अर्थतन्त्र सुधार्न विज्ञसँग छलफल गर्छु, धेरै मेहनत गर्नुपर्छ : मन्त्री पाैडेल

नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले सङ्कटको डिलमा रहेको देशकाे अर्थतन्त्रको चुनौतीलाई समाधान गर्ने बताउनुभएको छ ।

आज सोमवार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै पौडेलले चुनौतीको डिलमा रहेको अर्थतन्त्रलाई अर्थ क्षेत्रका विज्ञ तथा सरोकारवाला सबैको राय तथा विश्वको अनुभवलाई समेत लिए समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँले चुनौतीपूर्ण रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन धेरै मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अर्थमन्त्री पौडेलले अर्थतन्त्रका चुनौतीको कारण खोजेर, समाधानमा प्रभावकारी संवाद गर्दै पहिचान गरी सामाधान गर्ने भन्दै अर्थ जगतका सबैलाई अर्थतन्त्रका विषयमा चिन्ता नलिन आग्रह गर्नुभयो ।

उहाँले अर्थतन्त्रमा देखिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कारणहरू के–के हुन् र समाधानका लागि कस्तो कदम चाल्नुपर्छ भन्ने विषयमा अर्थतन्त्रका जानकारसँग छलफल र सहकार्य गर्दै समस्या पहिचान गर्ने र समाधान गर्ने जिम्मेवारी पूरा गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अर्थतन्त्र अहिले सङ्कटको डिलमा छ । अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन र व्यवस्थित गर्नका लागि हामीले धेरै मेहनत गर्नुपर्छ । विश्वका अनुभव, नेपालमा विगतमा गरिएका अनुभवका आधारमा अगाडि बढ्नुपर्ने आवश्यकता छ । अर्थतन्त्रका जानकारसँग छलफल र सहकार्य गर्दै समस्या पहिचान गर्ने र समाधान गर्ने जिम्मेवारीमा आएको छु ।

बिग्रँदो अर्थतन्त्रबाट चिन्तित समग्र अर्थ जगतलाई विश्वास दिलाउन चाहन्छु, सबैसँग संवादमा रहेर समस्या पहिचान गर्ने र समाधान खोज्नका निम्ति कार्यसम्पादन गर्नेछु । अर्थतन्त्रका विषयमा चिन्ता नलिन आग्रह छ । अर्थतन्त्रमा देखिएका चुनौतीलाई समाधान गर्न सकिन्छ ।’

अर्थमन्त्री पौडेलले सरकारी दर्ता तथा चलानीलाई अनलाइन प्रणालीमा लैजाने पहिलो निर्णय गर्नुभएको छ । उहाँले अर्थ मन्त्रालयअन्तर्गतका विभाग र मन्त्रालय मातहतका निकायमा अहिले रहेको परम्परागत कार्यसञ्चालन र व्यवस्थापन प्रणालीलाई अनलाइन प्राणालीमा लैजाने निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित