एउटै गाउँबाट एक करोडको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै गाउँबाट रु एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । वालिङ नगरपालिका वडा नं ४ सुन्तलाबारीबाट यसवर्षमात्रै रु एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको हो ।

सुन्तलाबारी गाउँका २२ घरधुरीले सुन्तलाको ठेक्का तथा खुद्रा बिक्रीबाट राम्रो आम्दानी गर्न सफल भएको सुन्तलाबारी सामुदायिक ‘होमस्टे’ अन्तर्गत सुन्तला बगैँचा व्यवस्थापन समितिका अध्यक्ष खेमराज गुरुङले बताए ।

“अहिले ठूला बगैँचाको सुन्तला ठेक्कामार्फत् एक करोडको बिक्री भइसकेको छ”, उनले भने, “अब साना बगैँचाका करिब रु सात लाख बराबरका सुन्तला बिक्री हुन बाँकी छ ।”

यहाँ उत्पादन भएका सुन्तला पोखरा, बुटवल, मुग्लिनलगायतका ठाउँबाट ठेकेदार आइ बोट वा बगैँचा नै खरिद गर्छन् । तौल गरी बेच्दा प्रतिकेजी रु ६ देखि ७० मात्रै पर्ने भएकाले किसानले बोट नै ठेक्का दिने गरेका छन् ।

“गतवर्ष कति मूल्य थियो र अहिले कस्तो फलेको छ भन्ने आधारमा मूल्याङ्कन गर्छौ”, उनले भने “अन्दाजी ४०/५० हजार फाइदा हुने गरी ठेक्का दिइने भएकाले बजार खोज्नुपर्दैन, ढुवानी तथा टिप्नका लागि कामदार पनि चाहिन्न ।”

गाउँमा रहेका २२ घरले न्यूनतम एक लाख ५० हजारदेखि बढीमा १३ लाखसम्म सुन्तला बिक्रीबाट आम्दानी गरेको उहाँको भनाइ छ । सुन्तला बिक्रीबाट पाँच लाखभन्दा बढी आम्दानी गर्ने घरधुरीको सङ्ख्या धेरै छ ।

गतवर्ष यस गाउँबाट रु ८७ लाख ७४ हजार बराबरको सुन्तला बिक्री भएको थियो । यसवर्ष सुन्तला गतवर्षको तुलनामा धेरै र बाक्लो फलेकाले आम्दानी पनि बढेको उनले बताए ।

गत वर्ष एघार हजार सुन्तलाका बोट रहेपनि यस वर्ष तीन हजार तीन सय सुन्तलाका नयाँ बोट थपिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनले यस गाउँलाई पनि समेटेपछि बगैँचा विस्तार गरिएको हो ।

“यहाँ उत्पादन भएको सुन्तला सबै बिक्री हुँदैनन्” उनले भने, “गाउँमा होमस्टे सञ्चालनमा रहेकाले यहाँ आउने पाहुना तथा आफन्तलाई कोसेलीस्वरुप सुन्तला दिने गरिएको छ ।” यो गाउँको नाम पनि सुन्तालासँगै जाडिएको छ । अन्य समयको तुलनामा यस समयमा होमस्टेमा आउने पाहुनाको सङ्ख्यामा बढी हुनेगरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित