ठेक्का सम्झौता गरेको नौ महिनापछि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले सिद्धबाबा सुरुङमार्गको विस्तृत डिजाइन सडक विभागलाई गत साता बुझाएको छ । गत फागुनको अन्तिम साता विभाग र कम्पनीबीच सुरुङ निर्माण ठेक्का सम्झौता भएको थियो ।
अन्तर्राष्ट्रिय बोलपत्रमा सहभागी नौ कम्पनीमध्ये विभागले गत फागुनमा उक्त कम्पनीलाई छनोट गरेको थियो । आयोजनाको डिजाइन, निर्माणलगायत काम गर्ने गरी इपिसी मोडलमा सात अर्ब ३४ करोड २१ लाख लागतमा विभाग र कम्पनीबीच ठेक्का सम्झौता भएको थियो । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन खण्डमा पर्ने एक हजार एक सय २६ मिटर लम्बाइको सुरुङ बनाउन जेठ ०७८ मा ग्लोबल टेन्डर आह्वान भएको थियो ।
ठेक्का सम्झौतामा नौ महिना (डिसेम्बर, ०२२) भित्र आयोजनाको डिजाइन विभागमा पेस गर्नुपर्ने सर्त थियो । सोहीअनुसार कम्पनीले आयोजनाको डिजाइन विभागमा पेस गरेको हो । त्यसलगत्तै विभागले पनि आयोजनाको विस्तृत डिजाइनमाथि छलफल गर्ने तथा स्वीकृति गर्ने प्रक्रियासमेत अघि बढाएको छ ।
स्विट्जरल्यान्डको स्विस डेभलपमेन्ट कर्पाेरेसन (एसडिसी)ले यस आयोजनामा प्राविधिक परामर्शको सहयोग दिइरहेको छ । सोहीअनुसार चिनियाँ कम्पनीले पेस गरेको आयोजनाको डिजाइनमाथि आवश्यक अध्ययन गर्न एसडिसीको प्राविधिक टोलीलाई पठाइएको छ ।
उक्त प्राविधिक टोलीले डिजाइनमाथि अध्ययन गरेर थप सुझाव दिन सक्नेछ । चिनियाँ कम्पनीले सोही सुझावअनुसार डिजाइनलाई संशोधन गर्नुपर्ने हुन्छ, त्यसपछि विभागले आयोजनाको डिजाइन स्वीकृति गर्नेछ । त्यसपछि आयोजनाको निर्माण कार्य अघि बढ्ने विभागको भनाइ छ ।
पहिला स्विट्जरल्यान्डकै प्राविधिक सहयोगमै आयोजनाको सम्भाव्यता अध्ययन गर्ने तथा प्रस्तावित डिजाइनसमेत बनाइएको थियो । नेपालको अनुरोधमा स्विसको उक्त टोलीले ०७७ मा सुरुङमार्गको प्रारम्भिक रेखांकन सडक विभागलाई बुझाएको थियो । त्यस अवस्थामा चिनियाँ कम्पनीले पेस गरेको डिजाइनमाथि आवश्यक अध्ययन गर्न स्विसको प्राविधिक टोली दिँदा बढी प्रभावकारी हुने विभागको विश्वास छ ।
विभागका महानिर्देशक अर्जुनजंग थापाले चिनियाँ कम्पनीबाट प्राप्त आयोजनाको डिजाइनमाथि थप अध्ययन गर्न स्विस प्राविधिक टोलीलाई पठाएको बताए । यसअघि पनि एसडिसीको टोलीले आयोजनास्थलको अनुगमन गरिसकेको छ, त्योअनुसार एसडिसीले आयोजनाको डिजाइनमाथि थप अध्ययन गर्दा राम्रो हुने उनको भनाइ छ । ‘अब स्विट्जरल्यान्डको प्राविधिक टोलीले आयोजनाको डिजाइनमाथि के–कस्तो सुझाव तथा कमेन्ट दिन्छ, सोहीअनुसार नै आयोजनाको डिजाइन स्वीकृति हुन्छ,’ महानिर्देशक थापाले भने, ‘अबको एक–दुई हप्तामै आयोजनाको डिजाइन स्वीकृति हुन सक्छ ।’
डेढ महिनाभित्र निर्माण सुरु
आयोजनाको डिजाइन तयार भएसँगै अबको डेढ महिनामा निर्माण कार्य सुरु हुने बताइएको छ । अबको एक–दुई हप्तामै आयोजनाको डिजाइन स्वीकृत हुनेछ । त्यसपछि आवश्यक तयारी गर्दा ढिलोमा पनि डेढ महिनामा आयोजनाको निर्माण कार्य सुरु हुने बताइएको छ ।
आयोजना निर्माणको पूर्वतयारीको काम दुई महिनाअघिबाटै सुरु भइसकेको छ । साइट क्याम्प बनाउने, वाल लगाउने, साइट क्लियरेन्स गर्ने, डाइभर्सन सडक बनाउने, गुणस्तर मापनको ल्याब इन्सटल गर्ने, क्रसर प्लान्ट बनाउनेलगायतका पूर्व तयारीको काम अघि बढिसकेको छ । अब वाटरट्यांक बनाउने, हेलिप्याड बनाउनेलगायतका काम बाँकी छन् ।
त्यो अवस्थामा अबको डेढ महिनामा आयोजनाकको निर्माण औपचारिक रूपमा सुरु गर्न सकिने आयोजना प्रमुख होमबहादुर एसीले बताए । ‘अब डिजाइन स्वीकृतिलगायतका प्रक्रिया सुरु गर्दा एक–डेढ महिना लाग्छ । त्यसलगत्तै आयोजनाको निर्माण सुरु हुन्छ,’ उनले भने, ‘पहिलो चरणमा सुरुङ खन्ने पूर्वतयारीको काम हुन्छ । त्योअनुसार सुरुङ खन्ने काम सुरु गर्न भने केही समय लाग्न सक्छ ।’





















Discussion about this post