जङ्गली बाँकोको गुन्द्रुक सहरका भान्छामा पुर्‍याउँदै किसान

बाग्लुङ – यहाँका किसानले छुँदै चिलाउने वनस्पतीलाई भान्सामा पुर्‍याएका छन् । बागलुङको जैमिनी नगरपालिका–३ दमेकमा समूहमा आबद्ध किसानले जङ्गलमा पाइने पिँडालु प्रजातिको बाँकोलाई गुन्द्रुक बनाएर बजारीकरण थालेका हुन् ।

उच्च पहाडी क्षेत्रमा गुन्द्रुक बनाउन प्रयोग गरिने जङ्गली वनस्पती बाँको अब व्यावसायिक किसानको रोजाइमा पर्न थालेको छ । सहरीया भान्छामा बाँकोको गुन्द्रुक पाक्दै छ ।

छन्त्याल कृषक समूहमा आबद्ध दमेकका एक सय ४३ किसानको सामूहिक प्रयासमा बजारीकरण थालिएको हो । अन्य सागबाट भन्दा यसको सागबाट बनेको गुन्द्रुक स्वादिलो र पोसिलो मानिन्छ ।

आफन्तलाई कोसेलीको रुपमा मात्रै गाउँ बाहिर जाँदै आएको यो अब भने किसानको आम्दानीको स्रोत बन्ने छ । “हामीले पुर्खाका पालादेखिनै खाँदै आएको हो, आफन्तलाई कोसेली मात्रै पठाइन्थ्यो, अब बिक्री गरेर आम्दानी गर्न लागेका छौँ”, छन्त्याल कृषक समूहका अध्यक्ष देवप्रकाश छन्त्यालले भन्नुभयो, “एकाध घरबाट पाथीमा बिक्री हुँदै आएको बाँकोलाई प्याकिङ गरेर किलोग्राममा बिक्री गर्न थालिएको छ ।”

दमेकका झण्डै पाँच सय घरमा यो भित्रिन्छ तर, कसैले पनि यसलाई व्यावसायिक बनाएका थिएनन् । “हरेक घरमा आठ/दश किलो हरेक वर्ष भित्रिन्छ, घरमै खाएर मात्रै सकिँदैन, बजारमा माग छ तर पुर्‍याउन सकिएको थिएन”, छन्त्याल भन्नुहुन्छ, “हामीले समूहमार्फत प्याकिङ र ब्राण्डिङ गर्ने काम थालेका छौँ ।”

चालु आर्थिक वर्षमा आठ सय किलो बाँको बजार पठाउने तयारी गरेको समूहले सय ग्रामका प्याकेट तयार गरेको छ । एक प्याकेटको मूल्य तीन सय ५० रुपैयाँ कायम गरिएको छ । “एक पाथीलाई आठ सय रुपैयाँमा बिक्री हुँदै आएको थियो”, उहाँले भन्नुभयो, “किसानका दुःख हेर्ने हो भने मूल्य अझै कम हो ।”

जेठ/असारमा दमेकका जङ्गलभरि पाइने बाँको असोजसम्म घरभित्र ल्याइसक्नुपर्छ । असोजसम्म टिप्न नभ्याइएमा हराएर जान्छ । सावधानीपूर्वक नटिप्ने हो भने यसको काँचो पातले शरीर चिलाउने समस्या हुन्छ ।

यहाँका किसानले परम्परागत रुपमा यसको पात र काण्ड टिपेर परम्परागत शैलीबाट थिचेपछि एक महिनासम्म प्लाष्टिकको ड्रममा राखेपछि मात्रै गुन्द्रुक तयार हुने उहाँले बताउनुभयो ।

यसको ब्राण्डिङका लागि जैमिनी नगरपालिकाले सहयोग गरेको छ । कुट्ने र प्याकिङ गर्ने मेसिन नगरपालिकाले सहयोग गरेको कृषि प्राविधिक रवीन्द्र शर्माले बताउनुभयो ।

दमेकमा उत्पादन भएको बाँको बजारको मागअनुसार पुर्‍याउन नसकेको शर्माले बताउनुभयो । यसको पात र गाना ज्यादै कोक्याउने खालका हुन्छन् । यसको गाना खाने चलन त छ तर विशेषरूपले प्रशोधन गरेर मात्र खान चिकित्सक सुझाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित