श्रीमतीलाई प्रत्यारोपण हुनुपर्ने आमाको मिर्गौला चिकित्सकले बट्टामा राखेर सरी भन्दै हातमा थमाए

धादिङ गल्छी गाउँपालिकाकी ३२ वर्षीय महिलाको मिर्गौला बिग्रिएपछि उनकी ५८ वर्षीय सासू मिर्गौला दिन तयार भइन्।मिर्गौला प्रत्यारोपण अगाडि सासू–बुहारी दुवैको स्वास्थ्य परीक्षण भयो। परीक्षणमा मिर्गौला प्रत्यारोपणका लागि योग्य देखिएपछि कानुनी प्रक्रिया पनि पूरा भयो।

मिर्गौला प्रत्यारोपण गर्ने एक हप्ताअघि दुवैलाई वीर अस्पताल भर्ना गरियो। सबै तयारीपछि मङ्गलवार कात्तिक१ गते सासू (मिर्गौला दाता) र बुहारी (मिर्गौला लिने) लाई अस्पताल (सर्जिकल भवन) को शल्यक्रिया कक्षमा मिर्गौला प्रत्यारोपणको लागि लगियो।

मिर्गौला प्रत्यारोपणको टिममा थिए युरोसर्जन डा. अनिल श्रेष्ठ र डा. पारसमणि श्रेष्ठ। आमा र श्रीमतीलाई शल्यक्रिया कक्षमा लगेपछि मिर्गौला प्रत्यारोपण गरिनुपर्ने ३२ वर्षे महिलाका ३७ वर्षे श्रीमान् शल्यक्रिया कक्ष बाहिर बसे।मिर्गौला प्रत्यारोपण गरिनुपर्ने ३२ वर्षे महिलाका श्रीमानले भने,‘मिर्गौला लिने श्रीमती र दिने ममी हुनुहुन्थ्यो।’शल्यक्रिया कक्षमा लग्दा बिहानको करिब नौ बजेको थियो। महिलाका श्रीमानलाई आशा थियो,’आमाको मिर्गौला श्रीमतीको शरीरमा सहजै प्रत्यारोपण हुनेछ।’

ती महिलाका श्रीमानले भने,‘पाँच नम्बर (पाँच तला) मा अप्रेशन भयो। तल चार नम्बरमा ट्रान्सप्लान्ट हुनेवित्तिकै तपाईँको बिरामी ल्याउँछ भन्नु भएको थियो।’उनी सुखद सन्देश कुरेर पाँचौँ तलामा बसिरहेका थिए। शल्यक्रिया कक्षतर्फबाट करिब तीन बजेतिर बिरामीका आफन्तलाई बोलाइयो। त्यसपछि ती महिलाका श्रीमानको मन आत्तियो।

उनी शल्यक्रिया कक्ष बाहिर पुगे। त्यहाँ पुग्दा उनलाई चिकित्सकको टिमले आमाबाट झिकिएको मिर्गौलाको खराबीका कारण प्रत्यारोपण गर्न नसकेको खबर सुनाए। उनले केही सोच्नै सकेनन्।

मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सक डा. अनिल श्रेष्ठ र डा. पारसमणि श्रेष्ठमध्ये कसैले आफन्तलाई भेटेनन्। दाताबाट निकालिएको मिर्गौला अयोग्य भएको नेफ्रोलोजी विभाग प्रमुख डा. अनिल बरालले बिरामीका आफन्तलाई खबर गरेका थिए।

‘मिर्गौलाको भेन ब्लक रहेछ, अरू मसिनो नसा पनि पलाको रहेछ भनेपछि मैले केही सोच्नै सकिन’ उनले सुनाए।चिकित्सकको टिमको कुरा सुनेपछि शरीर नै लल्याकलुलुक भएको अवस्थामा ती महिलाका श्रीमानले सिटी गर्दा ब्लक भएको देखाएको थिएन भने।‘रिपोर्टमा ठिकै भएकाले नै शल्यक्रिया गरेको हो। तर दुर्भाग्यवश काटिसकेपछि यस्तो देखियो’ भन्ने जवाफ आयो।

‘समस्याबारे पहिला केही पनि बताइएन। मिर्गौला एकदम राम्रो छ भनेका थिए,’ उनले भने’दाहिनेले ५२ प्रतिशत अनि देब्रेले ४८ प्रतिशत काम गरेको छ भन्नुभएको थियो।’

सम्झौतामा थामथुम पार्ने प्रयास
अस्पताल प्रशासनले बुधवार घटनाको विषयमा अध्ययनका लागि सात सदस्यीय छानबिन समिति गठन गरेको छ। तर समितिको निष्कर्ष आउनु अगाडि नै प्रत्यारोपण गर्नुपर्ने परिवारका सदस्यलाई अस्पताल प्रशासनले थामथुम पार्ने प्रयास गरेका छन्।

बिहीबार प्रत्यारोपणका लागि अयोग्य मिर्गौला निकालेको विषयमा वीर अस्पताल र बिरामी पक्षबिच तीन बुँदे सहमति भयो। पीडित पक्षले विस्तृत छानबिनको लागि स्वास्थ्य मन्त्रालयमा निवेदन दिने र मन्त्रालयले वीर अस्पतालको छानबिन समितिको प्रतिवेदनको आधारमा कारबाही प्रक्रिया अघि बढाउने सहमति भयो।

तर, शल्यक्रियामा संलग्न टिमलाई निलम्बन समेत नगरी छानबिन अगाडि बढाइरहेको छ वीर प्रशासनले। वीर अस्पतालमा मिर्गौला प्रत्यारोपणमा लागेको उपचार खर्चको बिल भर्पाई प्राप्त भएको खण्डमा अस्पतालले अहिलेसम्मको र अब लाग्ने उपचारको पनि शोधभर्ना दिने सहमति भएको छ।

सहमतिअनुसार आगामी दिनमा वीर अस्पतालमा बिरामीको मिर्गौलासम्बन्धी सम्पूर्ण उपचार निःशुल्क गरिने सहमति भएको अस्पतालका उपसचिव सागर मिश्रले जानकारी दिए।चिकित्सकको टिमले प्रत्यारोपणको असफलतामा चुकेको स्वीकारेको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने महिलाका मामा विशंकेले जानकारी दिए। बिरामीका पक्षलाई प्रभावमा पारेर सम्झौता गरी थामथुम पारिएको देखिएको एक चिकित्सकले बताए।

छलफलमा धादिङ गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, धादिङका पूर्व सांसद भूमि त्रिपाठी लगायत बसेर अस्पतालसँग सहमति गरिएको विशंकेले जानकारी दिए।दुवैपक्षवीच भएको वार्तामा कागजी रूपमा सहमति गरी आश्वासन पाएको उनले बताए। वीर अस्पतालमा केही घण्टाको वार्तापछि सहमति भएको थियो।

मङ्गलवार मध्यरातसम्म डा. बस्नेत शल्यक्रियामा संलग्न डा. अनिल श्रेष्ठ र डा. पारसमणिलाई निलम्बन गरेर छानबिन गर्ने मुडमा थिए।तर, बिहीबारको बैठकमा डा. बस्नेतले शल्यक्रियामा सहभागी चिकित्सकको गल्ती नभएको भन्दै डा. अनिल श्रेष्ठ र डा. पारसमणिको बचाउ गरेका थिए।

यस विषयमा कुराकानीका लागि डा. बस्नेतसँग उकेराकर्मीले पटक पटक फोन सम्पर्क गर्दा भने सम्पर्क हुन सकेको छैन।प्रत्यारोपणअघि रिपोर्ट ठिक छ भनेका थिए, अव के होला!मिर्गौला फेल भएको थाहा पाएपछि ३२ वर्षे ती महिलाको नौ महिना अघि देखिनै डाइलाइसिस भइरहेको थियो।

‘नौ महिना भयो डाइलाइसिस गरेको।’ सुरुमा वीर अस्पतालमा ४-५ पटक डाइलाइसिस गर्‍यौँ। त्यसपछि अन्त ठाउँ खोज्न लगाउनुभयो,’ ती महिलाका श्रीमानले भने।अन्त ठाउँ खोज्दै जाँदा वनस्थलीको एक स्वास्थ्य संस्थामा करिब आठ महिना डाइलाइसिस गरेको उनले सुनाए। त्यसपछि असारको तेस्रो सातापछि मिर्गौला प्रत्यारोपणको लागि प्रक्रिया अगाडि बढाएको ती महिलाका श्रीमानले जानकारी दिए।

दसैँअघि श्रीमतीको मिर्गौला प्रत्यारोपणका लागि स्वास्थ्य परीक्षण लगायतको प्रक्रिया सकियो। असोज दोस्रो हप्ता वीर अस्पतालबाट डा. अनिल बरालले कात्तिक एक गते प्रत्यारोपण गर्ने मिति दिँदै फोन गरेको मिर्गौला प्रत्यारोपण गर्ने महिलाका श्रीमानले सुनाए।

परिवारले पनि प्रत्यारोपणका लागि नाता प्रमाणित लगायत आवश्यक सबै कागजात तयारी गरे। उनीहरूले अस्पतालमा फलो अप गरे।त्यसपछि चिकित्सकको सल्लाह बमोजिम नै असोज २६ गते मङ्गलवार मिर्गौला दिने सासू र लिने बुहारी दुवैलाई वीर अस्पताल भर्ना गरियो।

मिर्गौला प्रत्यारोपणका लागि मिर्गौला दिन सासू र बुहारी दुवैका मिर्गौला प्रत्यारोपणका लागि रिपोर्ट ठिक भएको चिकित्सकले जानकारी दिए।मिर्गौला प्रत्यारोपण गर्नुपर्ने ती महिलाका श्रीमानका अनुसार करिब दुई महिनाअघि त्रिवि शिक्षण अस्पतालमा सिटी स्क्यान गराएका थिए।

त्यही पनि एक पटक सिटी गरौँ न भनेर चिकित्सकको टिमले मिर्गौला प्रत्यारोपण गर्ने मितिभन्दा केही दिन अघि मिर्गौला दाताको सिटी स्क्यान गरे।मिर्गौला प्रत्यारोपण गर्नुपर्ने महिलाका श्रीमानले भने,‘ट्रान्सफर भन्दा दुई दिन अघि सिटी गर्नुभयो। ठिक छ भन्नुभयो।’आमाको मिर्गौला झिकियो। तर त्यो श्रीमतीकोमा प्रत्यारोपण भएन। अव कसको मिर्गौला प्रत्यारोपण गर्ने तनावमा देखिए उनी।

प्रत्यारोपणकाक्रममा जटिलता आउन सक्छ। तर के समस्या आएको हो भनेर चिकित्सक टिमले प्रस्ट भनेको भए उनीहरूको मन मान्न सक्थ्यो। तर शल्यक्रियाका लागि गएदेखि नै उल्टो चिकित्सक गायब भएर बस्दा भने प्राविधिक कारणले प्रत्यारोपण असफल भएको मान्न सकेको देखिएन परिवारका सदस्यले।

पहिले बुहारी अस्पतालमा थिइन्। अहिले सासू अनि बुहारी दुवै वीर अस्पतालमा नै उपचाररत छन्। पीडितका परिवार उपचारको प्रारम्भदेखिकै रिपोर्टको अध्ययन गरेर कहाँ त्रुटि भएको हो जानकारी दिनुपर्ने बताइरहेको छ।सबै परीक्षणमा प्रत्यारोपणका लागि योग्य भनिएको मिर्गौला झिके पछि एकाएक कसरी अयोग्य भयो अनुसन्धान हुनुपर्ने उनीहरूको माग छ।

‘हेलचेक्राई हो की जस्तो लाग्छ। बेलुका पनि घाँटीमा एकापट्टि ३-४ ठाउँमा छेडे। पछि मुख्य डाक्टर आएर बनाए’ ती महिलाका श्रीमानले भने’ साँच्चिकै प्रत्यारोपणमा समस्या आएको हो या लापरबाही भएको हो त्यो पत्ता नलगाएसम्म कसरी मान्नु।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित