बहिनीलाई कुवेती साहुको बन्धनबाट मुक्त गराउन दाजुको दश वर्षे दौडधुपको कथा

‘विदेशमा फसेकी बहिनीलाई फर्काउन सकुँला जस्तो लागेको त थिएन, तर मैले हार मानेको भए अहिले पनि बहिनी साहुकै कब्जामा हुन्थ्यो’ सुनबहादुर तामाङ बहिनी गोरीको अनुहारतिर हेर्दै मुस्कुराउनुहुन्छ ।

बहिनीलाई जसरी पनि उद्धार गर्छु भनेर सुनबहादुर नलागेको भए, एक दिन बहिनीको फोन आउला भन्ने आसमा मात्रै बसेको भए, दौडधुप नगरी हात बाँधेर बसेको भए गोरीको भविष्य अन्धकार भैसकेको थियो । उहाँको पाइला जन्म घरमा पर्ने सम्भावना सकिँदै थियो ।

यही अत्यासले सुनबहादुरलाई हराएकी बहिनी खोज्ने हुटहुटी बढाएको थियो । त्यसैले, साहुले कुरा छल्दा, दूतावासले कुरा नसुन्दा र पटक पटक आफ्नै मनले हार खाँदा पनि सुनबहादुर रोकिनु भएन । र त कुवेतबाट बहिनी घर आइपुग्दा एउटा युद्ध आफूले जीतेको अनुभव भएको छ सुनबहादुरलाई । मन हलुङ्गो भएको छ ।

कुवेत गएकी गोरी जब बेखबर हुनुभयो: कुरा २०६९ सालको हो । सुनबहादुर स्याउ टिप्ने मौसमी काम गर्न भारतको सिम्ला जानुभएको थियो । घरका मानिसको खबर थाहा पाउन मुस्किल थियो । त्यो बेला अहिलेजस्तो हात हातमा मोबाइल फोन थिएन गाउँमा ।

एक सिजनको काम सकेर घर आउँदा बहिनी घरमा थिइनन् । एजेण्टले बहिनी गोरी तामालाई रोजगारीका लागि कुवेत पठाएको कुरा सुनबहादुरले घर आइसकेपछि मात्रै थाहा पाउनुभयो ।

त्यो बेलै सुनबहादुरलाई लागेको थियो – कलिली बहिनीले परदेशी भूमिमा दुःख पाउने त हैन । सुनबहादुरको शङ्कालाई समयले सत्य साबित गरिदियो । घरबाट हिँडेको ६ महिनापछि एक पटक कुवेतबाट गोरीको फोन आयो । तर कुरा पूरा हुन पाएन । न घरको कुरा पूरा सुनाउन पाउनुभयो न त बहिनीको खबर सोध्न भ्याउनुभयो । बोल्दा बोल्दै फोन काटियो ।

‘बोल्दा बोल्दै फोन खोसिदिए, दाइले बाउ बिरामी छ जसरी नि घर आऊ भनेको थियो, राम्रोसँग बोल्न पनि दिएन’ साहुको घरको त्यो अवस्था गोरी सुनाउनुहुन्छ ‘मलाई दिएको मोबाइल र सिम नै फुटाइदिए साहुले अनि कसरी फोन गर्नु ।’

त्यसपछि दाजु र बहिनीले एक अर्काको बोली सुन्न १० वर्ष कुर्न पर्यो । गोरीको फोन आउन छाडेपछि सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका ६ को ढापसुङमा रहेको घरमा चिन्ता र छटपटी बढ्दै थियो भने कुवेत पुगेकी गोरी कसैले कल्पना नगरेको भुमरीमा परिसक्नुभएको थियो ।

जहाँबाट न निस्कने विकल्प थियो न हारगुहार माग्ने कुनै उपाय । आफ्नाहरूको यादमा लुकेर रुन पनि गोरीले घरको कुना खोज्नुपर्थ्यो । गोरीको आशु र पानीले साहुका घर बराबर भिज्न थालेको थियो र रुँदा पनि साहुको गाली बर्सिन्थ्यो ।

‘रुन मन लाग्थ्यो, तर रोएको देख्यो भने गाली गर्ने, किन रोएको भन्ने, साहुका बच्चाहरूले कुट्थ्यो’ साहुको घरको भोगाइ सुनाउँदा गोरीका परेलामा पानी छचल्किन्छ । थप पढ्न उज्यालोबाट साभार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित