बालबालिका, युवा र वृद्धसम्बन्धी परिभाषा र उमेर हद संसारभर फरकफरक रहेको छ। संयुक्त राष्ट्रसंघले बालबालिकाको उमेर १८ वर्षसम्म निर्धारण गरेको छ। धेरै देशका कानुनमा १८ वर्षसम्मको उमेरका व्यक्तिलाई बालबालिका मानिएको पाइन्छ।
१८ वर्ष पूरा भए पनि विविध क्षेत्र र विषयअनुसार उमेरको हद राखिएको देखिन्छ। कलिलो उमेरमा बालविवाह गर्ने अनि विवाह गर्ने उमेरमा सम्बन्धविच्छेद हुने घटनाहरू बढ्दै गएका छन्। पछिल्लो समय नेपालको कानुनमा परिवर्तन गरी २० वर्ष नपुगी विवाह गर्न नपाउने प्रावधान लागू गरिएको छ।
मुलुकी देवानी संहिता ऐन, २०७४ मा गरिएको यस व्यवस्थाले कलिला उमेरमा विवाह गर्ने युवायुवतीलाई निरूत्साहित गर्ने मनसाय राखेको छ। १८ वर्ष पुगेपछि स्वतन्त्र रूपमा आफ्नो र भविष्यको बारेमा निर्णय गर्न पाउने व्यवस्था सोही कानुनमा देखिन्छ। १८ वर्ष पूरा भएको व्यक्तिले गरेका सम्पूर्ण सम्झौताहरूले वैधानिक मान्यता पाउने व्यवस्था प्रचलित कानुनमा रहेको छ।
यसअर्थमा १८ वर्ष पूरा भएको व्यक्तिलाई वयस्क मानिएको छ। विवाहसम्बन्धी व्यवस्थामा भने २० वर्ष उमेर पूरा गरेको हुनुपर्ने प्रावधान राखिएको छ। १८ वर्ष पूरा भएको व्यक्तिले आपसी समझदारीमा यौनसम्बन्धसमेत राख्न पाउने तर विवाह गर्नका लागि २० वर्ष पूरा भएकै हुनुपर्ने व्यवस्थाले सामाजिक संरचनामा विचलन ल्याउन थालेको छ।
पश्चिमा समाजमा १८ वर्ष पूरा भएका युवायुवतीहरू स्वतन्त्र रूपले स्वैच्छिक रूपमा समलिंगी वा विपरीतलिंगी साथीसँग लिभिङ टुगेदरका रूपमा बसोबास गर्न पाउने व्यवस्था रहँदै आएको छ। त्यस समाजमा विवाहलाई पूर्णतया सम्झौता मान्ने गरिएको छ। सामाजिक रूपमा लिभिङ टुगेदर, विवाह र पुनर्विवाहलाई मान्यता दिइएकाले सम्बन्ध जोडिनु र सम्बन्धविच्छेद हुनुलाई सामान्य घटनाका रूपमा लिने गरेको देखिन्छ।
नेपालका सन्दर्भमा भने यो कुरा निकै झन्झटिलो र जटिल प्रकृतिको छ। परम्परागत रूपमा सात जन्मका लागि सम्बन्ध गाँसिने मान्यता राखिएको विवाह आर्थिक र शारीरिक आवश्यकतालाई मात्र आधार मानेर होइन, आत्मिक र आध्यात्मिक दृष्टिले निकै पवित्र र महत्त्वपूर्ण मानिने गरेको छ। पूर्वीय दर्शनमा सम्बन्धविच्छेदको कल्पना गरिएको छैन।
जन्म जन्मान्तरसम्म रहिरहने सम्बन्ध भएकाले आर्थिक, सामाजिक आरोह अवरोहमा एकआपसमा सहानुभूति र सहयोगको सम्बन्ध रहने र बिचल्लीमा सम्बन्धविच्छेद नगरेर सहयात्रा गर्ने परिपाटी पूर्वको सुनौलो पक्ष हो।
पश्चिमीकरणको प्रभाव र प्रचलित कानुनमा भएको व्यवस्थाले नेपाली समाजमा पनि लिभिङ टुगेदरले प्रश्रय पाउन थालेको देखिन्छ। १८ वर्ष पूरा भएको व्यक्तिले वैवाहिक सम्बन्ध कायम गर्न नसक्ने तर एकआपसको आकर्षणको कारणसँगै जीवन बिताउने भावका साथ सँगै बस्न थालेका घटनाहरू धेरै देखिन्छन्। नेपाली समाजमा यस किसिमको बसाइ अत्यन्त नौलो भएकाले भावुकताको तन्तुले मात्र संयोजकको काम गरेको हुन्छ।
तुरुन्तै मानसिक अवस्था परिवर्तन हुने युवावस्थाको क्षणमा गाँसिएका सम्बन्धहरू सानो कुराले नै तिक्ततामा परिणत हुने गरेका देखिन्छन्। वैधानिक रूपमा वैवाहिक सम्बन्ध कायम नभएको तर पतिपत्नीका रूपमा सँगै बसेका जोडीका बीचमा कुनै मनमुटाव हुँदा वा समाजले सहजरूपमा उनीहरूलाई स्वीकार नगर्दा सिर्जना भएको अन्योलले पनि आत्महत्याका घटनालाई बढावा दिएको देखिन्छ।
संसारभर विविध कारणहरूले गर्दा आत्महत्याको दर बढ्दै गएको छ। नेपालमा पनि बर्सेनि आत्महत्या गर्ने हरूको संख्या थपिँदै गएको पाइन्छ। पछिल्लो समय अविवाहित युवायुवती र विवाहेत्तर सम्बन्धमा रहेका जोडीले एकसाथ आत्महत्या गर्ने गरेका घटनाहरू पनि बढ्दै गएका छन्। १८ वर्षअगाडि विवाह गर्न कानुनले नदिने भएकाले लिभिङ टुगेदर र अवैध सम्बन्ध फस्टाउँदै जाँदा युवायुवतीहरूमा मनोसामाजिक समस्या बढ्न थालेको छ।





















Discussion about this post