जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनलाई निरन्तरता दिइने बताएका छन् । बुधबार बिहान जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले पाँचदलीय गठबन्धन आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म रहिरहने बताएका हुन् ।
“हामी फुटेर होइन, जुटेर अगाडि बढ्न चाहन्छौँ । समाजिक न्यायको लागि, राष्ट्रहितको लागि गठबन्धन आवश्यक छ,” उनले भने । गठबन्धन कहिले सफल र कहिले असफल हुने गरेको उनले बताए । प्रतिगामीलाई परास्त गर्न गठबन्धन आवश्यक रहेको उनको भनाइ छ ।
जसपाबाट अलग्गिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पार्टी एकताका लागि उनले आह्वान गरे । मधेसको मत बाँडिँदा जनतालाई फाइदा नहुने भन्दै एकताका लागि आफूहरू तयार रहेको उनले बताए ।
“उहाँहरू समीक्षा गरेर पार्टी एकताको लागि आउनुभयो भने हामी तयार छौँ । विगतका गल्ती, त्रुटिलाई सच्याएर हामी अगाडि बढौँ,” उनले भने, “मधेसको मत बाँडिएर मधेसीलाई धेरै नोक्सान भयो । पार्टी फुटाएर होइन, जुटाएर अगाडि बढौँ ।”
पार्टी एकताका लागि ढोका खुला रहेको उनले बताए । “उहाँहरूलाई खुलेर सहयोग र स्वागत गर्न तयार छौँ,” उनले भने, “पार्टी एकताको लागि पनि हाम्रो ढोका खुला छ ।’
उनले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र पुनः निर्धारण हुनुपर्नेमा पनि जोड दिए । मधेसमा ५३ प्रतिशत जनसंख्या रहेकाले सोहीअनुसारको निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने उनको भनाइ छ । नागरिकता विधेयक संसद्को जारी अधिवेशनमा पेस भएर पारित हुने उनले उल्लेख गरे ।





















Discussion about this post