जब सौन्दर्य प्रतियोगितामा ‘मिस युनिभर्स रसिया’लाई देखेर अन्य देशका प्रतिस्पर्धी भागे…

रसिया र युक्रेन एकआपसमा भिडिरहेको एक वर्ष पुग्न लाग्यो। युद्धको असर विश्वको अर्थतन्त्रमै पर्दासम्म उनीहरुको भिडन्त रोकिने सम्भावना छैन। युद्ध रोक्न भन्दा पनि रसियालाई एक्लो बनाउन पश्चिमा देशहरु लागिरहेका छन्। सन् २०२४ मा हुने पेरिस ओलम्पिकमा होस् या अन्य प्रतियोगिता रसियालाई ‘बहिष्कार’ गर्नै पक्षमा अडिग छन् युरोपियन देशहरु।

यही ‘ब्वाइकट ट्रेन्ड’ देखियो गत जनवरीमा सम्पन्न मिस युनिभर्समा पनि। अमेरिकाको न्यू ओर्लिन्समा सम्पन्न सो प्रतियोगिताको पर्दा पछाडि के भयो भन्ने विषयले अहिले चर्चा पाएको हो।

सो प्रतियोगितामा ‘मिस युनिभर्स रसिया’ अन्ना लिनिकोभाले सहभागीता जनाएकी थिइन। तर, उनले मिस युनिभर्सको प्रतियोगितामा सहभागी हुँदा धेरै चुनौती भोग्नुपरेको केहीदिन अघि खुलाएकी हुन्। कारण थियो : रसिया र युक्रेनबिचको युद्ध नै।

आफूलाई प्रतियोगितामा अन्य देशका प्रतिस्पर्धीहरुले बेवास्ता गरेको उनले बताएकी छन्। प्रतियोगितामा भाग लिएको कारण युक्रेनी सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पनि धम्कीको सामना गर्नुपरेको उनले बताएकी छिन्।

लिनिकोभाले भनिन्,‘मिस युनिभर्स प्रतियोगिता मेरा लागि निकै कठिन रह्यो। प्रतियोगितामा सहभागी भएकै कारण युक्रेनी सोसल मिडिया प्रयोगकर्ताहरूबाट अपमान र धम्कीको सामना भोग्नुपर्‍यो।’

उनले थप भनेकी छिन् : अरू धेरैले मलाई बेवास्ता गरे। मेरो देशसँग जोडेर मलाई बेवास्ता र अस्विस्कार गरियो। अझ युक्रेन र स्विट्जरल्याण्डका केटीहरू मलाई देख्दा भागे।’

मिस युनिभर्सजस्तो प्रतियोगितमा यस्तो व्यवहार भोग्दा निकै दु:ख लागेको उनले बताएकी छिन्। साथै रसियन भएकै कारण मिस युक्रेन भिक्टोरिया अपानासेन्कोले कुरा समेत गर्न नचाहेको उनको दाबी छ।

‘मैले धेरैपटक कुरा गर्ने प्रयास गरेँ, तर सबै प्रयासहरू व्यर्थ भए। सबैले भिक्टोरियाको प्रदर्शनात्मक व्यवहार देखे। यो उनको रोजाइ हो। म रिस राख्दिन’ उनले भनिन्।

नेशनल कस्ट्युम प्रतियोगितामा पनि यी दुईबिचको सम्बन्धलाई चर्चामा रह्यो। मिस युक्रेन भिक्टोरियाले पखेटा भएको सेतो रंगको पोशाक लगाएकी थिइन। स्वतन्त्रताको प्रतिकको रुपमा उनले उक्त पोशाक लगाएको समेत बताइएको थियो।

यता रसियाकी लिनिकोभाले भने रातो रंगको पहिरन लगाएकी थिइन्। जसलाई ‘रसियन साम्राज्य’ सँग तुलना गरिएको थियो। मिस युक्रेन भिक्टोरियाले पनि रसियाको नेशनल कस्ट्युमलाई ‘बकवास’ भन्न भ्याइन।

‘मिस रसियासँग एउटै स्टेजमा उभिएर मुस्कुराउँदा मलाई कस्तो महसुस भयो भन्ने कुरा आयोजकहरूले बुझेका थिए भन्ने मलाई थाहा छैन। तर, उनले लगाएको रातो पोशाक ‘रगतको रंग’ थियो,’ उनले डेलीबेस्टसँग भनिन।

भिक्टोरियाले भने लिनिकोभाले प्रचारका लागि मात्रै आफूसँग सेल्फी लिन खोजेको दाबी गरेकी छिन्। ‘अन्तिम क्षणसम्म पनि मलाई आशा थियो कि मिस रसिया म कहाँ आएर सरी भन्नुहुन्छ होला भनेर।

तर उनी केवल प्रचार गर्ने उद्देश्यका लागि सेल्फी लिन मसँग आएकी थिइन जस्तो मलाई लाग्छ। मिस रसियाले युद्धको बारेमा एक शब्द पनि बोलिनन्।’ मिस युनिभर्सको ७१ संस्करण घोषणा भएदेखि नै रसियालाई बहिष्कार गर्नुपर्ने माग उठेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित