झण्डै पाँच दशकको अन्तरालपछि उदयपुरमा प्रस्तावित सगरमाथा विमानस्थलको काम सुरु गरिएको छ । त्रियुगा नगरपालिका–१ र २ को जोगिदहमा विमानस्थल बन्ने सुनिश्चितता भएसँगै त्यस क्षेत्रका वनजंगल फडानी सुरु गरिएको हो ।
बिमानस्थलको भौतिक पूर्वाधार निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने वन तथा भूसंरक्षण विभाग र नेपाल नागरिक उड्डयान प्राधिकरणबीच २०७८ माघ २४ सम्झौता भएसँगै वन क्षेत्रको रुख कटान सुरु गरिएको हो । सम्झौताअनुसार प्राधिकरणले १८ हजार ४ सय २३ रुख कटानका लागि बोलपत्र आव्हन गरेको थियो ।
वोलपत्र अनुसार अरुण मा दुर्गा जेवीले भ्याटसहित २ करोड ६४ लाख मुल्यमा रुख कटानको जिम्मेवारी लिएको सञ्चालक वलराम नायकले बताए । उनका अनुसार २०७९ असोज ७ गते सम्झौता भई आउँदो पुस ९ गतेसम्म काम सम्पन्न गरिसक्नुपर्ने छ ।
१५६ दशमलब ११ हेक्टर क्षेत्रफल ओगटेको विमानस्थलमा हाल १०५ दशमलब १० हेक्टरमा रहेको रुख कटान हुने डिभिजन वन कार्यालय उदयपुरका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहले बताए । बाँकी रहेको ५० दशमलब ४१ हेक्टरको कटान गर्न नपाउने र हरियाली बनाउनु पर्ने उनले बताए ।
बिमानस्थल निर्माणका लागि शिवालय धार्मिक वन उपभोक्ता समूहको ०.५२ हेक्टर क्षेत्रमा १७८ वटा रुख, कंगखोला सामुदायिक वनको ७२.३५ हेक्टर क्षेत्रमा १२ हजार ६३८ वटा र मोतियाही सामुदायिक वनको ८३.२४ हेक्टर क्षेत्रमा ५ हजार ६०७ वटा रुख कटान हुने उनले बताए ।
‘एक जिल्ला एक विमानस्थल, एक गाउँ एक हेलिप्याड’ निर्माण गर्ने नेपाल सरकारको घोषित नीति अनुसार राष्ट्रिय योजना आयोगले सगरमाथा आन्तरिक बिमानस्थललाई राष्ट्रिय प्राथमिकता योजनामा समाबेस गरि काम अघि बढाएको थियो ।
प्राविधिक डिजाइनअनुसार विमानस्थलमा एटिआर ७२ डिजाइनको जेटस्टिम एभ्रो बिमान उडान र अवतरण गर्न राखिएको परामर्शदाता प्याक्ट कन्सलट्यान्टका इन्जिनियर डा. महेन्द्रनाथ सुबेदीले बताए । उनका अनुसार १ हजार ७५० मिटर लामो र ३० मिटर चौडाइ भएको धावन मार्ग, २ सय मिटर लामो र ६० मिटर चौडाईको एप्रोनसहितको टर्मिनल भवन, कर्मचारी भवन र ट्याक्सीवे २ वटा समेतको प्रस्ताव गरिएको छ ।
वर्षातको समयमा कुहिरो नलाग्ने तथा हिउँदको समयमा हुस्सु पनि नलाग्ने, प्राकृतिक वातावरण अत्यन्त राम्रो भएकोले प्रस्ताव गरिएको उनले बताए । सदरमुकाम गाईघाटदेखि ७ किलोमिटर टाढा रहेको उक्त क्षेत्रमा यसअघि पनि ट्वीनेटर बिमान अवतरण हुनेगरी साँढे सातसय मिटर धावनमार्गको सर्भे गरिएको थियो ।
तर, छोटो धावनमार्गको डिजाईन पहाडी क्षेत्रमा मात्र प्रयोग हुने भएकाले जोगिदहमा यसअघि गरिएको पुरानो सर्भे परिवर्तन गरि नयाँ सर्भे गरिएको विमानस्थल समितिका अध्यक्ष बिरेन्द्र बस्नेतको भनाइ छ । राजधानी काठमाडौबाट पूर्वी नेपालको जनकपुर, बिराटनगर, भद्रपुर, खोटाङ्ग, भोजपुर र सोलुखुम्बुलगायतका पहाडि जिल्लामा रहेका बिमानस्थलको हबको रुपमा विकास गर्न टच फ्लाइटको समेत अध्यायन गरिएको छ ।
तत्कालिन गृह सहायक मन्त्री नरसिंहभक्त तुलाचनले २०३१ सालमा पहिलो पटक गाईघाटमा बिमानस्थल निर्माणको शिलान्यास गरेका थिए । त्यसपछि कुनै काम हुन सकेको थिएन् । शिलान्यास गरिएको त्रियुगा नगरपालिको तत्कालिन वडानं २, ३ र ४ मा १४ विगाहा १६ कठ्ठा १६ धुर जग्गामा प्राविधिक हिसावले विमानस्थल बन्न नसक्ने प्राविधिक समितिले प्रतिवेदन पेस गरेपछि जग्गा विक्री गरी त्रियुगा नगरपालिका १० उत्तराईटोलमा ४३ विगाहा जग्गा खरीद गर्ने सहमति जुटेको थियो ।
तर, जग्गा विक्रीका लागि तत्कालिन स्थानीय विकास मन्त्रालयले रोकेपछि प्रस्तावित उत्तराईटोल खरिद गर्न नसक्दा विमानस्थलको काम अलपत्र भएको थियो । उत्तराईटोलमा नहुने भएपछि जोगिदह क्षेत्रमा सामुदायिक वन समुहले एक सय पाँच बिगाहा जमिन बिमानस्थल निर्माणका लागि निःशुल्क उपलब्ध गराउने निर्णय गरेपछि सारिएको थियो ।
प्रस्तावित विमानस्थल क्षेत्रमा ८४ प्रजातिका जंगली जनावरहरु पाइने अध्ययनमा संलग्न इन्जिनियर अभिशेक बिसीले बताए । जैविक तथा वातावरणीय हिसाबले पनि उपयुक्त रहेको उनले बताए । उनकाअनुसार बिराटनगरको क्षेत्रीय विमानस्थलभन्दा रनवे लामो भएकाले यसलाई पूर्वकै विमानस्थलकोरुपमा विकास गर्न सकिनेछ ।
पूर्व–पश्चिम धावन मार्ग भएको तथा उडान र अवतरणका बेला कुनै पहाडले छेक्न नसक्ने भू-बनोट रहेकाले आकस्मिक अवतरण गर्नसमेत उल्लेख गरिएको छ । खोटाङ्ग, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका बिमानस्थलमा मौसमी समस्या आउँदासमेत अवतरण गराउन सकिने डिजाइनमा संलग्न इन्जिनियर राजीब बरालले बताए ।





















Discussion about this post