तिहार नजिकिएसँगै कुचोको माग र व्यापार बढेको छ । लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाइ टीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा व्यवसायीहरुलाई कुचो उत्पादन गर्न भ्याइनभ्याइ भएको हो ।
कुचोको माग बढेसँगै व्यवसायीहरुलाई कुचो बनाउन भ्याइनभ्याइ भएको छ । नेपालमा मात्रै नभइ भारतमा पनि कुचोको माग बढेको काठमाण्डाैको सुकेधारामा रहेकाे गोरखनाथ कुचो सप्लायर्सका सञ्चालक रामप्रसाद बलाखेले बताउनु भयो ।
उहाँले नेपालमा कुचोको काम गर्न थालेको ६ वर्ष भएको र त्यसअघि भारतमा पनि कुचो व्यवसाय गरेको बताउनु भयो । उहाँले आफूले उत्पादन गरेका कुचोहरु नेपालमा भन्दा धेरै भारतमा पठाउने गरेको बताउनु भयो ।
उहाँले यस वर्ष भने देशकै आर्थिक अवस्था कमजोर भएकाले नेपालमा कुचोको माग धेरै नरहेको बताउनु भयो । उहाँले देशको आर्थिक मन्दीका कारण यस वर्ष गत वर्षको तुलनामा आधा पनि व्यापार नहुने अवस्था रहेको बताउनु भयो ।
उहाँले अहिले बजारमा कुचोको मूल्य एक सय ५० देखि दुई सय रुपैयाँसम्म पर्ने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘१४/१५ वर्ष भयो कुचो व्यापार गर्न थालेको । नेपालमा काम गर्न थालेको ६ वर्ष लाग्यो । भारतमा धेरै सेल गर्छु । अम्रिसो पहाडका क्षेत्रतिर पाइन्छ ।
कोरोनापछि अहिले पनि राम्रोसँग व्यापार भएको छैन । आर्थिक अवस्था कमजोर भएकाले पनि होला व्यापार धेरै छैन । व्यापार राम्रो होला जस्तो छैन यस वर्षको तिहारमा । पहिला तिहारका तीन महिनाको बीचमा राम्रो व्यापार हुन्थ्यो ।
झाडु, कुचो, थुन्से, नाम्ला सबै गरेर बेच्ने गरेका छौँ । तर यसपालि त्यसको आधा पनि हुनसक्ने स्थिति छैन । बजारमा पैसा नै छैन । अहिले दुई सय छ, तर घटेर एक सय ५० सम्म आउने स्थिति छ । यस वर्षको तिहारमा पनि आर्थिक अवस्था कमजोर रहेकाले माग पनि खासै आइरहेको छैन ।’
त्यस्तै गोरखनाथ कुचो सप्लायर्सका बजार व्यवस्थापक सुदीप श्रेष्ठले भने तिहार लागेसँगै बजारमा कुचोको माग अत्याधिक बढेको बताउनु भयो । उहाँले नेपाली बजारमा तिहारका लागि काठमाण्डाै उपत्यका बाहेकका अन्य जिल्लाहरुबाट पनि माग आएको र गत सालको भन्दा धेरै माग बढेको बताउनु भयो ।
उहाँले अहिले तिहारको सिजनमा हरेक दिन दश हजार कुचो बजारमा पठाइरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘बजारमा अहिले नर्मल कुचोको मूल्य नै असी रुपैयाँदेखि दुई सय रुपैयाँसम्म छ ।
तिहारका लागि धेरै माग बढेको छ । काठमाण्डाैमा मात्रै नभइ अन्य जिल्लामा पनि धेरै माग छ । पोहोरको भन्दा धेरै माग छ । अहिले तिहारको सिजनमा हरेक दिन दश हजार कुचा पठाइरहेका छौँ ।’ तिहार नजिकिएसँगै डोको, डालो र कुचोको पूजा गर्नका लागि यो समयमा कुचो खपत अरू समयभन्दा धेरै हुने गर्छ ।





















Discussion about this post