अर्घाखाँचीको सुपा देउरालीलाई स्वच्छ राख्न सरसफाई

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७, खाँचीकोटमा रहेको नेपालकै प्रसिद्ध धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरमा सरसफाई अभियान सञ्चालन भएको छ।

महत्वपूर्ण धार्मिक पर्यटकीयस्थल सुपा देउराली मन्दिरलाई नमुना बनाउन सन्धिखर्क नगरपालिकाले सरसफाई अभियान सञ्चालन गरेको हो। मन्दिर आसपासका स्थानीयले सरसफाई समिति बनाएर आसपासको सरसफाई गर्न र ध्यान दिन नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले आग्रह गरे।

नेपालकै प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको संख्यामा वृद्धि भएको छ। एक वर्ष पहिलाको तुलनामा आजभोलि दोब्बरले वृद्धि भएको छ।

विगतका वर्षहरूमा दैनिक दुई सयदेखि एक हजार जनाले दर्शन तथा पूजाआजा गर्ने गरेकोमा अहिले आएर दैनिक एक हजारदेखि दुई हजार जनासम्मले दर्शन गर्ने गरेका छन्।

सुपा देउरालीमा आउने पर्यटकलाई निर्धक्कका साथ खाना तथा नास्ता खाने वातावरण बनाउन स्थानीय नै जाग्नुपर्ने नगर उपप्रमुख मिश्रा आचार्यको भनाइ छ। हामीले चाहेको मनोकामना पूरा हुने यस मन्दिरमा आउने धार्मिक पर्यटकलाई स्वच्छ वातावरणमा बस्ने वातावरण बनाउन सबैलाई आग्रह गरिन्।

मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, गुल्मी, रुपन्देहीबाट बढी मात्रामा पर्यटक आउने गर्छन। भारतको उत्तर प्रदेस, विहारबाट समेत धार्मिक पर्यटक सुपा देउरालीमा दर्शन गर्न आउने गरेका छन्। यो नेपालकै प्रसिद्ध मन्दिर बन्दैछ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले मन्दिर आसपासमा फोहर गर्नेलाई जरिवाना समेत गर्ने गरी अगाडी बढ्न स्थानीयलाई आग्रह गरे।

पहिलो चरणमा घर पछाडीको फोहरलाई व्यवस्थित गर्नुपर्ने बताए। फाल्नेलाई नगरपालिकाले निगरानीका साथ हेर्ने र सीसीटीभी क्यामेरा राखेर भएपनि फोहर फाल्नेलाई कडा कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए।

सुपा देउराली पर्यटकीय गन्तव्य बनिसकेको छ। सन्धिखर्क गोरुसिङ्गे सडक खण्डसँगै जोडिएकाले पनि यसको महत्व बढ्दो छ। सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ। कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ।

कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास छ। त्यसैले यहाँ पाठी, बोका, भाकल गरी बली चढाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित