दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला फुटबल च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले सोमबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।
अहिलेसम्म अपराजित यी दुई टोलीबीचको फाइनल खेल सोमबार साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। नेपाल साविक विजेता भारत र बंगलादेश भुटानलाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन्।
आइतबार आयोजित प्रिम्याच कन्फरेन्समा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले छैटौं संस्करणको उपाधि घरमै राख्ने लक्ष्य लिएर सोमबार साँझ मैदानमा उत्रिने बताए।
उनले उपाधिका लागि लामो प्रतीक्षा गरेको बताउँदै ट्रफी घर बाहिर जान नदिन सबै रणनीति अवलम्बन गरिने बताए। ‘च्याम्पियनसिपको उपाधिका लागि हामीले लामो प्रतीक्षा गरेका छौं।
अब त्यो प्रतीक्षाको घडी सकिएको छ। उपाधि जित्नका लागि हामी शारीरिक तथा भावनात्मक रुपमा तयार छौं’, मुख्य प्रशिक्षक थापाले भने, ‘हाम्रो मुख्य उद्देश्य ट्रफी बाहिर जान नदिने हो। यसका लागि सबै रणनीति उपयोग गछौं।’
उनले नेपाली टोली सन्तुलित रहेकाले बंगलादेशको चुनौती सशक्त रुपमा गर्ने बताए। ‘बंगलादेश निकै राम्रो टिम छ। हामी उनीहरूलाई आदर गर्छौं। हाम्रो टिम पनि सन्तुलित रहेकाले खेल निकै प्रतिस्पर्धात्मक हुन्छ र घरेलु मैदानको फाइदा हामीले उठाउने छौं।’
मुख्य प्रशिक्षक थापाले भने, ‘अघिल्ला दुई खेल गुमाएका फरवार्ड सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जन पनि सोमबारको खेलमा फर्किने सम्भावना भएकाले नेपाललाई केही सहज हुनेछ।’
नेपाल र बंगलादेशले पहिलो पटक फाइनल खेल्न लागेका हुन्। महिला साफ च्याम्पियनसिपको १२ वर्षको इतिहासमा यसअघि चार पटक फाइनलमा पुगेर पनि नेपालले उपाधि जित्न सकेको छैन। सन् २०१६ मा बंगलादेशले फाइनलमा प्रतिस्पर्धा गरे पनि नजिता भारतलाई सुम्पिएको थियो। साफले यस पटक नयाँ च्याम्पियन पाउने छ। पाँच पटकको विजेता भारत सेमिफाइनलमै रोकिएकाले नयाँ विजेता पाउन लागेको हो।





















Discussion about this post