मार्सी धानमा रोग लागेपछि आगो लगाएर नष्ट गर्दै किसान

पाकेको मार्सी धानमा ब्लास्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका ४ गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन् । ब्लास्ट रोगको सङ्क्रमणले धान सखाप भएपछि आगो लगाउनेबाहेक अरू विकल्प नभएको किसान दीपक खत्रीले बताउनुभयो ।

धान भित्र्याउन खेतमा पुगेका गौतमवाडाका किसानले धानको बाला नै नलागेपछि परालमा आगो लगाउनुपरेको बताए । गएको वर्ष १५ देखि १६ बोरा धान उत्पादन हुन्थ्यो । ब्लास्ट रोगले धानको बालामा क्षति गरेको छ ।

उन्नत जातको धान रोप्दा चार बोरामात्रै उत्पादन भयो । बाँकी सबै मार्सी धान सखाप भएपछि आगो लगाउन बाध्य भएको स्थानीयवासी खगेन्द्र खत्रीले जानकारी दिनुभयो ।

धानबाली सखाप भएपछि परिवारको जीविकोपार्जन गर्न कठिन भएको त्यहाँका किसानको गुनासो थियो । मार्सी धानले बाह्रै महिना खान पुग्ने भएकाले चामल किन्न बजार जानुपरेको थिएन ।

अब पहिलो पटक बजार गएर सेतो चामलको भात खानुपर्ने दिन पनि आयो । जेठको पहिलो साता खेतमा मार्सी धानको रोपाइँ भएको थियो । धान उत्पादन नहुँदा यस गाउँका ६० घरधुरीलाई यो वर्ष खाद्यान्न अभाव हुने देखिएको गौतमवाडावासीले बताए ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले गौतमवाडाका किसानको निवेदन प्राप्त भएको र पीडित किसानको राहतका लागि पालिकाले पहल गर्ने बताउनुभयो । धानमा रोग फैलिएको सूचना पाएपछि कृषि प्राविधिकसहित जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीसमेत किसानको खेतमा पुग्नुभएको थियो ।

किसानलाई विषादी छर्न अनुरोध गरिए पनि विषादीले कामै नगरेको उहाँको भनाइ थियो । मार्सी धानमा ब्लास्ट रोगको सङ्क्रमण भएको छ । उन्नत जातको यस धानमा यो रोगको खासै समस्या छैन तर मार्सी धानले किरा खप्न नसक्दा बढी क्षति हुने गरेको छ ।

‘धानको नमुना ल्याएर कृषि अनुसन्धान केन्द्रमा पठाएका थियौँ, केन्द्रले त्यसको विवरण कृषि अनुसन्धान परिषदमा पठायो, कृषि वैज्ञानिकको परामर्शमा प्राविधिक पठाएर चुना र निलोथुतो छर्न लगायौँ तर धानमा लागेको रोग नियन्त्रणमा आएन’, कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।

जुम्लामा दुई हजार नौ सय हेक्टरमा धानखेती हुँदै आएकोमा एक हजार हेक्टरमा मार्सी धानको खेती गरिँदै आएको उहाँले जानकारी दिनुभयो । यो वर्ष जिल्लाको धान उत्पादनको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित