लमजुङ कारागारमा विभिन्न मुद्दा अन्तर्गत कैद भुक्तान गरिरहेका तथा पुर्पक्षका लागि थुनामा रहेका कैदीबन्दीले कारागारभित्रै तिहार मनाएका छन् । आफ्ना दिदीवहिनीलाई भाइटीका लगाएका छन् ।
कारागारभित्रै मिठोमसिना खाएर तिहार मनाएका छन् । भाइटीकाको दिन बिहीबार पुरुष कैदीबन्दीले आफ्ना दिदीबहिनीको हातबाट सप्तरंगी टीका लगाएका छन् । दिदीबहिनीले दाजुभाइलाई उपहार दिएका छन् ।
दिदीबहिनीलाई दाजुभाइले दक्षिणा पनि दिएका छन् । टीका थाप्ने र लगाउने क्रममा कतिपय कैदीबन्दी र दिदीबहिनी भावुक भएर रोएका थिए । बिहानको साइत ११ बजेर ३७ मिनेटको समयदेखि कार्यालय समय साँझ ५ बजेसम्म कारागारमा टीका थाप्ने र लगाउनेको व्यवस्थापन कारागार प्रशासनले गरेको थियो ।
अधिकांशले टीका लगाए पनि दिदीबहिनी नआउँदा र नहुँदा कतिपयले टीका लगाउन नपाएको कारागारका प्रमुख जेलर ताराबहादुर तामाङले बताए । उहाँका अनुसार अधिकांश पुरुष कैदीबन्दीले दिदीबहिनीको हातबाट सप्तरंगी टीका लगाएका छन् ।
कतिपयका टीका लगाउने दिदीबहिनी नआएको उनले बताए । महिला कैदीबन्दीका आफन्तहरु भेटघाटका लागि आए पनि दाजुभाइ नआउँदा केहीको हात खाली भएको जेलर तामाङले बताए ।
३५ जना क्षमताको लमजुङ कारागारमा १ सय ४ जना कैदीबन्दी छन् । महिला कैदीबन्दी ५ जना छन् । कैदीबन्दीलाई मुल गेटबाहिर ल्याएर दिदीबिहनीसँग भेटघाटको अवसर दिएको र टीका लगाउने व्यवस्था मिलाएको कारागार प्रमुख तामाङले बताए ।
कारागार कार्यालयको सुरक्षार्थ खटिएको नेपाली सेना र नेपाल प्रहरीले कैदीबन्दीका लागि टीका लगाउने कार्यको व्यवस्थापन मिलाएको थियो । टाढाबाट दिदीबहिनीहरु आएकाले उनीहरुका लागि साँझ ५ बजेसम्म टीका लगाउने व्यवस्था मिलाएको जेलर तामाङले बताए ।





















Discussion about this post