असोज ७ गते विश्वव्यापी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘प्रेम गीत ३’ को ट्रेलर भर्खरै सार्वजनिक भएको छ। हिन्दी र नेपाली गरी दुई भाषामा एकसाथ प्रदर्शनमा आउने फिल्मको दुवै भाषाको ट्रेलर गत बिहीबार सार्वजनिक गरिएको हो।
जि म्युजिक कम्पनीको यू-ट्युब च्यानलबाट सार्वजनिक भएको फिल्मको हिन्दी डब ट्रेलरलाई ५५ लाखभन्दा बढी पटक हेरिएको छ। नेपाली ट्रेलर पनि गरेर फिल्मको ट्रेलरलाई युट्युबमा जम्मा ६५ लाखभन्दा बढी पटक हेरिएको छ। यो सँगै ‘प्रेम गीत ३’ को ट्रेलर सर्वाधिक हेरिएको नेपाली फिल्मको ट्रेलर पनि बनेको छ।
पहिलो पटक कुनै नेपाली फिल्म हिन्दीमा डब भएर धेरै पर्दामा एकसाथ प्रदर्शनमा आउन लागेकाले यसको चर्चा नेपालमा व्यापक छ। क्रमशः पोस्टर, टिजर, गीत र ट्रेलर सार्वजनिक भइसकेपछि भारतमा पनि ‘प्रेम गीत ३’ को चर्चा बढ्न थालेको छ।
‘प्रेम गीत ३’ नेपाली फिल्म उद्योगमा बनेका सर्वाधिक महङ्गो फिल्ममध्ये एक हो। जसको बजेट ३ देखि ५ करोडसम्मको छ। तर भारतमा फिल्मको बजेट नै चर्चाको मुख्य विषय बनेको छ।
फिल्मको कथा र लोकेसन हेरेर र धेरैले फिल्मको बजेटलाई निकै कम रहेका बताएका छन्। यति थोरै लगानीमा ऐतिहासिक कथामा यति विश्वसनीय काम गरेको भन्दै निर्माण टोलीको तारिफ भइरहेको छ।
असोज ७ अर्थात सेप्टेम्बर २३ गते फिल्म प्रदर्शनमा आउँदैछ। अहिलेसम्म नेपालका लागि ‘प्रेम गीत ३’ ले इतिहास रचिसकेको छ। तर बक्स अफिसको यात्रा भने चुनौतीपूर्ण रहने देखिएको छ।
नेपालका लागि ‘प्रेम गीत ३’ बहुप्रतीक्षित फिल्म भए पनि भारतका लागि भने निर्देशक, निर्माता, कलाकार सबै नयाँ हुनेछन्। जसले गर्दा धेरैभन्दा धेरै दर्शक हलसम्म आउनका लागि धेरै दर्शकलाई फिल्म नै मन पर्नु पर्छ।
‘प्रेम गीत ३’ प्रदर्शन हुने दिन नै सनी देओल अभिनित बलिउड फिल्म ‘चुप’ प्रदर्शनमा आउँदैछ। प्रदिप खड्काका लागि पहिलो चुनौती सनी देओल नै हुनेछन्।
पहिलो हप्ता पाएको शोमा राम्रो प्रदर्शन गरे पनि दोस्रो हप्ता अर्थात ३० सेप्टेम्बरमा प्रेम गीत र प्रदिपको अर्को परीक्षा हुनेछ। जुन दिन ‘विक्रम वेधा’ र ‘पोनियिन सेलवानः आई’ एकैसाथ प्रदर्शनमा आउँदैछन्।
उक्त मितिलाई भारतमा वर्षकै ठूला क्ल्यासमध्ये गनिएको छ। हृतिक रोशन र सैफ अली खानको मुख्य भूमिका रहेको ‘विक्रम वेधा’ एक्सन थ्रिलर जनरामा बनेको फिल्म हो। जुन सोही नामको सफल तामिल फिल्मको रिमेक हो। पुस्कर गात्रीको लेखन तथा निर्देशनमा बनेको फिल्मको बजेट १ सय ७५ करोड भारू रहेको छ।
भारतीय फिल्म इतिहासमै सबैभन्दा महङ्गोमध्येको फिल्म ‘पोनियिन सेलवानः आई’ पनि सोही मितिमा प्रदर्शन हुँदैछ। चियान विक्रम, ऐश्वर्या राय बच्चन, जयाम रवि लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म एपिक पिरियड एक्सन ड्रामा जनरामा बनको फिल्म हो।
भारु ५ सय करोड बजेट रहेको फिल्म कल्की कृष्णमूर्तिको सन् १९५५ मा प्रकाशित ऐतिहासिक उपन्यासमा आधारित फिल्म हो।
सरसर्ती हेर्दा प्रदिपका अगाडि सनी देओल, हृतिक रोशन, सैफ अलि खान, चियान विक्रम जस्ता भारतका स्टार कलाकारहरू छन्। तर पछिल्लो समय भारतमा स्टार मानिएका कलाकारकै फिल्म लगातार फ्लप भइरहँदा प्रदर्शनअघि नै कुन फिल्म चल्छ भनेर अनुमान लगाउन मुश्किल छ।
उदाहरणको रुपमा गत महिना प्रदर्शनमा आएको तेलुगु फिल्म कार्तिकेयलाई लिन सकिन्छ। आमिर खानको ‘लाल सिंह चड्ढा’ र अक्षय कुमारको ‘रक्षा बन्धन’सँगै प्रदर्शनमा आएको फिल्मले दुवै स्टारका फिल्मलाई पछि पारेको थियो।
१५ करोड बजेट रहेको कार्तिकेय २ ले १ सय ५ करोड कमाउँदा १ सय ८० करोडमा बनेको ‘लाल सिंह चड्ढा’ले १ सय २० र ७० करोडमा बनेको अक्षयको ‘रक्षा बन्धन’ले ६० करोड मात्र कमाउन सक्यो। कार्तिकेय अहिले पनि कतिपय हलमा प्रदर्शन भइरहेको छ भने ‘लाल सिंह चड्ढा’ र ‘रक्षा बन्धन’ हलबाट उत्रिसकेका छन्।
यस्तोमा प्रदर्शनअघि नै कुन फिल्मको व्यापार कस्तो हुन्छ भनेर अनुमान लगाउनु गाह्रो कुरा हो। यसअघि नेपालमा नेपाली फिल्म र भारतीय फिल्म प्रतिस्पर्धीका रुपमा देखिने गरे पनि यसपटक भारतमै नेपाली फिल्मले भारतीय स्टार कलाकारका फिल्मसँग पर्दाका लागि प्रतिस्पर्धा गर्नेछ।





















Discussion about this post