मकवानपुर । बाराका शिशिर बिक हेटौंडामा रहेकी ठुलोममीको घरमा टीका लगाउन आएका थिए । दशैंको टिका लगाएपछि घर फर्कन हेटौंडा बसपार्क पुगे । नारायणगढबाट पथलैयातर्फ एउटा बस भेटियो, तर ठेलाठेल हुने भीड ।
बुवा सुरेश बिकले ‘दशैंमा यस्तै हो, चढौं भनेपछि शिशिर बाबुछोरा ठेमलठेल यात्रु रहेको बस चढेर मधेश प्रदेशतिर हुँईकिँदै थिए । ड्राईभर छेउकै स्थान (बर्नर)मा बसेर यात्रा गरिरहेका शिशिरका बुबा सुरेश पनि स्वयं सवारी चालक हुन् । चुरिया मन्दीरबाट तल गएपछि उनले आफू चढेको बसमा ब्रेक नै नलागेको थाहा पाए, चालकलाई बस जंगलतिर मोड्न आग्रह गरे ।
हेटौंडा अस्पतालमा उपचाररत ११ वर्षीय शिशिरले भने, ‘बुबाले जंगलमा गाडी हाल्दे, ब्रेक छैन भनिरहनु भएको थियो तर ड्राइभरले हर्न बजाउँदै अगाडि लगिरहे ।’
जब ३ नम्बर पुल नजिकको मोडमा गाडी झार्ने जस्तो भयो, चालक हाम्फाले । यात्रुले भरिएको बस चाहिँ सडकबाट झण्डै १५/२० मिटर तल नदी किनारमा बजारियो ।
बसमा सवार हेटौंडा ७ नागस्वतीकी १३ वर्षीया सोनिया श्रेष्ठका अनुसार चुरियाको ओरालो कटेपछि गाडीको गति तीव्र भएको थियो । हेटौंडा अस्पतालमा उपचाररत श्रेष्ठले भनिन्, ‘ममी, म र दिदी लास्ट सिटमा बसेका थियौं । गाडीको स्पिड बढेपछि अगाडीबाट ब्रेक फेल भयो भन्दै हल्ला हुनथाल्यो ।’
‘गाडी एकछिन एकदम स्पीड कुदेर खस्यो, त्यसपछि केही याद नै भएन । ब्यूँझँदा अर्को बसमा राखेर मलाई हस्पिटल ल्याइरहेका रहेछन् । ममी र दिदीको खबर थाहा छैन ।’
दुर्घटनामा घाइते भएका शिशिरले आफूलाई समाइरहेका बेहोस बुबा र बसको सबै यात्रु क्षतविक्षत भएको देखे, आफ्नी आमा निशा विकलाई फोन लगाए । अस्पतालमा उपचाररत शिशर भन्छन्, भने, ‘म ब्युँझँदा बेहोस बुवाले मलाई समाइरहनुभएको रहेछ ।’ केहीबेरमा उद्दार सुरु भयो । प्रहरी र स्थानीयले दुर्घटनामा घाइतेहरुलाई हेटौंडा, चुरिया र सहकारी अस्पतालमा लगिएको थियो ।
शिशिर र उनका बुबा सुरेशलाई हेटौंडा अस्पताल पुर्याइएको थियो । तर अस्पताल पुग्दा सरेशको मृत्यु भइसकेको थियो । बाबु गुमाएका शिशिर उपचाररत छन् । दुर्घटना भएको ४० सिटे बसमा ४९ जना सवार थिए, तीमध्ये १६ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।
अहिलेसम्म हेटौंडा अस्पतालमा १२ जना, चुरेहिल अस्पतालमा २ जना, मकवानपुर सहकारी अस्पतालमा २ जना र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।
घाइतेमध्ये १३ जनालाई थप उपचारका लागि चितवनका अस्पतालहरूमा रिफर गरिएको छ भने केही घाइतेको हेटौंडाकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।





















Discussion about this post