सर्वोच्चको भवन निर्माणमा भ्रष्टाचार : ६० लाखमा हुने कामलाई साढे ७ करोड बजेट !

सर्वोच्च अदालतको निर्माणाधीन भवनमा लागत अनुमानदेखि नै भ्रष्टाचार भएको तथ्य महालेखा परीक्षकको कार्यालयले देखाएको छ । लागत निर्माणका क्रममा जुन विधि वा प्रक्रियाबाट काम महँगोमा गर्न सकिन्छ, सोही विधि प्रयोग गरेर लागत अनुमान तयार गरिएको पाइएको छ ।

सर्वोच्च अदालतको भवन निर्माणका लागि जग खन्ने कामका लागि मात्रै भनेर प्रचलित बजार मूल्यभन्दा ७ करोड ५८ लाख ५१ हजार ६४७ रुपैयाँ बढीको लागत अनुमान तयार पारिएको पाइएको छ ।

मानव श्रमको प्रयोग गर्ने भनी प्रति घनमिटर ७१० रुपैयाँ ७० पैसाका दरले एक लाख तीन हजार नौ दशमलव ८७ घनमिटर माटो खन्ने भनिएपनि त्यहाँ रोजगारीको समेत सिर्जना हुने मानव श्रमको प्रयोग नगरी एक्स्काभेटरको प्रयोग गरेर माटो खनिएको थियो ।

यसरी एक्स्काभेटर प्रयोग गरेर जग खन्ने कामका लागि शहरी विकास तथा भवन निर्माण विभागले तयार गरेको माटो खन्ने वा जग खन्ने प्रयोजनको दररेट हेर्दा प्रति घनमिटर ५९ रुपैयाँ ६ पैसामात्रै रहेको छ ।

यसरी प्रचलित बजार मूल्यभन्दा जग खन्ने विषयमै सर्वोच्च अदालतले ७ करोड भन्दा बढी लागत अनुमान निकाली मिलेमतैमै भ्रष्टाचार गरेको छ । सर्वोच्च अदालतको भवनको लागत यसैगरी विभिन्न शीर्षकमा बढाइएको पाइएको छ ।

प्राप्त तथ्यांकअनुसार सर्वोच्च अदालतले आफ्नो भवन निर्माण गर्दा मानव श्रमको पनि खपत भई रोजगारी बढ्ने भन्दै जग खन्ने कामका लागि मानव श्रोत प्रयोग गर्ने र त्यसका लागि प्रति घनमिटर ७१० रुपैयाँ ७० पैसा दिने भनिएको थियो ।

सर्वोच्च अदालतको भवन निर्माण गर्दा जग खन्ने प्रयोजनका लागि एक लाख तीन हजार ९ दशमलव ८७ घनमिटर खन्नुपर्ने निष्कर्ष निकालिएको थियो । यही आधारमा सर्वोच्चको जग खन्ने प्रयोजनका लागि मात्रै ७ करोड ३२ लाख ९ हजार १११ रुपैयाँ २० पैसा लागत अनुमान निकालिएको थियो ।

तर सर्वोच्च अदालतको भवन निर्माणका लागि लागत अनुमानभन्दा मात्रै शून्य दशमलव ३९ प्रतिशत घटाएर ठेक्का पाएको बिनापुरी कालिका समानान्तर जेभीले माटो खन्ने प्रयोजनका लागि मानव श्रोत प्रयोग नगरी एक्स्काभेटर प्रयोग गरी जग खनेको थियो ।

हालको प्रचलित बजार मूल्यमा एक्स्काभेटर बाट जग खन्दा प्रति घनमिटर ५९ रुपैयाँ ६ पैसामात्रै पर्ने देखिएको छ । एक्स्काभेटर को प्रयोग गरी प्रति घनमिटर ५९ रुपैयाँ ६ पैसामा खन्न सकिने जगका लागि लागत अनुमान समिति सदस्यहरूले ७१० रुपैयाँ ७० पैसा देखाइदिए ।

जसबाट भवन निर्माणका लागि जग खन्दा भ्याटबाहेक ६० लाख ८३ हजार ७६२ रुपैयाँ ९२ पैसामा हुने कामका लागि ७ करोड ३२ लाख ९ हजार ११४ रुपैयाँ ६० पैसाको लागत अनुमान बनाइयो ।

एक्स्काभेटरबाट खन्दा भ्याटसहित ६८ लाख ७४ हजार ६५२ रुपैयाँ नौ पैसामा हुने कामका लागि लागत अनुमान तयार पार्दा भ्याटसहित ८ करोड २७ लाख २६ हजार २९९ रुपैयाँ ४९ पैसा कायम गरिएको छ । यसरी वास्तविक लागतभन्दा धेरै महँगोमा भवनको जग खन्ने कामका लागि लागत अनुमान तयार पारी त्यसलाई सर्वोच्च अदालतकै लागत अनुमान समितिले स्वीकृति प्रदान गरेको छ ।

यसबाट सर्वोच्च अदालतको भवन निर्माणका क्रममा जग खन्ने कामकै लागि ७ करोड ५८ लाख ५१ हजार ६४७ रुपैयाँ ३९ पैसा बढी देखाइएको छ । बढी देखाइएको सोही रकमलाई स्वीकृत गरी सर्वोच्च अदालतका तत्कालीन समयमा लागत अनुमान समितिमा रहेका सदस्यहरूले मिलेमतो गरी राज्यको सम्पत्ति हानी नोक्सानी गर्न सघाउ पुर्‍याएका छन् ।

महालेखा परीक्षक कार्यालयले गरेको विस्तृत अध्ययनका क्रममा माटो खन्ने प्रयोजनका लागि तयार पारिएको लागत इष्टिमेटमै ७ करोड ५८ लाखभन्दा बढी देखाएर अनियमितता गरेको स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित