साँफेका तरकारी बाजे

अछामको साँफेबगर नगरपालिका–३ का प्रसादसि कुँवर ७८ वर्षका भए। उनको दैनिकी तरकारी बारीमै बित्छ। तरकारी खेती गर्न थालेको पनि ४९ वर्ष भयो। २०३० सालदेखि तरकारी खेती गरिरहेका छन्। साँफे बजारमा तरकारी बाजेको परिचय बनेको छ।

उनले हाँस्दै भने, ‘बजारमा खाली हात कहिल्यै पनि जाँदैन। आफूूले सक्ने जति कहिले आलु, कहिले गोभी, कहिले साग लिएर जान्छु। त्यसैले पनि सबैले तरकारी बाजे भन्ने गर्छन्।’ गाउँमा उनको तरकारी खेतीको एकाधिकार अहिले तोडिएको छ। उनकै प्रेरणाले धेरैले तरकारी खेती गर्न थालेका छन्। उनको गाउँ नै तरकारी पकेट क्षेत्र बनेको छ।

उनी सधंै बिहानै खेतवारीका पुग्छन्। बारीमा पुग्ने बित्तिकै माटोको टीका लगाउँछन् अनि उनको तरकारी बारीमा हेरविचार,गोडमेल, मलजल गर्न थाल्छन्। उनलाई माटोको टीका भगवान्को टीका जस्तै लाग्छ। दुई वर्ष पहिले भैंसी चराउँदै गर्दा उनको चिप्लेर बायाँ खुट्टा भाँचियो। उपचारपछि केही सुधार आएको छ।

राम्रोसँग हिँड्न नसके पनि उनले खेतबारीमा कामगर्न छोडेका छैनन्। ७ देखि ८ रोपनी जमिनमा तरकारी खेत गर्छन्। तरकारीबाट वार्षिक ५ लाखसम्म आम्दानी गर्छन्। तरकारी खेतीले मानसम्मान पनि दिएको छ। उनले अगुवा किसानका रूपमा थुप्रै सम्मान,पुरस्कार र प्रमाणपत्र पाएका छन्। उनी माछामासु केही खाँदैनन्। कुनै स्वास्थ्य समस्या पनि छैन। उनका ५ भाइ छोरा छन्। एक जना भारत गएको बाहेक सबै तरकारी र कृषि पेसामै छन्। ६ नाति, ७ नातिनी, पनाति एक छन्।

माटोमा खेल्ने, माटोमा दिन बिताउनेलाई माटोले पनि चिन्ने उनी दाबी गर्छन्। उनले भने, ‘३०÷४० वर्ष पहिले मैले लगाएको फूलगोभी देखेर सबै छक्क पर्थे। कसैलाई थाहै थिएन। यो कुन तरकारी हो भनेर। म त्यो जमानाको मान्छे हो। अहिले त धेरै कुरा गर्छन् काम गर्दैनन्। गर्ने इच्छा शक्ति नै छैन’, उनी विगत सम्झेर गफिए, ‘मेरो उमेरका धेरै साथीभाइहरू यहाँ केही कमाइ छैन भन्दै भारततिर गए त्यति बेला।

मलाई भारत जाने सोच कहिल्यै पनि आएन। तरकारी खेती गरेर नै सन्तानलाई पढाए लेखाए। सबै आवश्यकता पुर्‍याए। मलाई सबै कुरा यही माटोेले दिएको हो। तरकारी खेतीका लागिकहिल्यै सरकारको मुख ताकेर बसेन। अहिले त स्थानीय सरकार छ। बिउबिजन अनुदान दिएको छ।’

बुढेसकालमा कति दुःख गरेको भन्दै धेरैले उनलाई घरमै बस्न सुझाव दिन्छन् तर उनी तरकारी बारीसम्म नपुगे चित्तै नबुझ्ने बताउँछन्। तरकारीमा कहिल्यै विषादी प्रयोग गर्दैनन्। उनले भने, ‘विषादीले स्वास्थलाई हानी गर्छ। म पनि यही अर्गानिक तरकारी खाएर स्वस्थ छु। कसैको पनि स्वास्थ्यमाथि खेलवाड गर्नुहुँदैन।’

युवा काम खोज्न विदेशिएको पटक्कै चित्त बुझ्दैन। ‘आफ्नै गाउँको माटोलाई माया गर्न सके विदेशिनु पर्दैन’, उनले सुझाव दिए, ‘मैले त माटोलाई जिन्दगी बनाइसके। जोस जाँगर भए आफैं माटोमा पैसा फल्छ। किन अर्काेको देशमा गएर दुःख गर्नु ? अहिलेका युवाहरू विदेश मात्र भन्छन्। युवाहरूमा पनि स्वदेशमै गरौं भन्ने भावना हुनुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित