धानका बालामा चामलभन्दा भुस धेरै

मलेखु । यतिबेला सबैतिर धान काट्ने चटारो छ । पाकेको धान भित्र्याउने र अर्को बाली लगाउनका लागि माटो तयार गर्न किसानलाई भ्याइनभ्याइ छ । तर, धान काट्ने बेला धादिङ नीलकण्ठ नगरपालिकाका किसान भने चिन्तामा छन् ।

धानको बालामा भुस मात्रै फलेपछि धादिङ नीलकण्ठका किसान चिन्तित बनेका हुन् । झट्ट हेर्दा झपक्कै धान फलेको जस्तो देखिए पनि बालामा चामल नफलेको किसानहरुको भनाइ छ ।

नीलकण्ठ नगरपालिका-७ को हाँडीखोला आसपासका करिब ६५ रोपनी पाखा खेतमा लगाएको धान बिग्रिएको स्थानीय किसान विष्णुलाल श्रेष्ठले बताए ।

नीलकण्ठ नगरपालिका कृषि शाखाबाट अनुदानमा लिएको सावित्री र सुख्खा-२ जातको धानमा चामलको खाना नलागेको हो । अहिले धान झुल्ने बेला आधाभन्दा धेरै बालामा चामल नफलेपछि किसानलाई खाद्यान्न सङ्कट पर्ने चिन्ताले सताउन थालेको छ ।

“फूल खेल्ने बेलासम्म बोट राम्रै थियो, धान राम्रो फल्नेमा ढुक्क थियौंँ,” श्रेष्ठले भने, “तर, अब वर्षभरी खान पनि नपाइएलाकी भन्ने डर भयो ।”

धान उत्पादन कम हुने भएपछि किसानहरुले क्षतिपूर्ति अथवा राहतको अपेक्षा गरेका छन् । ६ महिना दुःख गरेर लगाएको धानमा चामलको साटो भुस फल्दा परिवार धान्न गाह्रो पर्ने चिन्ता किसानलाई छ । बालामा चामल नफलेकोबारे धान झुल्ने बेला मात्रै थाहा पाएको किसानको भनाइ छ ।

२० प्रतिशत पनि उत्पादन लिन नपाउने अवस्था सिर्जना भएको किसान इन्द्रबहादुर श्रेष्ठले बताए । कृषि प्राविधिकहरुले भने प्राविधिक कमजोरीकै कारण धानमा रोग लागेको बताएका छन् ।

धान पाक्ने बेला मात्रै रोग देखिएकोले उपचारसमेत सम्भव नभएको कृषि प्राविधिकको भनाइ छ । यो रोगबाट बाली बचाउन सुरुदेखि नै माटोको उपचार गर्नुपर्ने नीलकण्ठ नगरपालिकाका कृषि शाखा अधिकृत समुद्र श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित