पिठ्यूँमै बोकेर पाथीभरा, प्रतिकिलो २०० रुपैयाँ तिर्दै तीर्थयात्री

ताप्लेजुङ । पूर्वी नेपालको ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने यात्रु हिँड्न नसके मान्छेले बोकेर मन्दिर पुर्‍याउँछन् । यहाँ हिँड्न नसक्ने यात्रुलाई मान्छेले बोक्नुको विकल्प छैन ।

मान्छेलाई बोकाएबापत आफ्नै शरीरको तौल अनुसार रकम तिर्नुपर्छ । त्यसका लागि प्रतिकिलो दुई सय रुपैयाँ दर निर्धारण गरिएको छ । निधार भरी पसिना बगाएर एकपछि अर्का सहकर्मी डढाल्नुमा मान्छे बोकेर उकाली ओराली गरिरहेका थिए ।

पाथीभरा क्षेत्र विकास समितिले मान्छे बोक्ने प्रयोजन कालागि दिएको स्वयंसेवकको परिचय पत्र लगाएका पाशाङ शेर्पाभने हिँड्न नसक्नेको प्रतीक्षामा चौतारीमा बसेर गफिँदै छन् ।

तीन हजार ७ सय ९४ मिटर उचाइको पाथीभरा मन्दिर पुग्न गाडीबाट ओर्लिएर पाँच किलोमिटर पैदल हिँड्नुपर्छ । उकालोबाटो हिँड्नुपर्ने भएकाले वृद्ध, वृद्धा र बालबालिकाको असहज हुन सक्छ ।

कतिपयलाई लेक लाग्ने जोखिम पनि हुन्छ । त्यसलाई सहजीकरण गर्नका लागि काफ्ले पार्टीदेखि मन्दिरसम्म मान्छे बोक्नेहरु भेटिन्छन् । किलोका आधारमा एकतर्फी भए एक सय र दुईतर्फी भए दुई सय रुपैयाँ लिने उनीहरूले बाटो नघुमाई सुरक्षित गन्तव्यमा पुर्‍याउनु पर्ने आचारसंहिता छ ।

कम तौलका भए एक जनाले पुर्‍याउने र फर्काउने गरेका छन् । बढी तौल भएकाको हकमा समूह बनाएर पालैपालो बोक्छन् । यसकालागि पाथीभरा क्षेत्र विकास समितिमा आफ्नो दर्ता गर्नुपर्छ । दर्ता गर्नेको संख्या पाँच सय बढी छ र उनीहरू परिचय पत्र भिरेर तलमाथि गरिरहन्छन् ।

कोही अशक्त भए ‘बोकुँ’ भनेर सोधी पनि हाल्छन् । यस्बाट बोकिनेहरू पनि सन्तुष्ट छन् भने नियामक निकायसँग पनि कुनै गुनासो छैन । उच्च हिमाली क्षेत्र र सिधा बाटो भएकाले घोडा लगायतका विकल्प सम्भव छैन ।

बोक्ने नहुँदा तीर्थयात्री हिँड्न नसके बाटैबाट फर्कनुको विकल्प थिएन । अहिले भने खल्तीमा रकम भए बाटोबाट फर्कनु पर्ने बाध्यता छैन । तौलका आधारमा रेट निर्धारण गरिए पनि रकम कम भए आपसी समझदारीमा स्वयंसेवकले मन्दिर पुर्‍याएर फर्काउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित