कागजले टुटाउन नसकेको सम्बन्ध: सम्बन्ध विच्छेद गरेका गएका पतिको काजकिरिया गरिन् श्रीमतीले

झापाको मेचीनगर नगरपालिका–७ की सीता खड्काले सम्बन्ध विच्छेद गरेका पतिको मृत्यु संस्कार (काजकिरिया) गरेर पति–पत्नीको सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश दिएकी छन् ।

उनका पति भानुभक्त बस्नेतको ४८ वर्षको अल्पायुमै वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्सको दुबईमा गत असोज ८ गते मृत्यु भएको थियो । गत असोज २९ गते बस्नेतको शव मेचीनगर–१४ दुहागढीस्थित साहिँला भाइको घरमा आइपुगेको थियो । सोही दिन कनकाई आर्यघाटमा उनको दाहसंस्कार भएको थियो ।

पूर्वपतिलाई अन्तिम श्रद्धाञ्जली दिन सात वर्षीय छोरा प्रतिश बस्नेत र १६ वर्षीया छोरी जेनिशा बस्नेतलाई साथमा लिएर खड्का आर्यघाटमा गए । त्यसपछि उनी छोराछोरीसँगै मेचीनगर–७ इट्टाँभट्टास्थित आफ्नै निवासमा १३ दिने काजकिरिया बारेर बसिन् ।

दुई दिनअघि १३ दिने काजकिरिया पूरा गरेकी खड्काले कागजी सम्बन्ध विच्छेदले पतिप्रतिको माया र श्रद्धा कहिल्यै नघटेको बताइन् । उनले आफू सम्बन्ध विच्छेदको पक्षमा कहिल्यै नरहेको तर पतिकै जोडबलमा सम्बन्ध विच्छेदको कागजमा सहीछाप गरिदिएको जानकारी दिइन् ।

एक वर्षअघि सम्बन्ध विच्छेद गरेपश्चात बस्नेतले दोस्रो विवाह गरे पनि दोस्री पत्नीले केही महिनामै छाडेर हिँडेकी थिइन् । ‘मदिराको कुलतमा लागेर उहाँले मलाई कुटपिट गर्नुहुन्थ्यो, तै पनि म कहिल्यै सम्बन्ध विच्छेदको पक्षमा थिइनँ,’

खड्काले भनिन्, ‘कान्छीले पनि केही महिनामै छाडेर हिँडेपछि उहाँ मेरो माइती घरमा बारम्बार आइरहनुहुन्थ्यो । मैले उहाँलाई सुध्रिएर आउनुहोस्, सँगै बसौँला भन्ने गरेको थिएँ ।’

यसैबीच वैदेशिक रोजगारीका लागि बस्नेत दुबई गए । असोज ८ गते उनले आत्महत्या गरेको दुःखद खबर आएको थियो । पूर्वपति बस्नेतको मृत्यु भएपछि खड्काले आफूले पालनपोषण गर्दै आएका छोराछोरीसँगै साइला देवरको घरमा बसेर काजकिरिया बार्ने सोच बनाए पनि देवर, देउरानी र नन्दहरूले दिएनन् ।

‘झगडा हुने भएपछि आफन्तहरूको सल्लाह बमोजिम म, छोरा र छोरीले अलग्गै किरिया बार्ने काम गर्‍यौँ, साइला देवरले अलग्गै बार्नुभयो,’ खड्काले भनिन्, ‘ऐले डिभोर्स दे, भरे डिभोर्स दे भनेर हैरान पारेपछि मैले दिक्क भएर उहाँ (पूर्वपति)ले ल्याएको कागजमा सहीछाप गरेकी हुँ । मेरो मनभित्र श्रीमानप्रति पहिले जत्तिकै आस्था, श्रद्धा र माया थियो ।’

उनीहरूको छोरा प्रतिश कक्षा २ मा र छोरी जेनिशा कक्षा १० मा पढिरहेका छन् । सम्बन्ध विच्छेदपश्चात छोराछोरीको लालनपालन खड्का (आमा)ले नै गरिरहेकी छिन् । पूर्वपतिको १३ दिने काजकिरिया हिन्दू धार्मिक विधि र परम्परा बमोजिम गरेकी खड्कालाई आफन्त र छरछिमेकीले धन्यवाद दिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित