दक्षिण भारतीय अभिनेता प्रभासको क्रेज निकै ठूलो छ। ‘बाहुबली’बाट चर्चा कमाएका प्रभास पछिल्लो समय नयाँ चलचित्रको सुटिङमा व्यस्त थिए । तर, भारतीय सञ्चार माध्यमका अनुसार अभिनेता प्रभासकै कारण एक चलचित्रको सुटिङ रोकिएको छ।
प्रभास ‘सालार’ चलचित्रको सुटिङमा व्यस्त थिए। ‘केजीएफ’ निर्देशक प्रशान्त नीलको निर्देशनमा बनिरहेको चलचित्र ‘सालार’मा प्रभासको मुख्य भूमिका रहेको छ। ‘सालार’मा प्रभास जबरदस्त एक्सन अवतारमा देखिन लागेका छन्। तर, उनकै काण चलचित्रको सुटिङ रोकिएको छ। ‘सालार’को सुटिङ रोकिनुको मुख्य कारण हुन्, अभिनेता प्रभास। उनको तौल निकै बढेको र चलचित्रको कथाबस्तु अनुसार उनी फिट नदेखिएको भन्दै निर्देशक नीलले सुटिङ रोकेका हुन्।
पछिल्लो समय प्रभास निकै मोटाएका छन्। पछिल्लो चलचित्र ‘राधेश्याम’को प्रमोसनका क्रममा पनि उनको तौलका विषयलाई लिएर बहस भएको थियो। ‘राधेश्याम’मा पनि ‘सीजीआई’ प्रविधिमार्फत प्रभासलाई फिट देखाइएको थियो। प्रशान्त नीलले प्रभास प्रविधिमार्फतभन्दा पनि शारीरिक रुपमै फिट हुँदा राम्रो हुने भन्दै सुटिङ रोकेका हुन्। नीलले आफू कुनै पनि कुरामा सम्झौता नगर्ने भन्दै प्रभासलाई तौल घटाउन र फिट हुन सुझाव दिएका छन्।
‘कलाकारका लागि सबैभन्दा ठूलो कुरा फिटनेस हो। दर्शकहरू पनि चिटिक्क परेका कलाकारलाई हेर्नकै लागि हलसम्म पुग्ने गर्दछन्’, निर्देशक नील भन्छन्, ‘भद्दा शरीरका कलाकारलाई हेर्न कोही पनि हलसम्म पुग्दैनन्।’ उनले प्रभासले तौल घटाएर ‘टोन्ड सेप’मा नआएसम्म ‘सालार’को सुटिङ नहुने स्पष्ट पारे। उनले ‘सालार’मा प्रभासलाई नयाँ ‘लुक’मा देखाउन चाहेको बताए।
‘सालार’मा प्रभाससँगै श्रुति हसनको पनि मुख्य भूमिका रहने छ। यस्तै जगपति बाबु, पृथ्वीराज सुकुमारन पनि मुख्य भूमिकामै देखिने छन्। चलचित्र अर्को वर्षको गर्मी मौसममा रिलिज गर्ने योजना रहेको निर्माण टिमले जनाएको छ।





















Discussion about this post