उपचार गर्न पैसा नभएपछि टालो बाँधेर घाउ लुकाउँदै कपिलवस्तु बुद्धभुमि –३ का तौलेश्वर थारु

जोड्दै गरेको इँटा खसेर दायाँ तिघ्रामा लागेको थियो । सामान्य चोट होला भनेर स्थानीय मेडिकलमा उपचार गरेँ । निको नभएपछि थप उपचारका लागि बुटवल पुगेँ ।

हामीजस्तो विपन्न परिवारको मानिसलाई उपचार गर्न कठिन भयो” कपिलवस्तुको बुद्धभुमि –३ टाँकुका ५५ वर्षीय तौलेश्वर थारुले टालाटुलीले छोपेको घाउ देखाउँदै पीडा सुनाउनुभयो ।

उहाँको तिघ्राको हड्डी निकालेर रड राखिएको छ । रड राख्दाको घाउ अझ ठूलो भएको छ । रड वरिपरिको घाउबाट पिप निस्किन्छ । तर उहाँसँग घाउमा लगाउने मलमपट्टी किन्ने पैसा छैन । उपचारका लागि रकम जोहो गर्न नसक्दा तौलेश्वर टालाटुली बाँधेर घाउ लुकाएर बस्दै आएको बताउनुभयो ।

चार कट्ठा जग्गा बेचेर उहाँले रड राखेको सुनाउनुभयो । रड राखेपछिको घाउ पुरिएको छैन । घटनाको समय थाहा नभएको र अन्दाजी ५ वर्ष कटेको तौलेश्वरको छोरा भागिरामले बताउनुभयो ।

चोट लागेपछि स्थानीय क्लीनिकमा उपचार गराउँदा हड्डी कुहिएपछि रड राख्नुपरेको उहाँको भनाइ छ । एक वर्षसम्म गाउँघरतिर उपचार गराएको उहाँले सुनाउनुभयो । बाहिर लैजान पैसा थिएन । चितवनमा उपचार गराउँदा हड्डी कुहिएको थाहा भयो उहाँले भन्नुभयो ।

जग्गा बेचेर आएको लगभग आठ लाख रकम खर्चगरी कुहिएको हड्डीको भाग काटेर रड राखिएको उहाँले बताउनुभयो । रड राखिएपछि अहिलेसम्म डाक्टरसँग चेकजाँच नभएको उहाँले सुनाउनुभयो ।

तौलेश्वरको स्याहार सुसार पत्नी कमली थारुले गर्दै आउनुभएको छ । उहाँले घाउ सफा गर्ने औषधीको सट्टा जडीबुटीको झोल लगाएर घाउ सफा गर्दै आउनुभएको छ । एक जना वैद्यबाट क्यान्सरबाट रोक्ने ओखती भनेर लिएको उहाँको भनाइ छ ।

घाउ सफा गरेको टालो धोएर घाममा सुकाएर पुनः प्रयोग गर्दै आउनुभएको छ । अघिल्लो वर्षसम्म स्वास्थ्य चौकीमा गएर घाउ सफा गर्ने औषधी लगाउने गरे पनि अहिले पैसाको अभावमा उपचार गराउन नसकिएको उहाँले बताउनुभयो । अहिले जडीबुटी ओखती प्रयोग गर्न थालेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित