माघ शुल्क पूर्णिमामा धार्चे गाउँपालिका-४ लाप्राकका किसानहरूले आइतबार प्रमुख बाली मकैको बिउ जमिनमा गाडे। कृष्ण प्रतिपदामा लगन जुराएर सोमबार धुमधामले मकैको विवाह गरेका छन्।
बिहे नगरी मकै रोप्नुहुन्न भन्ने धार्मिक, सांस्कृतिक मान्यताअनुसार लाप्राकीले सोमबार मकै बिहे गरेका हुन्। ‘मकैको बिहे गरेपछि अब बल्ल बारीमा रोप्ने काम सुरु हुन्छ’, स्थानीय मार्सिङ गुरुङले भने, ‘यसपाली पानी पनि परेन। मकै रोप्नचाहिँ अल्लि ढिलो हुन्छ होला। लगन छोप्न मात्र बिहे गरेको हो।’
उनका अनुसार सोमबार लाप्राकका गाउँले नै उर्लिएर धुमधामका साथ विवाह सम्पन्न गरेका हुन्। गाउँले सबै मकैको जन्ती गए, मकैको भोज भतेर खाए, नाचगान गरे।
उत्तरी गोरखाको धार्चे गाउँपालिका भित्रका लाप्राक, गुम्दा, सिङ्ला, उहिया, खोर्ला, लप्सीबोट, यमगाउँ, खानीगाउँ, लापु लगायतका गाउँमा परापूर्व कालदेखि मकै विवाह गर्ने चलन छ। अरू गाउँमा अनुकूलको लगन पारेर मकै बिहे सम्पन्न गर्दैछन्।
प्रकृति पुजक यहाँका बोन धर्मावलम्बीहरू मकैको बिहे गरेपछि मात्र मुख्य बालीको रुपमा रहेको मकैखेती लगाउन सुरु गर्छन्। मकैको उब्जनी राम्रो होओस्, असिना पानीले नष्ट नगरोस्, रोग नफैलियोस् भनेर यहाँ मकैको बिहे गर्ने गरेको अर्का स्थानीय राम गुरुङ बताउँछन्।
ज्योतिषीले निकालेको साइतअनुसार विवाहको अघिल्लो दिन केही घोगा मकै जमिनमा गाडेर राखिन्छ। विवाहका दिन बिहानैदेखि गाउँभरिका मानिस लाप्राकको ठूलोआँगनमा जम्मा हुन्छन्। अनि सिंगारेर एकजना बालकलाई डोलीमा राखेर ढ्याङ्ग्रो, मादल र झ्याली लगायतका बाजागाजासहित जन्ती जाने गर्छन्।
ठूलो आँगनबाट मनिडाँडा हुँदै केही पर जंगलमा बेहुली घरका रूपमा बनाएको अर्काको सानो झुप्रोमा कन्या राखेको ठाउँमा जन्ती पुग्छ। जन्तीले ती कन्यालाई लिएर पुनः बाजागाजासहित लाप्राक गाउँको परिक्रमा गर्छन्। जन्ती जाँदा आफ्नो घरबाट लगेको एक-एक घोगा मकै एकै ठाउँमा थुप्रो लगाइन्छ।
त्यो मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ। यही मकैलाई अरू बिउमा मिसाएर गाउँका सबै किसानले बारीमा मकै रोपिने लाप्राकका बिसबहादुर गुरुङको भनाइ छ।
बेलुका फेरि ठूलो आँगनमा पुगी नाचगान गरी भुटेको मकैको भोज खाएपछि साँझ घाटु नाँचसँगै मकै बिहे समापन हुने अर्का स्थानीय गुरुङ बताउँछन्। ‘यो पुरानो परम्परा हो, यसरी मकैको बिहे गरेपछि बल्ल मकै लगाउन सुरु हुन्छ। बिहे नगरी मकै लगाउदा अशुभ हुन्छ भन्ने मान्यता छ’, गुरुङले भने।
‘यो एउटा प्राकृतिक पूजा हो, बर्सेनि माघ १५ गतेदेखि फागुन १५ गतेसम्ममा लगन जुराएर मकै बिहे गर्ने चलन छ’, गुरुङले भने। मकै बिहे गरेपछि मात्र मकै रोप्ने चलन रहेको उनले बताए। धार्चे गाउँपालिकाले मकै बिहेलाई प्रवर्द्धन गर्न वृत्तचित्र बनाएको छ।





















Discussion about this post