जुत्ता सिलाउदै क्याम्पस पढ्छिन् गुल्मीकी सम्झना, भन्छिन्, ‘कुनै काम सानो हुन्न’

त्यस्तै १७/१८ वर्ष उमेर समुहको देखिने एउटी किशोरी गुल्मीको सदरमुकाम तम्घासको व्यस्त बजार भिमचोकको सडक छेउको पसलमा छालाको जुत्ता सिलाउनमा व्यस्त देखिन्छिन्। पहाडी भेगमा नेपाली समुदायका मानिसहरुले छालाको जुत्ता सिलाउने पेशालाई परम्परागत अर्थात जातिगत पेशाका रुपमा लिने गर्दछन्।

पाहडी भेगको हाटबजार बाहेक गाउँमा उक्त पेशा लोप भईरहेको छ र त्यस समुदायका पुरुषहरु अन्य विभिन्न पेशामा पलायन भईरहेका बेला उनी भने छालाको जुत्ता सिलाउने पेशा अंगालेको देख्दा मानिसको सोचमा परिवर्तन आएको अनुभूत गर्न सकिन्छ । उनि हुन सम्झना नेपाली। जसले सदरमुकाम तम्घासमा उच्च शिक्षासँगै छालाका जुत्ता सिलाउने पेशालाई अगाडि बढाउँदैछिन्।

उनका बाबु चन्द्रबहादुर नेपाली गाउँमा जुत्ता सिलाउने पेशा लोप हुँदै गएपछि गुल्मीकै इस्मा गाउँपालिका-२, हस्तिचौरबाट आज भन्दा १३ वर्ष अघि तम्घासमा आई जुत्ता सिलाउने पेशालाई निरन्तरता दिन सुरु गरेका थिए। उनले जुत्ता सिलाएरै छोरा-छोरी पढाउनेदेखि तम्घासमा दुई तल्ले पक्की घर पनि बनाई सके।

छोरी सम्झना पनि बाबु संगै १२/१३ वर्षको उमेरदेखि जुत्ता सिलाउन सिकिन्। तम्घासकै शिद्धबाबा माध्यमिक विद्यालयमा पढ्दै खाली समयमा जुत्ता सिलाउने सम्झना अहिले दक्ष भई सकेकी छन्। त्यस विद्यालयमा कक्षा १२ को पढाई सकाएकी उनी अब ब्याचलर पढ्ने तयारीमा रहेको बताउँछिन्।

चाहेमा आफूले भोलिका दिनमा एक्लै पनि जुत्ता पसल राख्न सक्ने उनले सुनाईन। आफ्नो समुदायका अधिकांश मानिसहरु उक्त पेशाबाट पलायन भई रहेको बेला एउटी छोरी मान्छेले जुत्ता सिलाउन लागेको देख्दा त्यही समुदायका पुरुषहरु सोही पेशामा फर्किन उनले प्रेरणा दिएको पाईन्छ। कुनै पनि काम गरेर खान लजाउन नहुने बताउँदै जुत्ता सिलाउने पेशा र उच्च शिक्षा अध्ययनलाई सँगै अगाडी बढाउने उनको सोच छ।

त्यसो त सम्झनाले झै तम्घासमा उनकी आमा सहितका अन्य महिलाहरुले पनि जुत्ता सिलाउने गरेका छन्। त्यस्तै तम्घासका केहि पसलहरुमा महिलाहरुले कपाल काट्ने पेशा समेत गर्दै आएका छन्। हुन त पछिल्लो समय मानिसमा शिक्षा र चेतना वृद्धिसँगै पेशा कुनै पनि जातिगत न लैङ्गिक हुन छाडेको छ। यो निकै सकारात्मक विकास हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित