के हो ऋण तिर्न नसकेर हाम्फाल्दा बिएमडब्लु कारमाथि पछारिएको भनिएको फोटोको वास्तविकता?

सामाजिक सञ्जाल फेसबुकदेखि टीकटकसम्म अहिले एउटा फोटो भाइरल भइरहेको छ। बिएमडब्लु कारमाथि खसेका एक युवाको फोटो राख्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले लेखिरहेका छन् – २० लाख ऋण तिर्न नसकेर ५ तला माथिबाट हाम्फालेका एक युवा बिएमडब्लु कारमाथि परेछ। आत्महत्या गर्न खोजेका ती युवा बाँचे अनि कारको १ करोड पनि तिर्नुपर्ने भएछ।

कोही भने १० लाख ऋण तिर्न नसक्दा ९ तलामाथिबाट हाम्फालेका भनेर लेखिरहेका छन्। उनीहरुले यो घटना दुबईमा भएको दाबी गरिरहेका छन्। लघुवित्तको ऋणले गाउँ छाड्नेदेखि प्रेम आचार्यले आत्मदाह गरेको घटनाबाट त्रसित भएको समय भएकोले पनि होला यस्तो क्याप्सनसहितको फोटोले धेरैको ध्यान तान्ने नै भयो।

त्यसैले मानिसहरु गम्भीर हुँदै कमेन्ट लेख्न थालेका छन्। कतिपयले भने खाएको ऋण नतिरी भगवानले पनि मर्न दिँदैन भन्दै प्रतिक्रिया दिएका छन्। कतिपयले यो टर्कीए भूकम्पको फोटो दुरुपयोग भएको भन्दै पोस्टहरुमा कमेन्ट गरेका छन्।

के हो यो फोटोको वास्ताविकता?
बिएमडब्लु कारमाथि खसेका ३१ वर्षीय हुन्। उनी ९ तलामाथिबाट हाम्फालेका हुन्। तर यो घटना दुबईको भने होइन। सन् २०२१ को अक्टोबर ७ मा यो घटनाको समाचार न्युयोर्क पोस्टले भिडियोसहित प्रकाशन गरेको छ।

जर्सी सिटीको जर्नल स्क्वायरको पार्किङमा ती युवा खसेपछि न्युयोर्क सिटीले ‘नौ तल्लाबाट खसे, तर जीवितै’ भनेर खबर प्रकाशन गरेको थियो। ती युवा अक्टोबर ६ मा उक्त भवनबाट आत्महत्या गर्ने उद्देश्यका साथ हाम्फालेका थिए।

तर उनी बाँचे। घटनामा परी गम्भीर घाइते भएका उनी दुई महिना उपचारपछि घर फर्किएको जनवरी २८, २०२२ मा न्युयोर्क पोस्टले खबर छापेको छ। ती व्यक्ति हाम्फाल्नुको कारण समाचारमा कतै उल्लेख छैन।

यसैगरी बिएमडब्लु कारका लागि उनले एक करोड तिर्नुपरेको विषय पनि कतै उल्लेख गरिएको छैन। एक अमेरिकी नागरिक भन्नेबाहेक उनको परिचय पनि खुलाइएको छैन। धेरै अन्तर्राष्ट्रिय समाचारहरुमा न्युयोर्क पोस्टकै समाचारलाई उद्धृत गर्दै समाचार बनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित