लाखौँ दर्शनार्थी सहभागी हुने अपेक्षा गरिएको पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको पूजा विशेष बनाउने कैयौँ पक्षहरू रहेको कोषका अधिकारी तथा संस्कृतिविद्हरूले बताएका छन्।
महाशिवरात्रिको पूजा नियमितजस्तै भए तापनि यस दिन हुने ‘चार प्रहर’ पूजा विशेष हुने बताइन्छ। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले फागुन कृष्णपक्षको चतुर्दशी तिथिको दिनले यसलाई विशेष महत्त्वको बनाउने बताउँछन्।
“यो विशेष तिथि भएकाले त्यस दिन दर्शन गर्दा अमोघ पुण्य लाभ हुन्छ भन्ने शास्त्रीय मान्यताका कारण यस दिन विशेष भएको हो,” खतिवडा भन्छन्। “नित्य पूजा नै हुन्छ।
सङ्कल्प त्यही नै हो। पूजा गरिने पद्धति त्यही नै हो। सामग्री त्यही नै हो। तर दिनका हिसाबले यस दिन विशेष हो। शिवरात्रिका दिन हरेक ग्रह-गणित संयोग उच्चतम परेको हुन्छ।”
अन्य समयहरूमा दिउसो हुने पूजा महाशिवरात्रिमा रातमा हुने र औँसीको अघिल्लो दिन पर्दा त्यसलाई सकारात्मक ऊर्जा सञ्चयका लागि थप उल्लाससाथ मनाइने संस्कृतिविद्हरू बताउँछन्।
एकजना संस्कृतिविद् गोविन्द टण्डन भन्छन्, “भगवान् शिवको उपासना अन्धकार, अज्ञान र मोहबाट मुक्त हुनका लागि गरिन्छ। पशु भावबाट मुक्त भएर मनुष्य बन्ने चेतनाका लागि महाशिवरात्रिमा विशेष पूजा गर्नुपर्छ भन्ने विश्वास गरिन्छ।”
संस्कृतिविद् डा. वीणा पौड्याल सधैँकै जस्तो पूजा भए तापनि त्यस दिन उच्चारण गरिने मन्त्र, त्यसदिन हरेक प्रहरमा चढाइने अर्घहरू, त्यसपछि चढाइने जल र त्यस दिनसँग जोडिएका महत्त्वले शिवरात्रिको महिमा विशेष रहेको बताउँछिन्।
“एकाग्र भएर कुण्डलिनीहरू जगाउने गरी रात्रिमा शिवरात्रिका पूजा हुन्छन्,” संस्कृतिविद् पौड्याल भन्छिन्। ज्योतिषशास्त्रले हरेक महिना शिवरात्रि हुन्छ भन्ने माने पनि महाशिवरात्रिमा तान्त्रिक विधिसहित पूजा गरिने जानकारहरू बताउँछन्।
बेलुका पखको ‘चार प्रहर’ पूजा महाशिवरात्रिका दिन मात्र गरिने कोषका सदस्य सचिव रहिसकेका संस्कृतिविद् गोविन्द टण्डन बताउँछन्। महाशिवरात्रिका दिन विभिन्न गुठीहरूका पूजा समेत गर्ने गरिने गरिएको छ।
शिव पञ्चमुखी हुन्। पूर्वदेखि सुरु गर्दा तत्पुरुष, सद्योजात, वामदेव, अघोर एवं माथिपट्टिको ईशान सधैको जसरीनै पूजा गर्ने गरिएको बताइन्छ। “शिवरात्रिमा शिवजीलाई रुद्राक्ष चढाउने र पूजा गर्नेले समेत रुद्राक्ष पहिरिएर गर्ने विधि विशेष छ।”





















Discussion about this post