वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै मसला उद्योग सुरु

श्रमिकका रुपमा पाँच वर्ष यूएईकाे दुबईमा बिताएपछि पर्वत पैँयू गाउँपालिका–६ साधनेका प्रेमचन्द्र भारतीले यतिबेला गाउँमै उद्यम सुरु गर्नुभएको छ । गाउँमै केही गरौँ भन्ने उद्देश्यले उहाँले २५ लाख रुपैयाँ लगानीमा स्थानीयस्तरमै उत्पादित कृषिउपज तथा मसलाजन्य वस्तुको प्रशोधन, प्याकेजिङ र ब्राण्डिङ सुरु गर्नुभएको हो ।

दुबईमा काम गर्दा सोचे जस्तो कमाइ नभएपछि स्वदेश फर्किएर उद्यमी बनेको उहाँको भनाइ छ । उहाँले आगामी दुई वर्षमा यहाँ उत्पादित वस्तुलाई विदेशसम्म पुर्‍याउने योजनाका साथ काम अघि बढाइएको बताउनुभयो ।

स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न, उत्पादनको बजारीकरण गर्नका लागि अर्ग्यानिक खाद्य प्रशोधन तथा प्याकेजिङ उद्योगको स्थापना गरिएको उहाँको भनाइ छ ।

उहाँले कोदो, मकै, बोडी, सिलाम, राज्मा, गुन्द्रुक, मस्यौरा, टीमुर, लोकल चामल, घिउलगायतका उत्पादनलाई सङ्कलन, प्रशोधन तथा प्याकेजिङ गर्दै आउनुभएको छ । उद्योगले हाल ‘गाउँले’ ब्राण्डमा फागुन १ देखि बजारमा पठाउने गरी तयारी गरेको गरेको उहाँको भनाइ छ ।

“स्थानीयतहमा उत्पादन भएका खाद्यान्न बजारसम्म नपुग्दा खेर जाने अवस्था थियो, बिक्री भएका उत्पादनले पनि उचित मूल्य नपाउने अवस्थालाई ध्यानमा राख्दै उद्योग स्थापना गरिएको हो”, भारतीले भन्नुभयो ।

पालिका तहमै उद्यम गर्न चाहनेलाई प्रोत्साहन तथा सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीको भनाइ छ । भारतीले सुरु गरेको उद्योगमा आवश्यक मेसिनरी उपकरण खरिदका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्ने प्रतिबद्धता ठकुरीले गर्नुभएको छ । “पालिकाभित्र उद्योग सञ्चालन गरी व्यवसायी र आत्मनिर्भर बन्न चाहेमा सहयोग गर्छौ”, उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित