काठमाडाैं । राप्रपाले समानुपातिक सांसदका लागि सिफारिस पठाएसँगै चर्चामा आएकी छिन्- बिना लामा । उनको सिफारिसलाई लिएर राप्रपाका आलोचकहरुले सामाजिक सञ्जालमा विभिन्न प्रश्नहरु उठाइरहेका छन् ।
लामाको नाम विवादमा पर्नुको कारण हो, उनले मान्ने धर्म र रोजेको पार्टीबीच ‘विरोधाभाष’ । उनी क्रिस्चियन धर्माबलम्बी हुन् । हिन्दू राष्ट्रको वकालत गरिरहेको पार्टीले क्रिस्चियन धर्म मान्ने व्यक्तिलाई किन संसदमा पठायो भन्ने प्रश्न एकथरीले गरिरहेका छन् ।
अर्को कोणबाट क्रिस्चियन धर्म मान्ने व्यक्ति किन हिन्दूवादी पार्टीमा लागिन् भन्ने पनि प्रश्न उठेको छ । स्मरणीय के छ भने लामा यसअघि रुबीभ्याली गाउँपालिकाको निर्वाचित उपाध्यक्ष थिइन् ।
अझै बढी स्मरणीय यो छ कि उनले आफू क्रिस्चियन भए पनि नेपाल हिन्दू राष्ट्र हुनुपर्ने वकालत गर्दै आएकी छन् । आफूलाई धार्मिक स्वतन्त्रताको पक्षधर बताउने उनी स्पष्ट शब्दमा भन्छिन्, ‘नेपालको अन्तर्राष्ट्रिय पहिचानका निम्ति हिन्दू राष्ट्र पुनर्स्थापित गर्नुपर्छ ।’
धर्मका विषयमा उनको थप व्याख्या यस्तो छः
‘धर्मनिरपेक्षता भनेको के हो र सापेक्षता भनेको के हो भन्ने बुझ्नुपर्छ । निरपेक्ष भनेको त धर्म नै नमान्नु हो नि त । मलाई मेरो धर्मले अरुको विरोध गर, हेपेर बोल, अरुको मानहानी गर भनेर सिकाएको छैन । सबै धर्मलाई आदर गर भनेको छ । म क्याथोलिक हो तर मलाई यदि हिन्दू केटा मन पर्यो र भोलि विहे गर्नुपर्यो भने मैले सिन्दुर लगाउनुपर्ने हुन्छ ।
हामीले एक–अर्काको कल्चरलाई स्वीकार गर्नैपर्छ । यदि मेरो छोरीले मामु म अब क्रिस्चियन बन्दिनँ, मलाई हिन्दू धर्म ठीक लाग्यो भनिन् भने मलाई कुनै आपत्तिको विषय हुँदैन । सि क्यान गो । उनलाई फ्रिडम छ । मेरो हजबेन्डलाई पनि म जबरजस्ती गर्दिनँ ।
धर्मले हामीलाई अनुशासन सिकाउँछ । म त सबै धर्मलाई बराबर नै ठान्छु । जुनसुकै धर्मले पनि राम्रा कुराहरु सिकाउँछन् । हिन्दूमा पनि कसैले शिवलाई धेरै मान्छन्, कसैले कृष्णलाई । सबैको आआफ्नो आस्था हो । त्यसैले मेरो धर्मसँग कोही पनि डराउनुपर्दैन । बिना लामा संसदमा पुग्नेबित्तिकै क्रिस्चियानिटी फैलाउँछे जसरी अनावश्यक रोइलो नगर्न म अनुरोध गर्छु ।





















Discussion about this post