माघे सङ्क्रान्ति तथा माघ महिनाको शास्त्रीय महत्व

सौरमानले माघ महिना सुरु हुने दिनलाई माघेसङ्क्रान्ति भनिन्छ। अर्थात् सूर्य यौटा राशिबाट अर्काे राशिमा प्रवेश गर्ने वा सर्ने क्रियालाई सङ्क्रान्ति भनिन्छ। यस दिन सूर्य धनुराशिबाट मकरराशिमा प्रवेश गर्ने हुँदा यस दिनदेखि सूर्य उत्तरायणमा जान्छन् ,भन्ने शास्त्रमा उल्लेख छ। त्यसैले यस दिनमा स्नान ,दान, तपः ,श्राद्ध तर्पण, हाेमादि गर्दा ठुलाे पुण्यलाभ हुन्छ।

यस बारे हेमाद्रिमा यस्ताे उल्लेख छ-
रवेः सङ्क्रमणं राशौ सङ्क्रान्तिरिति कथ्यते।
स्नान-दान-तपः-श्राद्ध- हाेमादिषु महाफला।।

सङ्क्रान्ति स्न्नानको बारेमा धर्मसिन्धुमा यस्ताे उल्लेख छ-
रविसङ्क्रमणे प्राप्ते न स्नायाद्यस्तु मानवः।
सप्तजन्मसु राेगी स्यान्निर्धनश्चैव जायते।।

अर्थात् यदि सङ्क्रान्तिका दिनमा कुनै मनुष्य स्नान गर्दैन भने सात जन्म सम्म राेगी हुन्छ साथै दरिद्र पनि हुन्छ। यस्तो शास्त्रमा उल्लेख गरिएको हुँदा यथाशाक्ति स्नान दानादि गरेर आफुलाई विभिन्न राेगहरुबाट र अन्य धनसम्बन्धि बाधाहरुको निवारणको लागि पनि सङ्क्रान्तिको दिन स्नान गर्नु विशेष फलदायी रहन्छ। मनुष्यले सधैँभरि स्नान गरेपछि सूर्यनारायणलाई सामान्य अर्घ्यदान दिनु नै पर्दछ भने माघमहिनामा स्नान गरी सूर्यनारायणलाई विशेष अर्घ्यदान पनि गर्नुपर्दछ ।

माघ महिनाकाे कृष्णपक्षकाे एकादशीलाई षट्तिला एकादशी भनिन्छ । त्यसैले सामान्यतः माघमहिनाभरि र विशेष गरी माघकृष्ण एकादशी तथा माघशुक्ल सप्तमीका दिन तिलकाे ६ किसिमबाट प्रयाेग गर्नुपर्दछ – १-स्नानगर्दा तिलकाे प्रयाेग गर्ने अर्थात् तिल मिसाएकाे पानीले स्नान गर्ने , २-तिलकाे बुकुवा गर्ने ,
३-तिलकाे हाेम गर्ने , ४-तिल मिसाएकाे जलले तर्पण पूजा गर्ने र पानी पिउँदा तिल मिसाएर पिउने, ५-तिल खाने, ६- तिल दान गर्ने गर्दा मनुष्यका सम्पूर्ण पाप नाश भई पुण्यलाभ हुन्छ भनिएकाे हुँदा यसैशाास्त्रका आधारमा हाम्रा समाजमा माघे सङ्क्रान्तिका दिनमा हवन गरी तिलक लगाउने परम्परा छ यसका साथै तिलका लड्डू बनाएर दान गर्ने र खाने पनि परम्परा चलेको छ।

यस दिनलाई सूर्यग्रहण तुल्य मानिएकाे छ। त्यसकारणले यसदिन सूर्याेदय अगाडि नै उठेर स्नान गर्ने , सूर्यलाई अर्घ्यदान गर्ने , पूजा अर्चना गर्ने ,अरु इष्ट देवतालाई पनि अर्घ्यदान ,पूजा आराधना गर्ने गर्दा आयुवृद्धि हुने ,आराेग्य प्राप्तहुने र सम्पत्तिकाे पनि वृद्धि हुन्छ। यसदिन सौभाग्यवती महिलाले सतीसाध्वी सौभाग्यवती ब्राह्मणीलाई वस्त्र ,सौभाग्यद्रव्य ,आभूषण आदि दान गर्दा ठुलाे पुण्य लाभ हुन्छ र अटल सौभाग्यसमेत प्राप्त हुन्छ।

माघ शुक्ल पञ्चमीमा सरस्वतीकाे पूजा गर्ने विधान छ।यस दिनमा सरस्वतीकाे पूजा गर्दा सरस्वतीमाता प्रसन्न भएर हामीलाई विद्याप्रदान गर्नुहुन्छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीकाे व्रत लिएर माघ शुक्ल पूर्णिमाका दिन उद्यापन गर्ने विधान पनि छ ।सक्नेले याे व्रत गर्दा सुखसमृद्धि सौभाग्य आदि प्राप्त हुन्छ ।

सक्नेले माघमहिनाभरि नै स्नान गर्न सके माघस्नानकाे ठुलाे महत्त्व छ , ठुलाे पुण्यलाभ हुन्छ। माघमा प्रातःकालमा उठी पुण्यतीर्थमा स्नान गर्ने , तिलमिश्रित घिउ हवन गर्ने ,एकछाक मात्र हविष्य भाेजन गर्ने ,ब्रह्मचर्य धारणगर्ने,भूमिमा शयन गर्ने आदि गर्नाले मनाेरथ परिपूर्ण हुन्छन् भनिएकाे छ।

हाम्रा समाजमा माघे सङ्क्रान्तिमा तरुल, भ्यागुर आदि कन्दमूलहरू खाने , तिलका लड्डू , घिउचाकु , खिचडी वा खिच्राे पकाएर खाने पनि चलन छ।तराइवासीहरूमा माघीपर्व मानेर यस पर्वलाई बडाे उत्सवका साथ धुमधामसँग मनाउने परम्परा छ। यसरी माघसङ्क्रान्ति र माघ महिनाको विशेष आध्यात्मिक महत्व रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित