पूर्व मिस नेपाल उषा खड्गी अहिले ठूलो चिन्तामा छिन्, छोराछोरीको मानसिक अवस्थालाई लिएर। गत जेठ २६ गते भक्तपुर जिल्ला अदालतबाट पारपाचुके गरेकी उषा अहिले अनौठो दृश्यको साक्षी बनिरहेकी छन्।
उनी बसिरहेकै घरमा उनका पूर्वपति जीपीले अर्की श्रीमती भित्र्याएका छन्। दिनहुँ जीपीकी कान्छी पत्नीसँग उषाको जम्काभेट हुन्छ। उषा आफ्नो तनाव व्यवस्थापन गर्न सक्छिन्। तर उनका छोराछोरी यो सबै कुरालाई सामान्य रुपमा बुझ्ने भइसकेका छैनन्।
उनीहरुलाई कस्तो मानसिक असर पर्ला सोच्दासोच्दै उषा तनावमा पुग्छिन्। जीपीको बिहेको खबरले सबैभन्दा विक्षिप्त उनकी १७ वर्षकी छोरी बनेकी थिइन्। आफ्नो बुबाको बिहेको खबर आमालाई सुनाउँदै उनकी छोरीले भनेकी थिइन्, ‘मामु, आज ड्याडीको बिहे रे, यही घरमा भित्र्याउने रे। हजुर यहाँ नबस्नुस्।’ यो गत मंसिर १९ गते बिहानको कुरा थियो।
त्यसपछि उषा आफ्ना दुई छोराछोरी लिएर दुई दिन माइतीमा चुपचाप बसिन्। दुई दिन उनको दिमागमा बारम्बार एउटै कुरा खेलिरह्यो, ‘छोराछोरीको मानसिकतामा कस्तो असर पर्ला? एउटै घरमा हामी कसरी बस्नु?’
अप्ठेरोको बाबजुद उषालाई त्यही घरमा फर्किनुपर्ने बाध्यता थियो। बाटोमै भेटिएका बाबुसँग छोरीले दुखेसो पोखिन्, बाबु कुनै जवाफ नदिई हिँडे। उषासँग पनि छोरीलाई दिने जवाफ थिएन।
भक्तपुर जिल्ला अदालतले जेठ २६ मै सम्बन्धविच्छेद र अंश मुद्दाको फैसला गरेको हो। सम्बन्धविच्छेद कार्यान्वयन भएर जीपीले अर्को विवाह गर्न भ्याए।अंश मुद्दाको किनारा भने लाग्न सकेको छैन।
अंश मुद्दा किनारा नलागेकै कारण उषा जीपी बसेकै घरको तल्लो फ्ल्याटमा बस्दै आएकी छिन्। भक्तपुर जिल्ला अदालतले गरेको सम्पत्ति बाँडफाँटको फैसला चित्त नबुझेपछि जीपीले उच्च अदालतमा पुनरावेदन दिएका छन्। जीपीले पुनरावेदन गरेको यो मुद्दाको किनारा भने लागेको छैन।
अंश मुद्दाको फैसला नहुँदै आफू रहेकै घरमा जीपीले अर्की श्रीतमी भित्र्याएपछि उषाले आफूमाथि अन्याय भएको महशुस गरेकी छिन्। उनी भन्छिन्, ‘पूर्वपतिबाट मैले एक पैसा पनि अंश पाएकी छैन। म अन्यायमा परेँ। मलाई दोस्रो विवाहमा आपत्ति छैन तर अंशबण्डा हुनुनुपर्छ।’
सम्बन्धविच्छेदको मुद्दा किनारा लागिसकेको अवस्थामा अर्को विवाह गर्न पाउने कानुनी व्यवस्था छ। कुनै पनि महिलाले अंशसहितको सम्बन्धविच्छेद मुद्दा दायर गरेकोमा अंश प्राप्त हुनेगरी सम्बन्धविच्छेद हुने फैसला भई अंशका हकमा मात्र चित्त नबुझी पुरुषले
पुनरावेदन गरेको र महिलाले सुरु अदालतको फैसला चित्त बुझाइ बसेको अवस्थामा दुवैले सम्बन्धविच्छेदलाई स्वीकारेको देखिन्छ। यस अवस्थामा पतिपत्नीको सम्बन्धविच्छेद भएको मानिन्छ।
यस सम्बन्धमा मुलुकी देवानी संहिता, २०७४ को पारिवारिक कानुनको विवाह सम्बन्धी व्यवस्थाको दफा ८२ (ख) ले ‘कानुन बमोजिम पतिपत्नीको सम्बन्ध विच्छेद भएमा’ वैवाहिक सम्बन्ध अन्त्य भएको मानिने उल्लेख छ।
यसरी वैवाहिक सम्बन्ध अन्त्य भइसकेपछि दफा ८३ (क) ले ‘दफा ८२ बमोजिम पति पत्नीबीच वैवाहिक सम्बन्ध अन्त्य भएमा’ पुरुष वा महिलाले पुनः विवाह गर्नसक्ने व्यवस्था गरेको छ। यसरी हेर्दा जीपीको पुनः विवाह कानुनी देखिन्छ। तर व्यवहारिक रुपमा भने आफूमाथि अन्याय भएको उषाको गुनासो छ।





















Discussion about this post