पाेखरामा सोमबार अभिनेता विवेकले सराङकोटबाट प्याराग्लाइडिङ गरे । स्काइलाइन प्याराग्लाइडिङका भुवन गाहा मगरको टोलीले उनीसहित परिवारका १० जनालाई प्याराग्लाइडिङमा उडाएका थिए । बाबु सुरेश ओबराय भने पोखराको मझेरीपाटनमा रहेको हिमालय गल्फ कोर्स पुगे ।

‘साहसिक पर्यटनको लागि पोखरा अभूतपूर्व छ,’ उनले भने, ‘पोखरा मलाई आफ्नै घरजस्तो लाग्यो ।’ नेपालीको आतिथ्यताले आफ्नो घरभन्दा पर नरहेको महसूस गरेको उनले सुनाए । उनले यहाँको खानाको समेत प्रशंसा गरे ।
ओबरायका ७ वर्षीय भान्जा, बहिनी, ज्वाइँ, छोराहरू र ६० वर्षीया आमाले प्याराग्लाइडिङको मज्जा लिए । सराङकोटबाट फेवा ताल किनारमा ओर्लिएपछि उनले आफ्नै घर वरपर उडेजस्तै लागेको प्रतिक्रिया दिएका थिए ।
भारत र नेपालबीच शताब्दियौंदेखि ‘रोटी र बेटी’को सम्बन्ध रहेको भारतीय उखान स्मरण गर्दै उनले दुई देशबीचको सम्बन्धबारे चर्चा गरेका थिए । ‘भारतीय पर्यटकको रुपमा म विश्वभर घुमेको छु ।
हाम्रो सांस्कृतिक सम्बन्ध, नेपालीहरूसँग सयौं वर्षदेखिको माया र विश्वासले पनि हामीलाई सहज भयो,’ उनले भने, ‘हामी ११ जना यहाँ आएका छौं, साँच्चै रमाइलो समय बिताइरहेका छौं । यो आतिथ्यताका लागि नेपालीहरूलाई धन्यवाद व्यक्त गर्छु ।’
स्काइलाइन प्याराग्लाइडिङका सञ्चालक भुवन गाहा मगरसँग उनले प्याराग्लाइडिङमा एकल उडान भर्ने गरी तालिम लिन भविष्यमा पोखरा आउने इच्छा व्यक्त गरेका थिए । ‘उहाँले पछि फेरि फुर्सद मिलाएर प्याराग्लाइडिङको सोलो उडान सिक्न आउँछु भन्नुभएको छ,’ उनले भने, ‘तर अन्तर्राष्ट्रिय विमानस्थलकै कारण प्याराग्लाइडिङ यहाँबाट विस्थापित हुने चिन्ता छ ।’
ओबरायको परिवार आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवलोकनमा पुगेको थियो । त्यहाँ उनले जुम्लाको मौलिक मार्सी चामलको भात र मुस्ताङी कालो सिमीको दालले आफ्नो मन लोभ्याएको बताएका थिए ।
शुक्रबार उनीहरुले हाइग्राउन्ड एड्भेन्चरको निम्तोमा हेमजामा जिपलाइन र जायन्ट स्विङमा रमाए । शनिबार हट एअर बेलुनमा उडे । आइतबार अल्ट्रालाइटबाट पोखराको आकाश परिक्रमा गरेका थिए ।
हेलिकप्टरमा घोरेपानी–पुनहील र मुक्तिनाथ पुग्ने योजना भने मौसम खराबीका कारण सफल हुन नसकेको बताइएको छ । मंगलबार मौसम अनुकुल भए मुक्तिनाथ पुग्ने ओबरायको योजना छ ।





















Discussion about this post