इन्गेजमेन्ट तोडिएपछिको आत्मदाह प्रकरण– ‘बेस्टफ्रेन्ड’को बयानबाट खुल्यो नयाँ–नयाँ तथ्य

केटाले एकतर्फी रूपमा इन्गेजमेन्ट तोडेपछि उसकै घरअगाडि पुगेर ‘आत्मदाह’ गरेको प्रकरणमा केटा पक्षको शुरूदेखिकै गतिविधि रहस्यमय देखिएको आशयको बयान मृतक पुष्पा न्यौपानेसँग अत्यन्त निकट रहेकी एक साथीले प्रहरीलाई दिएकी छन् ।

प्रहरी स्रोतका अनुसार पुष्पाको सबैभन्दा नजिककी साथीले पुष्पालाई समेत यस विषयमा आशंका थियो भन्ने कुरा अनुसन्धानका क्रममा खुलाएकी हुन् । केटाले इन्गेजमेन्टको तस्वीर सामाजिक सञ्जालमा राख्न नदिएको, इन्गेजमेन्टमा केटा पक्षबाट एकाघरका ४ जना मात्र सहभागी भएको विषयमा पुष्पाले आफूसँग आश्चर्य व्यक्त गर्ने गरेको कुरा उनले बयानमा बताएको प्रहरी स्रोतले जनाएको छ ।

इन्गेजमेन्टमा आफ्नोतर्फबाट आफन्त तथा अन्य शुभचिन्तकहरू समेत सहभागी भए पनि केटा पक्षबाट ४ जना (बाबुआमा र छोराहरू) मात्र सहभागी भएको किन होला ? इन्गेजमेन्टको तस्वीर सामाजिक सञ्जालमा राख्न नदिएको किन होला ? भनेर पुष्पाले आफूसँग आश्चर्यमिश्रित प्रश्न गर्ने गरेको भन्ने कुरा ती युवतीको बयानमा उल्लेख रहेको स्रोतले जानकारी दियो ।

मृतक पुष्पाको परिवारिक स्रोतले पनि इन्गेजमेन्टको तस्वीर केटा पक्षले सामाजिक सञ्जालमा राख्न नदिएको कुरा पुष्टि गर्‍यो । ‘औपचारिक समारोह नै गरेर विवाह गर्ने वाचाबन्धन गर्दा पनि सामाजिक सञ्जालमा तस्वीर राख्न दिनुभएको थिएन,’ पीडित पक्षका एक सदस्यले भने, ‘त्यतिबेला हामीले यसलाई सामान्य रूपमा लियौं, तर अहिले सारा घटनाक्रम हेर्दा शुरूदेखि नै केटा पक्षको बदनियत थियो कि भन्ने आशंका जन्मिएको छ । नत्र यहाँ लुकाउनुपर्ने कुरा के थियो र ?’

घटनाको अघिल्लो दिन राति पुष्पासँग छोटो कुराकानी भएको पनि बयानमा ती युवतीले खुलाएकी छन् । ‘अघिल्लो दिन राति कुराकानी हुँदा पुष्पाले आज सुपारी फिर्ता दिन आए । ठीकै छ । आनन्दै भयो । अब ‘मूभ अन’ हुन्छु । क्यानडा जान्छु, भनेको कुरा पनि ती युवतीले बयानमा खुलाएकी छन्,’ प्रहरी स्रोतले भन्यो ।

बयानबारे स्रोतले अगाडि भन्यो, ‘शुरूमा तिमी त मेरो हुनेवाला बुढी हो भनेर परिवारमा घुलमिल गराएको अनि परिवारका सदस्यहरूले पनि छोरी भनेर शुरूमा अलि बढी नै माया देखाएको र केही समयपछि नै व्यवहार परिवर्तन गरेर ‘इग्नोर’ गर्न थालेपछि पुष्पालाई तनाव भएको कुरा पनि उनको साथीको बयानबाट पुष्टि हुन्छ ।’

केटाले हरेक कुरामा खोट लगाइराख्ने, पोइन्टआउट गरिराख्ने, घमण्ड देखाइराख्ने भएकाले पनि पुष्पालाई तनाव भएको कुरा बयानमा उल्लेख रहेको प्रहरी स्रोतले बतायो । ‘एकपटक त उस (केटा)को आमाले नै पुष्पा तिमीले मेरो अर्को छोरासँग लभ गरेको भए हुन्थ्यो, यो अलि नबुझ्ने छ भन्नुभएको कुरा पनि पुष्पाले भनेकी रहिछन्,’ बयानबारे उल्लेख गर्दै ती प्रहरी अधिकृतले भने ।

अझै गम्भीर कुरा त तिमी मेरो हुनेवाला बुढी त हो नि भनेर ‘फिजिकल रिलेसन’का लागि अप्रोच पनि गरेको र पछि एक्कासि धोका दिँदा पुष्पा विक्षिप्त हुन पुगेको बयानबाट देखिने उनले बताए । अहिले यही कुरालाई लिएर पुष्पालाई मानसिक रूपमै कमजोर देखाउने र केटालाई उन्मुक्ति दिने खेल भएको हुन सक्ने आशंका पीडित पक्षको छ ।

‘केटाले तनाव दिइरहेपछि पुष्पाले बारम्बार फोन गर्ने, बोल्न खोज्ने रहेछ । आफ्नो हुनेवाला श्रीमानले नै इग्नोर गर्दा उसलाई तनाव हुनु स्वाभाविकै पनि हो,’ पीडित पक्षका एक सदस्यले लोकान्तरसँग भने, ‘यही कुरालाई आधार बनाएर पुष्पालाई न्याय नदिने र यसलाई फगत आत्महत्याको रूपमा मात्र सावित गर्ने प्रयास भइरहेको आशंका हामीलाई छ ।’

प्रहरीको अनुसन्धान र न्यायालयप्रति अझै भरोसा रहेको भन्दै उनले न्याय पाउने विश्वास मरिनसकेको बताए । बानेश्वर (नुवाकोट स्थायी घर) की २७ वर्षीया पुष्पा न्यौपानेले गएको मंसिर १८ गते साँझ धुम्बाराहीस्थित सुधन संग्रौलाको घरको गेटैमा पुगी पेट्रोल खन्याएर आत्मदाह गरेकी थिइन् ।

झापा पुर्ख्यौली घर भएका सुधन र पुष्पाबीच विवाह गर्ने भनेर टीकाटालो समेत भएको थियो । १७ गते सुधनको परिवारले सुपारी फिर्ता गरी एकतर्फी रूपमा इन्गेजमेन्ट तोडेका थिए । त्यसको भोलिपल्टै पुष्पाले आ’त्मदाह गरेकी थिइन् । पुष्पासँग इन्गेजमेन्ट तोडेका सुधनलाई प्रहरीले नियन्त्रणमा लिएर आत्मह’त्या दुरुत्साहनमा अनुसन्धान गरिरहेको छ ।

सुधनको परिवारका अन्य सदस्य भने छुटिसकेका छन् । घटना भएको दिन सुधनको परिवारका सदस्य घरमै भए पनि पुष्पालाई बचाउन कुनै भूमिका खेलेका थिएनन् । उल्टै पुष्पाजस्तै देखिने केटीले पेट्रोल खन्याएर आगो लगाउँदैछ भनेर पुष्पाका बुवा र काकालाई फोन गरी रमिता हेरेर बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित