याएर जलाएकी थिइन् ।

उनी बीबीसीको १०० प्रभावशाली सूचीमा परेपछि चर्चामात्रै चुलिएन, चौतर्फी प्रशंसा भयो । उनी धेरैका लागि उत्प्रेरणा बनिन् । धेरैका लागि आइकन बनिन् । १८ वर्षे कलिलो उमेरमा उनले गरेको काम प्रशंसालायक छँदै थियो ।

अचानक सारा मानिसको नजरमा परेकी सपना अचानक नै विवादमा तानिइन् । उनीमाथि अनेकानेक टीकाटिप्पणी भए, सहनेसम्म सहिन् । तर, उनको कलिलो धैर्यताले पनि थेग्न नसक्ने अवस्था आइपरेपछि अचानक गायब बनिन् ।

उनी कहाँ गइन्, के गर्दैछिन्, कसैले सोधखोज गरेन । आठ-नौ महिनासम्म दृश्यबाट ओझेल परेकी सपनालाई यहीबीचमा अनेक रोगले जकडे । टन्सिल भयो । एपेन्डिक्स भयो । अस्पतालमा लामो समय बिताइन् । मानसिक तनावबाट पार पाउन आफैंले आफैंलाई उत्प्रेरित गरिन् । परिवारलाई समय दिइन् ।

उनको फेसबुक पाकिस्तानबाट ह्याक भयो । सञ्जालबाट लापता भइन् । यत्तिका लामो समय हराउनुको रहस्य खोतल्छिन् सपना, ‘यो बीचमा आफूले आफैलाई नजिकबाट बुझ्ने र भेट्टाउने प्रयास गरेकी थिएँ ।’

– अनि आफूलाई भेटाउनुभयो त ?

थोरै मुसुक्क २१ वर्षे हाँसो हाँसेर मुख खोल्छिन्, ‘अलिकति भेट्टाएँ । अलिकति बाँकी छ ।’ अहिले सपना जब ऐनाअघि उभिन्छिन्, उनलाई आफैंलाई भेटेजस्तो लाग्छ । उनलाई लाग्छ, हिजोको सपना कमजोर थिई, जोकोहीलाई विश्वास गरिहराल्ने सपना थिई । रोइहाल्ने, जिद्दी गर्ने सपना थिई । परिपक्व नभएकी सपना थिइन् । तर, आजको सपना त्यस्ती छैनन्, बलियी छिन् ।

सपनालाई आमाले भन्ने गर्थिन्, ‘लास जलाउने काम गर्छु भनेर अगाडि बढेकी छेस् । ताली र गालीको पछि नलाग ।’ तर, ताली-गाली दुवै आफैं सपनाको पछि लागे । तालीले साथ दियो । सँगै गालीले पिछा छाडेन । अलिकति राम्रो काम गर्‍यो, तालीको वर्षा । सानो गल्ती गर्‍यो, ‘श्रद्धाञ्जली’को ओइरो ! तर, आफूलाई दुइटै कुराले उस्तो नखिचेको सपनाको स्वीकारोक्ति छ ।

सोसल मिडियामा आएका गालीबारे सपना बोल्छिन्, ‘रिलको जमानामा रियल काम गर्नेहरु पछि परेका हुन्छन् । सोसल मिडिया ठूलो महलमा सजाएको डमी हो, बाहिर जे देखायो, त्यहीमात्रै देखिन्छ । केही मान्छे खुट्टा तान्न पनि आए । उनीहरु सफल पनि भए । उनीहरुले जे देखाए, दर्शकले त्यही मानेर गाली गर्नुभयो । तर, सपनाले राम्रो काम गरिरहेको रहेछ भनेर विस्तारै बुझ्दै जानुभयो ।’

जीवनलाई दुई मोहडाबाट हेर्छिन् सपना । एक, सार्वजनिक जीवन । अर्को, निजी जीवन । निजी र सार्वजनिक जीवनलाई एक ठाउँमा राखेर तुलना गरिएको निको लाग्दैन उनलाई ।

‘बाहिर सबैलाई मोटिभेट गर्ने सपना सिरानी मुखमा कोचेर आफ्नै मनसँगको पो युद्ध लडिरहेकी छे कि ! सबैलाई हाँस्नुपर्छ भनेर हँसाउने सपना निजी जीवनमा रोएर पो रात कटाइरहेकी छे कि ! बाहिरको चित्रलाई हेरेर भित्रको चरित्रलाई वर्णन गर्नु हुँदैन भन्छु म,’ गम्भीर बनेर एक सासमै बोलिपठाउँछिन् ।

सपनालाई थाहा छ, मानसिक रुपमा जब कोही बलियो हुन्छ, उसलाई कसैले लडाउन सक्दैन । तर, उनलाई मानसिक रुपमै गलाइयो । आरोप–प्रत्यारोपले टर्चर दियो । सपनाभित्रको ‘सपना’लाई साइलेन्स गराइयो । उनलाई लाग्छ, कहिलेकाहीँ आफैंले आफूलाई बुझ्न सकिँदैन । धेरै तनाव हुन्छ । उनको प्रश्न छ, ‘मभित्रको ‘म’लाई कसले बुझेको छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित