पाथीभरा (लिम्बु भाषामा – मुकुम् लुङ,मुकुम्लुङ, अर्थ : १) मुक = मानसिक र शारिरिक शक्ती; २) मुकुम्म = अग्नी ज्वाला, सर्वशक्तीमान, शक्तीको देवता, रण देवता, थेबा या थेवासाम देवताको अर्को नाम; ३) लुङ= ढुङगा, ढुंगाको मूर्ती या प्रतीमा, केन्द्र; ४) मुकुम्लुङ=सर्वशक्तीमान देवाताको प्रतिमा या सर्वशक्तीमान देवताको केन्द्र या मठ ) ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो ।
पाथीभरा लिम्बु जातिको आराध्या देवताको थान हो जसलाई हिन्दू एवं बौद्धहरूले समेत पुज्ने महत्त्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ ।
यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ।
ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई ” मुकुम्लुङ ” भनेर चिन्दछन । लिम्बू भाषामा “मुकुुम”को अर्थ शक्ति वा बल, “लुङ”को अर्थ ढुंगाको मूर्ती या प्रतीमा भन्ने जनाउँदछ। अर्थात लिम्बु जातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।
पाथीभरा देवी विश्वास आस्था एवं पवित्रताकी देवी हुन । त्यसैले पाथीभरा धाममा त्यसरी नै जानुपर्ने हुन्छ। धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन र बन्देज छैन । “मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्ने तर पाथीभरा धाममा गर्भवति, रजस्वला (नछुने वा पर सरेकी) भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको सर्वनाश हुन्छ, ठूलो क्षति हुन्छ” भन्ने जनधारणा रहिआएको छ ।
पाथीभरा देवीको निम्ति पशु बलि अनिवार्य नभए पनि बलि चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरू देवीलाई स्वादिष्ट फलफूल तथा मिठाईको भोग चढाउँछन । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रूपमा मानिन्छ। त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनहरूले देवीलाई सौन्दर्य प्रशाधनका सामग्री जस्तै सिन्दुर, टीका, गाजल, काँगियो, आदि पनि (एक किसिमको अनिवार्य रूपमा) चढाउने गर्दछन ।















Discussion about this post