संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छायासेन्टरमा रहेको भिएफएसका एक जना सुरक्षा गार्डलाई प्रहरीले अहिले हिरासतमा राखेको छ।
मन्त्रीलाई लाइनमा बस्नुस् भनेकै आधारमा सुरक्षा गार्ड शेरजंग गुरूङलाई प्रहरीले पक्राउ गरेको थियो। आफ्नो जिम्मेवारी पूरा गर्दा गुरूङलाई पक्राउ गर्नु गलत भएको भन्दै अहिले चौतर्फी आलोचना भइरहेको छ।
मन्त्री श्रेष्ठले भने गुरूङले आफूलाई र आफ्ना अंगरक्षकलाई दुर्व्यवहार गरेको दाबी गर्दै आएका छन्। गुरूङलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद पनि लिएको छ।
गुरूङले काम गर्ने गरूड सेक्युरिटिजले भने उनले कुनै गल्ती नगरेको दाबी गर्दै घटनाको सिसिटिभी फुटेज देखाउन माग गरेको छ। सोमबार गरूड सेक्युरिटिजका प्रशासकीय अधिकृत अभिषेक कार्कीले आफ्ना सुरक्षा गार्डले कुनै गल्ती नगरेको बताएका छन्।
गुरूङले आफूलाई दिइएको निर्देशनअनुसार काम मात्रै गरेको उनले बताए। ‘गार्डले गल्ती गरेको छैन। जे निर्देशन दिइएको छ त्यही काम गर्दाखेरी माफी माग्नुपर्ने कुनै कारण छैन,’ उनले भने।
स्रोतका अुनसार मन्त्री श्रेष्ठले अप्रत्यक्ष रूपमा गरूड सेक्युरिटिजले सार्वजनिक रूपमा माफी माग्न दबाब दिइरहेका छन्। तर सेक्युरिटिजले आफ्नो गल्ती नभएको अडान लिएको छ।
आफ्ना गार्डलाई हिरासतमा राखेपछि सेक्युरिटिजले बन्दीप्रत्यक्षीकरणको मुद्दा पनि हाल्ने तयारी गरिरहेको प्रशासकीय अधिकृत कार्कीले बताए। त्यसका लागि आफूहरूले भिएसएफसँग सिसिटिभी फुटेज माग गरिरहेको पनि उनले बताए।
‘बन्दी प्रत्यक्षीकरणको मुद्दा पनि हाल्न भिएसएफसँग कुराकानी भइरहेको छ। हामीले फुटेज दिनुस् भनेका छौं,’ उनले भने, ‘फुटेजमा मन्त्रीजी नै एग्रेसिभ हुनुभएको देखिन्छ। गार्डले सम्झाउनुभएको हो। हामीले यो फुटेज बाहिर आउँदैन तपाईंहरूले नै बोकेर आउनुस्। तपाईंहरूले नै अदालतमा बुझाएर फेरि फिर्ता लगिदिनुस् पनि भनेका छौं। तर त्यो काम भइसकेको छैन।’
घटनाबाहिर आएपछि आइतबार आफूले सिसिटिभी फुटेज हेरेको कार्कीले बताए। त्यसमा धक्कामुक्का त परको कुरा छोएको पनि नदेखिएको उनी बताउँछन्।
‘फुटेजमा धक्कामुक्की त्यस्तो केही भएको छैन। कसैले कसैलाई छोएको छैन। बीचमा मन्त्रीजी चाहिँ आवेगमा आएर गुरूङजीपट्टी जंगिएर जान खोज्नुहुन्छ,’ उनले भने, ‘मन्त्रीजीको श्रीमतीले चाहिँ हातले छेक्न खोजेको जस्तो देखिन्छ।
फेरि केही होला भनेर एक जना अर्का गार्ड आएर मन्त्रीजी र गुरूङबीच बसेर छेकेको देखिन्छ।’ सिसिटिभी फुटेज नै बलियो प्रमाण हुने भएको हुँदा त्यसलाई नै आधार मानेर मुद्दा हाल्ने तयारी गरिरहेको उनले बताए।





















Discussion about this post