शनि ग्रहको कुम्भ राशिमा गोचर, कस्तो हुँदैछ तपाइको भाग्य ?

मकर तथा कुम्भ राशिका स्वामी, सूर्य तथा छायाका पुत्र, कर्म फलदाता, वक्र दृष्टि भएका, एक राशिमा साढे दुई वर्ष अर्थात् ३० महिना निवास गर्ने शनि ग्रह २०७९ माघ २७ गतेदेखि मकर राशिलाई छाडेर कुम्भ राशिमा प्रवेश गर्दै हुनुहुन्छ। शनि ग्रहले अबको ३० महिना कुम्भ राशिमा भ्रमण गर्नुहुन्छ।

माघ २७ गतेदेखि धनु राशिको अन्य साढेसाती दशा समाप्त हुन्छ भने मकर राशिको अन्त्य साढेसाती दशा र कुम्भ राशिको मध्य साढेसाती दशा सुरु हुन्छ। मीन राशिको आद्य साढेसाती दशा सुरु हुन्छ।

मिथुन र तुला राशिको अढैया शनिदशा समाप्त हुन्छ भने कर्कट र वृश्चिक राशिको अढैया शनिदशा सुरु हुन्छ। शनि ग्रहले कुम्भ राशिमा गोचर गर्नाले राशि अनुसार कस्तो फल प्राप्त हुन्छ ? हामी यहाँ यस विषयमा चर्चा गर्नेछौँ। आउनुहोस् जानौं शनि ग्रहको कुम्भ राशिको गोचरले विभिन्न राशिहरुमा पर्ने प्रभाव :

मेष : शनिको गोचर तपाईंको राशिमा रहने भएकाले बौद्धिक क्षमतामा कमी तथा शारीरिक तथा मानसिक समस्या हुन सक्छ भने धेरै अल्छि हुन सक्छ । विवाहितहरुको पतिपत्नीसँग तथा आफन्तहरुसँग विवाद हुन सक्छ । साथीहरुको उचित साथ मिल्दैन भने पारिवारिक सुखमा कमी आउंछ । शस्त्र तथा अग्निको भय रहन्छ, मानप्रतिष्ठा कम हुन सक्छ भने धेरै भ्रमण वा विदेश जानुपर्ने हुन्छ। असफलताको सामना गर्नुपर्ने, राज्यबाट हानि हुने समय रहेकाले सतर्क रहनुपर्ने समय छ।

वृष : शनिको गोचर तपाईंको राशिबाट द्वितीय स्थानमा रहने भएकाले स्वस्थानको परित्याग, दुख, बिना प्रयोजनको विवाद तथा संघर्ष हुन सक्छ। निकटतम सम्बन्धिबाट अवरोध उत्पन्न हुन्छ। वैवाहिक जीवनमा असमझदारी तथा विवाद आउँन सक्छ। धेरै समय विदेशको वास तथा कामहरु अधुरा हुन सक्छन्।

मिथुन : शनिको गोचर तपाईंको राशिबाट तृतीय स्थानमा हुने भएकाले भूमि लाभ, व्यक्ति स्वस्थ, आनन्दित तथा संतुष्ट रहन्छ। शारीरिक तथा मानसिक उर्जा प्रशस्त रहने, धनागम हुने, धन-धान्यले समृद्धि हुन्छ। नयाँ कामहरु प्राप्त हुन्छन्। समस्त कार्य सहजतासँग सम्पन्न हुन्छन् भने शत्रु विजयी हुन्छ। उच्च पद प्राप्त हुन सक्छ भने अनैतिक आचरण गर्ने सम्भावना पनि यो गोचर अवधिमा रहन्छ।

कर्कट : शनिको गोचर तपाईंको राशिबाट चतुर्थ स्थानमा रहने भएकाले अपमानित हुनुपर्ने राज्यबाट भय हुने, आर्थिक कमी हुन्छ। व्यक्तिको प्रवृत्ति धूर्ततायुक्त एवं पतित हुन सक्छ भने विरोधि एवं रोगको आक्रमण पीडादायक हुन्छ। जागिरमा स्थान परिवर्तन अथवा परित्यागको सम्भावना रहन्छ भने यात्रा कष्टप्रद हुन्छ। आफन्तसँग मतभेद रहन्छ।

सिंह : शनिको गोचर तपाईंको राशिबाट पन्चम स्थानमा रहने भएकाले चरित्रहीन पुरुष वा महिलाप्रति आकर्षण हुने, अविश्वासी तथा धूर्त तथा आचरणहीन व्यक्तिसँग संगत गर्नाले विवेकहीन हुने, वैवाहिक जीवनमा समस्या आउने हुन्छ। आर्थिक स्थिति चिन्ताजनक रहन्छ भने उचित र सहि निर्णय लिन नसक्दा काम असफल हुन्छ। व्यवसायमा अवरोध, सन्तानबाट चिन्ता तथा मानसिक तनाव बढ्न सक्छ।

कन्या : शनिको गोचर तपाईंको राशिबाट षष्ठ स्थानमा रहने भएकाले शत्रु परास्त हुन्छन्, आरोग्यता प्राप्त हुन्छ। अनेकानेक उत्तम भोगका साधनहरु उपलब्ध हुन्छन् भने सम्पत्ति, धनधान्य तथा आनन्दको विस्तार हुन्छ। पति वा पत्नीबाट लाभ, पारिवारिक खुसी तथा जग्गाजमिनको लाभ हुन सक्छ।

तुला : शनिको गोचर तपाईंको राशिबाट सप्तम स्थानमा रहने भएकाले कष्टदायक यात्राहरु हुन सक्छन्, दीर्घकालसम्म प्रवासमा रहनुपर्छ भने धनको पनि हानी हुन्छ। व्यक्ति शारीरिक तथा मानसिक रूपमा अशान्त , अपमानित, काममा अस्थिर तथा चोटपटक वा दुर्घटनाको सिकार हुन सक्छ।

वृश्चिक : शनिको गोचर तपाईंको राशिबाट अष्टम स्थानमा रहने भएकाले राज्यबाट भय, वैवाहिक जीवनमा समस्या, पारिवारिक सुखमा कमी हुन सक्छ। निन्दित काम वा अनैतिक व्यक्तिको संगतले मानसम्मानमा कमी हुने, धनको नाश हुने, काममा अवरोध हुने, शारीरिक समस्या आउने, मन अस्थिर रहने र सन्तान सुखमा कमी आउँछ।

धनु : निको गोचर तपाईंको राशिबाट नवम स्थानमा रहने भएकाले आफुभन्दा सानाबाट अपमानित हुनुपर्ने, आम्दानीमा कमी हुन सक्छ। बिना प्रयोजनको यात्रा हुने, विचारधारा प्रति विद्रोह रहने, शत्रु प्रबल हुने, शारीरिक समस्या हुने, पराधीनताको भय रहन्छ। जीवनसाथी तथा बन्धुबान्धव सँग मतभेद हुने, पापवृत्तिमा मन लाग्न सक्छ।

मकर : शनिको गोचर तपाईंको राशिबाट दशम स्थानमा रहने भएकाले धनसम्पत्ति नष्ट भएर आर्थिक अभाव हुने, कार्यक्षेत्रमा समस्या हुने, ढिलासुस्ती हुन्छ। जन समुदायमा वैचारिक मतभेद, पतिपत्नीबीच विवाद उत्पन्न हुन्छ, व्यक्ति हृदय रोगले पीडित हुन्छ, नीचकर्ममा प्रवृत्त हुन्छ, चित्त अस्थिर रहन्छ।

कुम्भ : शनिको गोचर तपाईंको राशिबाट एकादश स्थानमा रहने भएकाले आम्दानी बढ्छ, पारिवारिक समझदारीको वातावरण बन्दछ भने पतिपत्नीबीच पनि राम्रो सम्बन्ध रहन्छ। सन्तान सुख मिल्नुका साथै रोगबाट मुक्ति मिल्दछ भने उच्च पद पनि प्राप्त हुन्छ। ढुंगा, छाला, कपडा तथा यन्त्र वा मेशिनहरुबाट लाभ मिल्न सक्छ।

मीन : शनिको गोचर तपाईंको राशिबाट द्वादश स्थानमा रहने भएकाले कष्टको सामना गर्नुपर्छ भने धनको नाश हुन सक्छ। सन्तानको क्षेत्रबाट समस्या हुन सक्छ। मानसिक तथा शारीरिक तनाव, मान्यजनसँग द्वेष, पारिवारिक असमझदारी यो समयमा हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित