आलुखेती गर्ने किसानलाई तालिम

रुकुमपूर्वमा व्यावसायिकरूपमा आलुखेती गरिरहेका किसान तालिम पाएपछि औधी खुसी भएका छन् । यस जिल्लामा मकै र गहुँपछिको प्रमुख बालीका रूपमा रहेको आलुखेती रहेको छ । यसलाई थप प्रवर्द्धन एवं व्यवस्थित गर्नका लागि किसानलाई तालिम प्रदान गरिएको हो ।

अहिलेसम्म परम्परागतरूपमा हुँदै आएको आलुखेतीलाई आधुनिकीकरण, यान्त्रिकीकरण गर्दै बजार व्यवस्थापनसम्मको कुरालाई तालिममा किसानलाई सिकाइएको जनाइएको छ । तालिम प्राप्त गरेपछि आफूलाई निकै खुसी लागेको किसान राजकुमार सुनारले बताए ।

“पुथा उत्तरगङ्गाको ६ नं वडा मयाङमा मैले आफैँ धेरै मात्रामा आलु उत्पादन गर्दै आएको छु र अन्य त्यहाँका थुप्रै किसानले आलु उत्पादन गर्नुहुन्छ”, पुथा उत्तरगङ्गा गाउँकार्यपालिका सदस्यसमेत रहेका उनले भने, “हामीले पुरानै तरिकाबाट खेतीपाती गर्दै आएका थियौँ । यसले गर्दा समयको खर्च, जति उत्पादन हुनुपर्ने हो त्यति उत्पादन नहुनु, बीउ छनोट, मल, रोग कीराको व्यवस्थापनमा निकै समस्या हुँदै आएको थियो ।”

आलुखेती प्रविधिसम्बन्धीको तालिम प्राप्त गरेपछि अहिले आफूलाई जग्गा छनोटदेखि लिएर हावापानीअनुसारको बीउ छनोट, खाने आलु र बीउ आलुको भण्डारण र बजारीकरणसम्मको योजना बनाउने कुरा थाहा भएको उउनको भनाइ छ ।

यस्तै पुथा उत्तरगङ्गाकै अर्का किसान देविका सुनारले पनि आलुखेती प्रविधि तथा ‘चिप्स’ उत्पादनसम्बन्धीको तालिम लिइन् । तालिमपछि बिनाज्ञान र सीपको खेतीले राम्रो प्रतिफल नदिनेरहेछ भन्ने कुरा बुझेको बताइन् । अब भने तालिममा सहभागी भएर आलुखेतीका बारेमा प्रष्ट भएको र सोहीअनुरुप आलुखेतीलाई बढवा दिने उनले उल्लेख गरिन् ।

यस्तै तालिममा सहभागी रुकुमपूर्वको तीनवटै गाउँपालिकाका किसानले आफूहरूको मुख्य बालीका रूपमा रहेको आलुखेतीलाई आगामी दिनमा व्यवस्थितरूपमा अगाडि बढाउने र त्यसैबाट आर्थिक समृद्धिको बाटो खोज्ने बताएका छन् ।

एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुमपूर्वले जिल्लाका तीनवटै गाउँपालिकामा व्यावसायिक आलुखेती गरिरहेका किसान र बर्खे आलु पकेट कार्यक्रमका लागि छनोट भएका किसानका लागि रुकुमकोटमा तीनदिने तालिमको आयोजना गरेको थियो ।

यही माघको १४ गतेबाट सुरु भएको तालिम १६ गतेसम्म चलेको थियो । तालिममा तीनवटै पालिकाका २८ किसानको सहभागिता रहेको तालिमका संयोजक एवं एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले बताउनुभयो । तालिमको सहजीकरण आलु बालीविज्ञ श्यामप्रसाद ढकालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित