खाजा पसलबाट सुरू गरेका थिए, अहिले बनाए साढे २ अर्बको पाँचतारे होटल

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिले रूपन्देहीको भैरहवामा पाँचतारे होटल निर्माण गरेको छ। सिद्धार्थ इन्टरनेसनल होटल २०८० सालदेखि औपचारिक रूपमा सञ्चालन हुनेछ।

यो समूहले २५ वर्षअघि कैलालीमा सामान्य खाजा पसल सञ्चालन गरेर व्यावसायिक यात्रा सुरू गरेको थियो। २०५४ माघ २३ गते टीकापुरमा खाजा पसल खोलेको दिनका आधारमा मंगलबार समूहले २५ औं वार्षिक उत्सव मनायो। यही अवसरमा पाँचतारे होटलको उद्घाटन पनि गरिएको हो।

भैरहवा अञ्चलपुर प्रहरी चेकपोस्टदेखि दुई सय मिटर पश्चिमतिर मायादेवी गाउँपालिका वडा नम्बर ८ मा छ यो होटल। चार विघा क्षेत्रफलमा फैलिएको होटलमा डिलक्स, एक्जुकेटिभ स्विट, स्विट र प्रेसिडेन्ट स्विट गरी चार स्तरमा वर्गीकरण गरिएका ८५ वटा कोठा छन्।

समूहका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेका अनुसार होटलमा लबी लाउन्ज, अल डे डाइनिङ, रूफ टफ रेस्टुरेन्ट तथा स्वीमिङ पुल, फिटनेस, स्पा, साउना, ज्याकुजीसहितको हेल्थ क्लब सेवा, गार्डेन, एउटा सानो र अर्को ठूलो सभा हल, ३ वटा कन्फरेन्स हल तथा क्यासिनो छ।

‘होटलमा साढे दुई अर्बभन्दा धेरै रूपैयाँ लगानी परेको छ। पूर्ण सञ्चालनपछि तीन सय जनाभन्दा बढीले रोजगारी पाउने छन्,’ उनले भने। सुरूमा दुई वर्षमै निर्माण सक्ने र एक अर्ब रूपैयाँ बढी लागत अनुमान थियो। कोरोना महामारीका कारण योजनाअनुसार काम भएन। ढिलाइ, निर्माण सामग्रीको मूल्यवृद्धि तथा पूर्वाधार पनि थपिँदै जाँदा लागत बढेको न्यौपानेले बताए।

ग्रुपका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपानेले आगामी चैतभित्र सिद्धार्थ होटल तथा रिसोर्टका नाममा भैरहवासँगै, चितवनको सौराहा, दाङको लमही र विराटनगरमा पाँचतारेदेखि लक्जरी रिसोर्टसम्म सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिए।

भैरहवाको डिलक्स पाँचतारे होटल ग्रुपकै ‘ड्रिम प्रोजेक्ट’ का रूपमा रहेको उनको भनाइ छ। दाङको लमहीमा पनि यही महिनाभित्रै चारतारे होटल सञ्चालनमा ल्याउन लागेको उनले बताए।

भैरहवाको पाँचतारे होटलमा समूहको आफ्नै लगानी छ। ६० कोठासहितको लमहीको चारतारे होटलमा भने व्यवस्थापन मात्र हेर्ने गरी लिएको हो। सौराहाको रिसोर्टमा २५ र विराटनगरको होटलमा ४० वटा कोठा रहने अध्यक्ष न्यौपानेले बताए। चार वटा होटल र रिसोर्ट थपिएपछि सिद्धार्थ समूहका होटल, रिसोर्ट र क्याफेको संख्या ३० पुग्नेछ। होटल मात्र १९ वटा हुने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित